ढुवानीको अनियमितता हट्ने दाबी

ट्यांकर क्यालिब्रेसन टावर
हेटौंडा-गुणस्तर तथा नापतौल विभागले हेटौंडा औद्योगिक क्षेत्रमा नेपालमै पहिलो पटक ट्यांकर क्यालिब्रेसन टावर सञ्चालनमा ल्याएको छ । पेट्रोलियम पदार्थ ढुवानी गर्दा हुने अनियमितता रोक्नको लागि ट्यांकर क्यालिब्रेसन टावर निर्माण गरिएको हो ।
करिब डेढ करोड रूपैयाँको लगानीमा स्थापित टावरबाट पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरको वास्तविक क्षमता मापन गरिनेछ । टावरबाट पानीको मद्दतले ट्यांकरको प्रत्येक च्याम्बरमा अट्ने पेट्रोलियम पदार्थको क्षमता मापन गरी आधिकारिक प्रमाणपत्र उपलब्ध गराइनेछ । प्रमाणपत्र प्राप्त ट्यांकरले मात्र पेट्रोलियम पदार्थको ढुवानी गर्न पाउने व्यवस्था लागू गरिएको विभागका महाप्रबन्धक विश्वबाबु पुडासैनीले बताए । यसअघि ट्यांकरको क्षमता मापनको प्रविधि नहुँदा पेट्रोलियम पदार्थमा अनियमितता हुँदै आएको थियो । अब त्यो समस्या टर्ने विभागका महानिर्देशक पुडासैनीको दाबी छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले शुक्रबार एक कार्यक्रमका बीच टावरको उद्घाटन गरेका हुन् । क्यालिब्रेसन टावरबाट दैनिक १५ वटासम्म तेल ट्यांकरको क्षमता मापन गर्न सकिनेछ । पेट्रोलियम ढुवानी गर्ने ट्यांकरले हरेक वर्ष क्यालिब्रेसन जाँच गराउनै पर्नेछ । विभागले अमलेखगञ्ज डिपोबाट र भारतबाट पेट्रोलियम पदार्थ लिएर आउने ट्यांकरलाई लक्षित गर्दै हेटौंडामा क्यालिब्रेसन टावर सञ्चालन गरेको हो । टावरमार्फत २२ जिल्लाका ट्यांकर व्यवसायीले सेवा लिन सक्ने बताइएको छ । विभागले पूर्वमा विराटनगर र पश्चिम क्षेत्रमा पनि क्यालिब्रेसन टावर निर्माणको योजना बनाइरहेको महाप्रबन्धक पुडासैनीले बताए ।
टावरमा एउटा ट्यांकरको क्षमता जाँचेको शुल्क ७ हजार ५ सय रूपैयाँ निर्धारण गरिएको छ । ट्यांकर क्यालिब्रेसन टावरको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री यादवले पेट्रोलियम क्षेत्रमा भएको कमी कमजोरी सुधार गर्नका लागि क्यालिब्रेसन टावरको निर्माण गरिएको बताए ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडाले पहिलो पटक नेपालमा ट्यांकर क्यालिब्रेसनको सुरुवात गरिएको भन्दै यो प्रभावकारी हुने दाबी गरिन् ।