वीरेन्द्रनगरले गर्यो विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले अतिविपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । नगरपालिकाभित्र रहेका विपन्न परिवारको स्वास्थ्य बिमावापत रकम नगरपालिकाले तिरिदिने भएको हो । शुक्रबार एक कार्यक्रमका बीच निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गरिएको छ ।
नगर प्रमुख मोहनमाया ढकालले चारजना अतिविपन्न परिवारका सदस्यलाई बिमा परिचयपत्र हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरिन् । ढकालले संविधानमा उल्लेख भएको स्वास्थ्यको मौलिक हकलाई हरेक नागरिकको पहुँचमा पुर्याउन नगरपालिकाले निःशुल्क बीमा कार्यक्रमको सञ्चालन गरेको बताइन् ।
स्वास्थ्य बीमा गरेका नागरिकलाई छिटो छरितो सेवा प्रवाहका लागि नगरपालिकाले स्वास्थ्य संस्थासँग आवश्यक समन्वय गर्ने पनि ढकालले बताएकी छन् । नगरपालिकाले चालू आर्थिक वर्षमा विपन्न नागरिकको स्वास्थ्य बीमा कार्यक्रम गर्न बजेट विनियोजन गरेको छ । नगरपालिकाका १६ वटै वडाका नागरिकको वर्गीकरणपछि घ वर्गमा परेका अतिविपन्न व्यक्तिको बिमा गरिने नगरपालिकाले जनाएको छ ।
विपन्न परिवार पहिचानका लागि नगरपालिकाले कार्यविधि निर्माण गरेर सोहीअनुसार काम गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार कार्यविधिअनुसार छनोट भएका परिवारलाई निःशुल्क बिमाका लागि नगरपालिकामा वडा कार्यालयले सिफारिस गर्नेछ । वडाका सिफारिसलाई अध्ययन गरेर नगरप्रमुखको संयोजकत्वमा रहेको बिमा संयोजन समितिले निर्णय गर्ने शर्माले जानकारी दिए ।
सबै प्रक्रिया पूरा भएपछि वडामा रहेका अभिकर्ताले घरमै गएर निःशुल्क बिमा गरिदिने छन् । जसका लागि स्वास्थ्य बिमा बोर्ड कर्णाली प्रदेश र नगरपालिकाबीच सम्झौतासमेत भएको छ । उक्त सम्झौतापत्रका बिमा बोर्डकी कर्णाली संयोजक सिर्जना पौडेल र वीरेन्द्रनगर नगरपालिका नगर प्रमुख मोहनमाया ढकालले हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रमअन्तर्गत नगरपालिकाले हरेक विपन्न परिवारको बिमा गर्दा लाग्ने तीन हजार पाँच सय रुपैयाँ तिरिदिनेछ । हालसम्म नगरपालिकामा करिब तीन सय जनाले बीमाका लागि निवेदन दिएका छन् । यस वर्ष करिब आठ सय जनाको बिमा हुने अनुमान रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्रदेव गिरिले जानकारी दिए । उनका अनुसार आगामी वर्ष पनि विवरण अध्यावधिक गरी बीमाको नवीकरण गरिनेछ ।