शिक्षा, कृषि, स्वास्थ्य र पूर्वाधार विकास प्राथमिकता «

शिक्षा, कृषि, स्वास्थ्य र पूर्वाधार विकास प्राथमिकता

चौदण्डीगढीको बजेट

उदयपुरको चौदण्डीगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ६३ करोड २४ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिव ७ करोड ६५ लाख आन्तरिक आय अनुमान गरेको छ । जसको प्रमुख स्रोत नदीजन्य पदार्थ उत्खनन् वापत प्राप्त हुने राजस्व बाँडफाँडलाई मानेको छ । आगामी बजेटले शिक्षा, कृषि, स्वास्थ्य, पूर्वाधार विकास र वातावारण संरक्षण र सुशासनलाई विशेष प्राथमिकता दिइएको नगरपालिकाको भनाइ छ ।
सामाजिक विकासतर्फ ५ करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको छ । जसमध्ये शिक्षा क्षेत्रमा मात्रै ३ करोड १० लाख रुपैयाँ खर्च गरिनेछ । आर्थिक विकासअन्तर्गत विनियोजित २ करोड रुपैयाँ मध्ये कृषि क्षेत्रमा १ करोड ३० लाख रुपैयाँ खर्च हुनेछ । त्यसैगरी स्वास्थ्यतर्फ २ करोड ३७ लाख र प्ूर्वाधार विकासतर्फ ५ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ । जनतासँग उपमेयर, वातावरण संरक्षण, विपद् व्यवस्थापन, खेलकुदजस्ता कार्यक्रमलाई समेत आगामी आवका लागि प्राथमिकतामा राखिएको छ ।
“शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेका छौं,” नगरपालिकका प्रमुख खगेन्द्र राईले भने, “वडागत बजेटसहित शिक्षा र स्वास्थ्य क्षेत्रमा करिव ४÷४ करोडको हाराहारीमा बजेट विनियोजन गरेका छौं ।” शिक्षा र स्वास्थ्य क्षेत्रको यो बजेटले विपन्न वर्ग र महिलालाई विशेष फाइदा पुग्ने उनले बताए ।
आगामी बजेटले गर्भवतीको निःशुल्क जाँच, निःशुल्क सेनेटरी प्याड वितरण, बालबालिकालाई खाजा व्यवस्थापन, बालविकास केन्द्र थप, शिक्षक, अभिभावक र विद्यार्थी अन्तक्र्रिया, थप शिक्षक व्यवस्थापन जस्ता कार्यक्रम अगाडि बढाउने नगरप्रमुख राईको भनाइ छ । “विद्यालयमा बालबालिकाको उपस्थिति बढाउँदै सरकारी विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन खाजा व्यवस्थापन कार्यक्रम सुरु गरेका छौं,” उनले भने, “जसका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।” बालबिकास केन्द्रका सहयोगी कार्यकर्तालाई मासिकरूपमा २ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने चालू आर्थिक वर्षको कार्यक्रमलाई आगामी आवमा पनि निरन्तरता दिइएको उनले बबताए ।
चौदण्डीगढी नगरपालिकाको १० वटा स्वास्थ्य संस्थामा कुल सरकारी दरबन्दी ३५ रहे पनि नगरपालिकाले करारमा नियुक्त गरेका थप ४४ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमागाईंले बताए । “आगामी आवमा पनि यो कार्यक्रमलाई निरन्तरता दिएका छौं,” उनले भने, “नगरपालिकाको नागरिकको शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता परिपूर्तिका लागि बजेट व्यवस्था गरेका छौं ।” यससँगै चालू आवको सामाजिक सुरुक्षा कार्यक्रमलाई समेत थप प्रभावकारी बनाउँदै आगामी आवमा पनि कार्यान्वयन गरिने जानकारी उनले दिए ।
पूर्वाधार विकासतर्फ नगरपालिकाको भवन निर्माण गर्ने, वडा भवन निर्माण गर्ने, सडक स्तरोन्नति गर्ने र विद्युत् विस्तार गर्ने कार्यक्रम राखिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको भवन निर्माणका लागि १ करोड र वडा भवन निर्माणका लािग १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको नगरप्रमुख राईको भनाइ छ । “यसका साथै पुल तथा कल्भर्ट निर्माण, सडक कालोपत्रे, सडक नाली निर्माण, सडक ग्राभेलजस्ता कार्यक्रम राखेका छौं,” उनले भने, “कृषि क्षेत्रतर्फ अधिकांस सिँचाइ कुलो निर्माणका योजना छन्, जसबाट कृषक लाभान्वित हुने हामीले आशा राखेका छौं ।” त्यसैगरी वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनजस्ता कार्यक्रमलाई पनि बजेटमा समेटिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्