सेयर लगानीकर्ताले गुमाए एकै वर्षमा ९ खर्ब «

सेयर लगानीकर्ताले गुमाए एकै वर्षमा ९ खर्ब

सेयर लगानीकर्ताले एकै वर्षमा सेयर बजारबाट झण्डै नौ खर्ब रुपैयाँ गुमाएका छन् । गत वर्षको माघदेखि चालु आर्थिक वर्षको माघसम्ममा लगानीकर्ताले यो रकम गुमाएका हुन् ।

पछिल्ला महिनाहरूमा सेयर बजारमा भएको निरन्तर गिरावटका कारण लगानीकर्ताले ठूलो रकम गुमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत माघ मसान्तमा सेयर बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । २०७८ माघ मसान्तमा ३९ खर्ब ५९ अर्ब ६५ करोड रुपैयाँ रहेको बजार पुँजीकरण सेयर बजारमा आएको निरन्तर गिरावटसँगै घटेको हो । २०७८ माघको तुलनामा चालु आवको माघ महिनासम्ममा धितोपत्र बजार पुँजीकरण ८ खर्ब ९७ अर्ब ६९ करोड रुपैयाँले घटेको छ ।

आव २०७६/०७७ देखि क्रमशः बढ्दो क्रममा रहेको धितोपत्र बजार पुँजीकरण चालु आवमा भने घट्न पुगेको हो । त्यसअघि २०७४ माघ मसान्तमा १६ खर्ब १४ अर्ब १७ करोड रुपैयाँ रहेको धितोपत्र बजार पुँजीकरण २०७५ माघ मसान्तमा करिब ३ खर्बले घटेको थियो । त्यसपछिका वर्षहरूमा भने बजार पुँजीकरण क्रमशः बढ्दै २०७८ माघ मसान्तसम्ममा ३९ खर्ब ५९ अर्ब ६५ करोड रुपैयाँ पुगेको थियो । तर, चालु आवको माघ मसान्तमा आइपुग्दा बजार पुँजीकरण झण्डै ९ खर्ब रुपैयाँले घटेको हो ।

राष्ट्र बैंकको चालु आवको तथ्यांकमा लगानीकर्ताले सेयर बजारमा झण्डै ९ खर्ब बराबरको लगानी गुमाएको देखिए पनि वास्तविक रूपमा यो अझै धेरै हुन पुग्ने लगानीकर्ताहरू बताउँछन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सोमबारको तथ्यांकअनुसार हाल सेयर बजार पुँजीकरण २८ खर्ब २१ अर्ब हाराहारीमा रहेको छ । विगतमा सेयर बजार पुँजीकरण करिब ४४ खर्बभन्दा बढी पुगेकोमा पछिल्लो वर्षमा यो क्रमशः घट्दै गएको हो । यसबीचमा लगानीकर्ताले समग्रमा सेयर बजारबाट १६ खर्बभन्दा बढी रकम गुमाइसकेको सो तथ्यांकबाट देख्न सकिन्छ ।

यी ६ कारण, जसले एकै वर्षमा ९ खर्ब गुम्यो
लगानीकर्ताहरू राज्यले धितोपत्र बजारसम्बन्धी नीति कसिलो बनाउँदा ठूलो रकम गुमाउन परेको बताउँछन् । राजनीतिक अस्थिरता, रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्नु, पुँजी पलायन हुनु लगायतका कारण पनि धितोपत्र बजारमा समस्या आएको लगानीकर्ताहरूको गुनासो छ । लगानीकर्ताहरूका अनुसार सेयर बजारमा यी ६ मुख्य कारणले प्रभाव पारेको छ ।

धितोपत्र बोर्डको गलत निर्णय
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल धितोपत्र बोर्डले गत वर्ष ५१ वटा कम्पनीमा लगानी नगर्नु भन्दै सूची सार्वजनिक गर्दाको नकारात्मक असर सेयर बजारमा परेको बताउँछन् । बोर्डको त्यस कदमले राम्रा कम्पनीहरूलाई समेत असर परेको बताउँदै उनले भने, “बोर्डले राम्रोसँग अध्ययन नै नगरी सूची सार्वजनिक गर्यो, जसले लगानीकर्ताहरूमा त्रास पैदा ग¥यो ।” केही कम्पनीको मात्रै नाम लिएर सूची जारी गर्दा नकारात्मक असर परेको उनले बताए ।

बैंकको लगानी निरुत्साहन
नीतिगत कारण पुँजी बजारमा बैंक तथा वित्तीय संस्थाहरूको लगानी निरुत्साहन गरिँदा पनि त्यसको असर लगानीकर्ता र राज्यले अहिले भोग्नुपरेको अध्यक्ष ढकालको भनाइ छ । “बैंक तथा वित्तीय संस्थाहरूले सेयर बजारमा लगानी गरिरहेका थिए । राष्ट्र बैंकले निर्देशिकामार्फत एक वर्षअगाडि किनेको सेयर बेच्न नपाउने व्यवस्था गरियो,” अध्यक्ष ढकालले भने, ”यसका कारण संस्थागत लगानीकर्ता बाहिरिनुपर्यो ।”

सेयर धितो कर्जाको जोखिम भारमा वृद्धि
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतबाट बढाएर १५० प्रतिशत पु¥याएको थियो, जुन अहिले पनि लागु छ । कर्जाको जोखिम भार वृद्धिका कारण लगानीकर्तालाई कर्जा लिन महँगो परेको अध्यक्ष ढकालले बताए । यसका कारण लगानीकर्ताहरूले बजार छाड्नुपर्ने अवस्था आएको उनको तर्क छ ।

१२ करोडको सीमा
मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितो कर्जा बढीमा १२ करोडमात्रै लिन पाउने व्यवस्था गरेको थियो । यसका कारण लगानीकर्ताहरूले आफ्नो सम्पत्ति धितोमा राखेर पनि कर्जा लिन नपाउने अवस्था सिर्जना भएको लगानीकर्ताहरू बताउँछन् । अध्यक्ष ढकालले पनि १२ करोडको सीमा राख्दा लगानीकर्ताहरूले कर्जा लिन नपाएको उल्लेख गरे । यसका कारण पुँजी बजार धरासायी बन्दै गएको उनी बताउँछन् । राष्ट्र बैंकले अविलम्व धितो कर्जाको जोखिम भार घटाउनुपर्ने र कर्जामा १२ करोडको सीमा हटाउनुपर्ने उनको माग छ । त्यसो भएमा सेयर बजार पुनः उकालो लाग्ने उनको भनाइ छ ।

राजनीतिक अस्थिरता
नियामकीय तथा नीतिगत व्यवस्थाका कारण त सेयर बजारमा नकारात्मक असर परेको छ नै । देशको राजनीतिक अवस्थाले पनि सेयर बजारमा उत्तिकै प्रभाव पारेको लगानीकर्ता बताउँछन् । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पुँजी बजार बढ्नका लागि राजनीतिक माहोलले विशेष भूमिका खेल्ने बताउँछिन् ।

राजनीतिक अस्थिरता भइरहँदा लगानीकर्ताहरूमा त्रास सिर्जना हुने र लगानी नगर्ने वा भएको लगानी पनि फिर्ता गर्ने अवस्था आउने उनले बताइन् । उनले भनिन्, “राजनीतिमा अस्थिरता हुँदा, राजनीति गर्ने नेताहरूले सेयर बजारमाथि धावा बोल्दा लगानीकर्ताको मनोविज्ञानमा नकारात्मक प्रभाव पर्ने हुन्छ, जसले सेयर बजारमा गिरावटको अवस्था आउँछ । यो वर्ष लगानीकर्ताहरूले यो समस्या पनि झेल्नुप¥यो ।”

बढ्दो महँगी
रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा चर्को वृद्धि हुँदा नेपालमा पनि महँगी उच्च छ । महँगी उच्च रहँदा लगानीकर्ताहरूले भएको सेयर पनि बेचेर गुजारा टार्नुपर्दा पुँजी पलायन हुन पुगेको इन्भेष्टर्स फोरमका अध्यक्ष ढकालको भनाइ छ । उनी भन्छन्, “समग्रमा सेयर बजार यतिखेर निकै नै धरासायी बनेको छ । लगानीकर्ताहरूको रोजीरोटी गुम्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्