Logo

डुबानबाट जोगाउन नेपालगन्जका सबै नाला सफाइ

हरेक वर्ष सामान्य पानी पर्दा नेपालगन्ज डुबान हुन थालेपछि नेपालगन्जका नाला सफाइ गर्न थालिएको छ । बर्खा अगावै काम सक्ने गरी बर्खायाममा हुने डुबानबाट जोगाउन नेपालगन्जका साना ठूला सबै नाला सफाइ गर्न थालिएको हो । नेपालगन्ज उपमहानगरपालिकाले यसअघि सामान्यरूपमा डुबानका बेला मात्र बजार क्षेत्रका नाली सफाइ गर्ने गरिए पनि समयमै सबैनाला सफाइ गर्न लागिएको जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल र इन्जिनियर शर्माले शनिबार भेरी प्राविधिक शिक्षालय भएर बग्ने नालाको अन्तिम विन्दुमा भइरहेको सफाइको अवलोकन गरेका थिए । अवलोकनमा पुगेका नगर प्रमुख विष्टले नेपालगन्ज उपमहानगरपालिकाको मुख्य समस्याको रूपमा रहेको डुबान समस्या समाधानका लागि मुख्य नालाको आउटलेट सफा गर्नुपर्ने आवश्यकता महसुस भएपछि काम सुरु गरिएको बताए ।

“नालाको आधाभन्दा बढी भाग माटोले पुरिएको अवस्था छ, कतिपय ठाउँमा जेसिबी प्रयोग गर्न सकिने अवस्था छैन, त्यसैले मान्छे नै लगाएर सफाइ गरिरहेका छौं,” उनले भने, “सहरको करिब ७० प्रतिशत पानी बग्ने मुख्य नाला सफाइ मुख्य प्राथमिकतामा राखी त्यहाँबाट (अन्तिम विन्दु) भेरी प्राविधिक शिक्षालयसम्म र बजार क्षेत्रमा कर्णाली विकास बैंक छेउँसम्म राम्रोसँंग सफा गर्न सकियो भने पानीको सहज निकास हुन्छ ।”

विष्टले नेपालगन्ज उपमहानगरपालिकाभित्र ड्रेनेजको पर्याप्त नेटवर्क भए पनि सहजरूपमा पानीको निकास नहुँदा समस्या निम्तिने गरेको बताए । विगतमा बजारको वरिपरि मात्रै सफाइ गर्ने काम भएको बताउँदै अहिले अन्तिम विन्दुबाट आमरूपमा सफाइ थालेको र यसले नेपालगन्जलाई डुबान हुनबाट जोगाउने उनको विश्वास छ ।

उपमहानगरपालिकाका इन्जिनियर निवेशकुमार शर्माले दुईवटा प्याकेजमा नाला सफाइ गर्ने गरी काम सुरु गरिएको बताए । “पहिलो चरणमा बजार क्षेत्र भएर बग्ने ठूलो नाला र दोन्द्रा नालाको अन्तिम विन्दु (आउटलेट) बाट सफाइको काम थालिएको छ,” उनले भने, “बजार क्षेत्रभित्रको मुख्य नाला र दोन्द्रा नाला मिसिएर बनेको दोधारा नालाको अन्तिम विन्दुबाट काम थालेका छौं ।”

जेसिबीले सफाइ गर्नसक्ने ठाउँमा जेसिबी र जेसिबीले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाइ गरिने शर्माको भनाइ छ । अन्तिम विन्दुबाट काम सुरु गरेपछि जहाँजहाँ अवरोध छ, त्यसमा राम्रोसँंग काम गर्न सकिन्छ भन्ने उद्देश्यले आउटलेटबाट काम सुरु गरेको इन्जिनियर शर्माले बताए । उपमहानगरपालिकाले नेपालगन्जका सबै लाना एक महिनामा सफाइ सक्ने गरी काम अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्