प्रदूषणमा नेपाल दोस्रो, मापदण्डभन्दा १३ गुणा बढी

काठमाडौं उपत्यका प्रदूषणको हिसाबले सोमबार दिउँसो विश्वमै दोस्रो सहरका रुपमा देखियो । साँझ परेको वर्षाका कारण प्रदूषण केही कम भए पनि अझै चौथो स्थानमा छ ।
प्रदूषण नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न नसक्दा काठमाडौं पटक पटक प्रदूषित सहरका रुपमा अग्रस्थानमा देखिँदै आएको छ । एयर क्यालिटी इन्डेक्सअनुसार सोमबार साँझसम्म विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड (पिएम २.५ ) भन्दा काठमाडौंमा १३ गुणाले प्रदूषण बढेको छ ।
मापदण्डअनुसार ० देखि एक्युआई ५० ग्रिन सिंगलले चिनिन्छ भने ५१ देखि १ सयसम्मको एक्युआईलाई होसियार रहौं अथवा पहेंलो संकतले चिनिन्छ । यसैगरी १०१ देखि १५० सम्मलाई अवस्थ्य र १५१ देखि २०० एक्युआईलाई अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । २०१ देखि ३०० सयलाई धेरै अस्वस्थका रुपमा लिइन्छ । ३०१ देखि ४ सयलाई खतरनाक र ४०१ देखि ५ सयलाई धरै खतरा मानिएको छ ।
गत शनिबार काठमाडौंको वायु प्रदूषण १५६ एक्यूआई पुगेकोमा आइतबार बढेर १७३ एक्यूआई पुगेको थियो । सोमबार साँझसम्म १५८ एक्युआईमा झरेको काठमाडौं एयर क्वालिटी इन्डेक्सको तथ्यांक छ । विज्ञका अनुसार उपत्यकामा सोमबार परेको वर्षाका कारण प्रदूषण केही कम भए पनि मापदण्डभन्दा धेरै बढी भएकाले सतर्कता अपनाउन आवश्यक छ ।
पछिल्ला दुई आर्थिक वर्षमा सरकारले यही समयमा बढेको अत्यधिक वायु प्रदूषणका कारण संकटकाल घोषणा गरेको थियो । संकट आएपछि मात्रै तयारी थाल्ने सरकारले संकटअघि नै जनचेतना जगाउने तथा प्रदूषण नियन्त्रणका लागि गर्नुपर्ने आवश्यक तयारी नगरेको भन्दै वातावरण क्षेत्रका सरोकारवालाले चिन्ता जनाउँदै आएका छन् ।
मुटुरोग विषेशज्ञ डा. अनिल भट्टराईले प्रदूषणका कारण प्रत्यक्ष र अप्रत्यक्ष रुपमा मुटु, फोक्सो लगायतमा असर गर्ने बताए । उनले सरकारले प्रदूषण नियन्त्रणलाई विषेश प्रथामिकता नदिए रोगीको संख्या अझै बढ्ने चेतावनी दिएका छन् । यस्तै, वातावरणविद् भुषण तुलाधारले प्रदूषण नियन्त्रणमा समयमा नै ध्यान पुर्याउनुपर्ने र प्रदूषणको असरबाट बच्न जनचेतना अभिवृद्धिमा ध्यान दिन आवश्यक रहेको बताए ।
उनका अनुसार गाडीको मर्मत सम्भार, प्रदूषण जाँच र व्यवस्थापन, सफा गाडी (विद्युतीय सवारी साधन, सफा इन्धन (इथानोल, कम सल्फर भएको डिजेल), यातायात व्यवस्थापनलाई प्राथमिकता दिन जरुरी छ । विद्युतीय सवारी जस्ता वातावरणमैत्री यातायातको प्रवद्र्धन गर्न वातावरण मैत्री यातायात नीति कार्यन्वयन गर्न सके वायु प्रदूषण कम हुन्छ ।
सरकारले काठमाडौं उपत्यकाको वायु प्रदूषण कम गर्न स्थापना गरेको वातावरण प्रदूषण कोषमा अहिलेसम्म १५ अर्ब ३१ करोड रुपैयाँ जम्मा भएको छ । तर, सरकार यो कोषको रकम परिचालनमा उदासिन छ । काठमाडौं उपत्यकाभित्र बिक्रीवितरण गर्ने पेट्रोल तथा डिजेलबाट प्रतिलिटर ५० पैसाको दरले प्रदूषण शुल्क संकलन भइरहेकोमा हालसम्म १५ अर्ब नाघेको छ ।
पछिल्लो समय बढ्दै गएको वातावरण प्रदूषण न्यूनीकरण गर्ने लक्ष्यका साथ कोष सञ्चालन भएको १२ वर्ष नाघिसक्दा पनि वन तथा वातावरण मन्त्रालय र अर्थ मन्त्रालयबीचको समन्वय अभावमा कोषको रकम परिचालन हुन नसकेको हो । प्रदूषण न्यूनीकरणका लागि शुल्क तिरे पनि प्रदूषित वातावरणमा बाँच्नुपरेको छ ।