Logo

नबिल सामाजिक उद्यमशिलतामा १५ लाभान्वित

नबिल बैंकले गण्डकी प्रदेशको राजधानी पोखरामा हालै आयोजना गरेको उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता स्कुल कार्यक्रमबाट १५ जना लाभान्वित भएका छन् । उद्यमशिलताको विकास गर्न र उत्पादन बढाउने उद्देश्यले बैंकले पोखरामा आयोजना गरेको कार्यक्रमबाट १५ जना तीन महिने कोर्ष पूरा गर्दै लाभान्वित एवं दिक्षित भएको नबिल बैंक गण्डकी प्रदेशका प्रमुख सूर्य रोक्काले बताए ।

समाजमा उद्यमशिलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नविन सोचमा आधारित उद्यमलाई प्रवर्द्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढुवा दिन गण्डकी प्रदेशमा पहिलो पटक सो कार्यक्रम आयोजना गरिएको उनले बताए । पोखरा रत्नचोकमा रहेको ला–ग्राण्डी इन्टरनेश्नल कलेजमा आयोजना भएको कार्यक्रममा उक्त कोर्ष पूरा गरेका १५ जनालाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

बैंकले नाफाको एक प्रतिशत सामाजिक उत्तरदाहित्वअन्तर्गत यस्ता कार्यक्रम गर्दै आएको उनले बताए । देशकका सातवटै प्रदेशमा कम्तिमा एक/एक सय जना यस्तो कार्यक्रमबाट दिक्षित पार्दै उद्यमशिलता प्रवर्द्धनमा लागेको बैंकको भनाइ छ । स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सीप तथा वित्तीय सहयोग उपलब्ध गराउने योजना रहेको बताइएको छ ।

सामाजिक उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले नबिल बैंकले आफ्नो कलेजसँगको सहकार्यमा उक्त कार्यक्रम गर्न पाउँदा खुशी भएको ला–ग्राण्डी कलेजका संस्थापक देवराज चालिसेले बताए । नेपालको अधिकांश जनसंख्या जबसम्म उत्पादनमा लाग्दैनन् तबसम्म अर्थतन्त्र आत्मनिर्भर बन्न नसक्ने उनले जनाए । गण्डकी प्रदेशका प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्माले नेपालको अर्थतन्त्र कमिसनमुखी भएको दाबी गरे ।

नेपालमा बस्तु उत्पादन गर्नु भन्दा पनि विदेशबाट आयातित हुने वस्तुको विभिन्न ट्रान्जिट प्वाइटमा कमिसन खाने गरी व्यवसाय सञ्चालन हुँदै आएको उनको गुनासो छ । नेपालको शिक्षाले केही प्रशासक, शिक्षक उत्पादन गरे पनि उद्यमशिल र सीप मुलक शिक्षा हासिल गर्न नसकेको उपाध्यक्ष डा. शर्माले बताए । सुरुवाती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका विभिन्न स्कुल/कलेज तथा विश्वविद्यालयसँग सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्