नेपाल र प्रुडेन्सियल इन्स्योरेन्स कारवाहीमा

नेपाल बिमा प्राधिकरणले नियम मिचेर कामकारवाही गर्ने दुई निर्जीवन बीमा कम्पनीलाई कारबाही गरेको छ । प्राधिकरणले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई कारवाही गरेको हो ।
प्राधिकरणले ती कम्पनीलाई २/२ लाख रुपैयाँ जरिवाना तिराएको प्राधिकरणको उच्च स्रोतले कारोबार दैनिकलाई जानकारी दियो । प्राधिकरणले करिब एक महिनाअघि यी कम्पनीहरूमा स्थलगत निरीक्षण गरेको थियो । “पटक पटक समस्या आएको पाइएपछि हामीले अनुगमन तथा निरीक्षण गरेका थियौं,” प्राधिकरण स्रोतले भन्यो, “निरीक्षण प्रतिवेदन आइसकेपछि उनीहरूलाई जरिवाना तिराइएको हो ।” निरीक्षणका क्रममा यी कम्पनीहरूले उधारो बिमा गरेको, बिमाका दरहरू उल्लंघन गरेको तथा दाबी भुक्तानी र संस्थागत सुशासनको पालनामा पनि समस्या देखिएको प्राधिकरणले जनाएको छ ।
“गम्भीर प्रकृतिका कैफियतहरू दोहोरिएको पाइएपछि प्राधिकरणले नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई कारबाही गरिएको हो,” प्राधिकरण स्रोतले बतायो । बिमा ऐन २०७९ ले बिमालेख जारी गर्दा रकम बैंक खातामा आइसकेपछि मात्रै बिमालेख जारी गर्नुपर्ने व्यवस्था गरेको छ । “तर ती कम्पनीहरूले बिमा लेख उधारोमै जारी गरेको, बैंक खातामा कसैको तीन दिन, चार दिन, १० दिन, १५ दिनसम्म पनि रकम आएको नदेखिएको पाइयो,” स्रोतले भन्यो ।
प्राधिकरणले समय समयमा बिमा कम्पनीहरूको निरीक्षण गर्ने गरेको छ । “निरीक्षण हाम्रो काम नै हो, नियमित जस्तो गरिरहेका हुन्छौं,” प्राधिकरणका निर्देशक एवम् प्रवक्ता राजुरमण पौडेलले कारोबारसँग भने । उनले अनुगमन तथा निरीक्षणका क्रममा समस्या देखिएमा कानुनबमोजिम कारवाही गर्ने गरिएको समेत उल्लेख गरे ।
हाल १८ निर्जीवन बिमा कम्पनीहरू रहेका छन् । कम्पनीहरूबीच अस्वस्थ प्रतिस्पर्धा चलेको तथा कानुन उल्लंघनका घटना बढेको भन्दै बीमितहरूले नै गुनासो गर्दा प्राधिकरणले कम्पनीहरूलाई कारबाहीको दायरामा ल्याएको हो ।
“कम्पनीहरूमाथि गुनासो आउँदा त निरीक्षण गर्छौं नै, तर गुनासो नसुनिए पनि नियमित रुपमा प्राधिकरणले अनुगमन एवम् निरीक्षण गरिरहेको हुन्छ,” निर्देशक पौडेलले भने । उनले अहिले अन्य कम्पनीहरूमाथि पनि निरीक्षण भइरहेको जानकारी दिए ।