सार्वजनिक सेवा प्रवाहमा प्रविधिको प्रयोग «

सार्वजनिक सेवा प्रवाहमा प्रविधिको प्रयोग

प्रविधिको सही प्रयोगमा आवश्यक पहल र सार्वजनिक सेवालाई प्रविधिमूलक बनाउन सके मात्र संघीयताले सरकार र उपभोक्तामा जन्माएको समृद्ध नेपालको परिकल्पनालाई मूर्तरूप दिन सकिन्छ ।

सार्वजनिक सेवा जनताको रुचि र आवश्यकताअनुसार जनतालाई प्रदान गरिने सेवा–सुविधा हो । राज्य अथवा कुनै पनि निकायद्वारा सार्वजनिक हित वा सामुदायिक रुचिका अनुसार प्रदान गरिएको सेवा वा सुविधा सार्वजनिक सेवाअन्तर्गत पर्छ । व्यवस्थित र सुगम सार्वजनिक सेवा प्रवाह जवाफदेही सरकारको द्योतक हो र सरकारको क्षमता र सफलता सार्वजनिक सेवा गुणस्तरले मापन गरिन्छ । यसर्थ सार्वजनिक सेवा प्रवाहलाई अझ धेरै व्यवस्थित बनाउन राज्य र सरोकारवाला सबैले आवश्यक पहल गर्नुपर्ने हुन्छ ।
उपभोक्ताको सन्तुष्टिलाई लक्षित गर्ने गरी सार्वजनिक सेवाको ढाँचालाई मूर्तरूप दिन प्रविधिको प्रयोग अपरिहार्य देखिन्छ । विकसित देशहरूमा यसको व्यापक प्रयोग भए पनि नेपालमा यसको उचित र आवश्यक प्रयोग भएको देखिन्न । सरकारले यसका लागि केही पहल गरे पनि नेपालमा अहिलेसम्म प्रविधिको प्रयोग भने सन्तोषजनक देखिएको छैन ।
प्रविधिले सरकार र जनतालाई जोड्ने एउटा पुलको भूमिका निर्वाह गर्न सक्छ । प्रविधिको उचित उपयोग गर्न-गराउन सके सरकारका गतिविधिको जानकारी पाउन, दिनका साथै सरकारले सामुदायिक हितका लागि गरेको आवश्यक पहल र व्यवस्था उपभोक्ताले सही समयमा जानकारी लिई आफूले पाउने सेवा–सुविधा उपभोग गर्न सक्छ । यो कुरा सार्वजनिक सेवा प्रदान गर्ने अन्य सरकारी तथा गैरसरकारी निकायमा पनि लागु हुन्छ ।
सरकारी, गैरसरकारी निकायले कुनै पनि भूगोलको अध्ययन गरी आफूले चाहेको, लक्षित वर्गको अवस्था बुझी आवश्यक पहल गर्न सक्छन् । सरकारले कुन ठाउँ, व्यक्ति वा समुदायका लागि के–कस्ता सेवा–सुविधा पु-याउन जरुरी छ, तदनुसार कार्यढाँचा बनाई आवश्यक सेवा–सुविधा उपयुक्त ठाउँमा पु-याइदिन सक्छ । यसका साथै उक्त सेवा–सुविधा सही ठाउँमा पुगे-नपुगेको अवलोकनसमेत सरोकारवालाले गर्न सक्छ ।
जनताले आफ्नो समस्या, गुनासो अनि सुझाव सोझै सरकारसामु पु-याउन सक्ने भएकाले उनीहरूको सेवाप्रतिको सन्तुष्टि बढेर जानुका साथै जनता र सरकार वा सरोकारवालाबीच परस्पर सम्बन्ध कायम हुन जान्छ । यसर्थ सार्वजनिक सेवा प्रवाहलाई सुव्यवस्थित बनाउन प्रविधिको प्रयोग अत्यावश्यक देखिन्छ । तर, नेपालजस्तो विकासोन्मुख देशमा सार्वजनिक सेवा प्रवाहलाई प्राविधिक तवरमा अगाडि बढाउन अनेक चुनौतीहरू देखा पर्छन् । जस्तै लगभग ३०–३५ प्रतिशत जनता अहिलेसम्म अशिक्षित हुनु, नेपालमा धेरैजस्तो क्षेत्रमा प्रविधिको पहुँच नहुनु, पुराना कर्मचारी आधुनिक प्रविधिसँग मितव्ययी नभएका र पुरानै तवरबाट काम गर्न अभ्यस्त भएकाले नयाँ प्रविधिबाट काम गर्न असन्तोष जनाउनु, शिक्षा प्रविधिमैत्री नभएकाले शिक्षित वर्गले समेत प्रविधिको उचित प्रयोग गर्न नजान्नु आदि ।
यस्तो अवस्थामा सरकारले सर्वप्रथम प्रविधिको उचित प्रयोगका लागि आवश्यक आधार तयार गरिदिनुपर्ने देखिन्छ । जस्तै— देशको हरेक कुनामा प्रविधिको पहुँच सुनिश्चित गर्ने, प्राविधिक शिक्षामा जोड र अशिक्षित र शिक्षित वर्ग समेतलाई आवश्यक प्रविधि प्रयोगको तालिम दिने, कर्मचारी वर्ग सबैलाई प्रविधिको कुशल प्रयोग सिकाउन तालिम व्यवस्था गरिदिनुका साथै पुराना प्रविधिबाट अभ्यस्त कर्मचारीलाई आवश्यक व्यवस्थापन वा उचित सेवा सुविधा दिई अवकाश दिने आदि । यसरी प्रविधिको सही प्रयोगमा आवश्यक पहल र सार्वजनिक सेवालाई प्रविधिमूलक बनाउन सके मात्र संघीयताले सरकार र उपभोक्तामा जन्माएको समृद्ध नेपालको परिकल्पनालाई मूर्तरूप दिन सकिन्छ ।
—रोशन

प्रतिक्रिया दिनुहोस्