Logo

साढे ४ करोडमा सशस्त्र प्रहरीको सुविधायुक्त भवन बन्दै

विगत डेढ दशकदेखि जुम्लामा बस्दै आएको सशस्त्र प्रहरी बलको हालसम्म आफ्नो भवन छैन । जिल्ला प्रशासन, महिला विकासको कार्यालय र कर्मचारी आवासमै कोचिएर बस्न बाध्य छन् । सहज रूपमा बस्ने र सुत्न ठाउँ त परै जावस नियमित अभ्यास गर्ने फराकिलो स्थानसमेत कतै छैन । डेढ दशकदेखि सशस्त्र प्रहरी नियमित अभ्यासबाट समेत वञ्चित छन् ।

संरचना अभावले नियमित बिहान हुने पिटी, साँझ हुने रोलकाललगायतका अन्य अभ्यास गर्न पाएका छैनन् । डेढ दशकदेखि जुम्लाको शान्ति सुरक्षामा खटिएको ‘सशस्त्र प्रहरी बल नम्बर ३३ गण हेडक्वार्टर त्रिपुरा जुम्ला’को हालसम्म आफ्नो ब्यारेक नहुँदा थुप्रै समस्या झेल्न बाध्य छ । भवन निर्माण गर्ने बहस वर्षौं पहिलेदेखि चले पनि जग्गा खोज्दै लामो समय बित्यो ।

सशस्त्र प्रहरीका खेलकुद क्रियाकलाप गर्दा पनि नेपाली सेनाको टुँडिखेल मैदान माग्नुपर्ने बाध्यता विद्यमान छ भने नयाँ जनशक्ति भर्तीगर्दा गर्दा सडकमा दौडाउनु पर्ने अवस्था छ । प्रशासन कार्यालय हाताभित्र नयाँ संरचना निर्माणका लागि ठेक्का भइसकेको छ । त्यसैले पनि प्रशासनमै बस्दै आएको सशस्त्र प्रहरीलाई तत्काल अन्त सर्नुपर्ने बाध्यता छ ।

प्रमुख जिल्ला अधिकारीको क्वार्टर निर्माण सम्पन्न भइसके पनि सशस्त्र प्रहरी नसरेका कारण क्वार्टरमा नबसेको प्रजिअ मुकेशकुमार केसरी बताउँछन् । उनी भन्छन्, “आफ्नो क्वार्टर नजिककै सशस्त्र प्रहरीको मेसलगायतको संरचना छन् । सशस्त्र नसरेर क्वार्टरमा बस्ने अवस्था छैन । त्यसैले लामो समयको प्रयासपछि जग्गा प्रदान भइसकेकाले सशस्त्र प्रहरीको ब्यारेक निर्माणअघि बढेको छ । अब चाडै सशस्त्र आफ्नै भवन बन्ने आशा छ ।”

विभिन्न कार्यालयमा कोचिएर बस्दै आएको, अभ्यास गर्नबाट वञ्चित भएको ‘सशस्त्र प्रहरी बल नम्बर ३३ गण हेडक्वाटर त्रिपुरा जुम्ला’को पक्की भवन निर्माण प्रक्रिया डेढ दशकपछि अघि बढेको छ । ब्यारेक निर्माणका लागि चाहिने पर्याप्त जग्गा तातोपानी–५ का स्थानीयले उपलब्ध गराएपछि ब्यारेक निर्माणको बाटो खुलेको हो । ‘सशस्त्र प्रहरी बल नम्बर ३३ गण हेडक्वार्टर त्रिपुरा जुम्ला’को भवन निर्माणअघि बढेको छ ।

बिहीबार जिल्ला समन्वय समिति प्रमुख, स्थानीय तहका प्रमुख, सिडिओ, सशस्त्र प्रहरीका एसपी चेतराज जोशीसहितको उपस्थितिमा भवन निर्माण शिलान्यास गरिएको छ । सशस्त्र प्रहरीको भवन तातोपानी गाउँपालिका–५ स्थित डुठ्याचौरको २२ हजार वर्गमिटर जग्गामा सशस्त्र प्रहरीको पक्की भवन निर्माण हुन थालेको तातोपानीका गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । उनका अनुसार गाउँमै निर्माण हुन थालेको ब्यारेकले आमनागरिक थप शान्ति सुरक्षाको महसुस हुनेछ ।

संघीय सरकारको ४ करोड ५१ लाख लगानीमा सशस्त्र प्रहरीको ब्यारेक निर्माण हुने भएको छ । जसमा (कार्यालय भवन, जवान ब्यारेक, जवानको क्वार्टर गार्ड र गणपति निवास) गरी ४ वटा पक्की भवन साढे ४ करोड लगानीमा निर्माण हुनेछन् । ११ महिना महिनाभित्र ब्यारेक निर्माण सम्पन्न गरिसक्ने सम्झौता भएको छ । २०७९ माघ १७ गते सम्झौता भई ०८० पुस १७ गते निर्माण सम्पन्न हुने सम्झौतामा उल्लेख छ ।

भवन निर्माणको (ठेक्का ओम बज्रहरी जेभी) कम्पनीले पाएको छ । कुनै प्रतिकूलता नभए सम्झौता मितिअगावै निर्माण सक्ने ठेकेदार सिंहबहादुर लामाको दाबी छ । उनले भने, “निर्माण सामग्री ढुवानीमा समस्या छ । निर्माण कार्यमा कुनै समस्या छैन । मौसम प्रतिकूलता नभए, सबैको साथ सहयोग पाएमा निर्धारित समयमै निर्माण सकिन्छ ।” ब्यारेक निर्माणअघि बढेपछि सशस्त्र प्रहरी उत्साहित छन् ।

२०६४ यता भवन अभावले खेप्दै आएका विभिन्न कष्टबाट मुक्ति पाइने, अब आफ्नै भवन बन्ने कुराले सशस्त्र प्रहरी उत्साहित भएका हुन् । संरचना निर्माणलाई गुणस्तरीय र छिटो छरितो बनाउन नियमित अनुगमन निरिक्षण गरिने प्रजिअ केसरीको भनाइ छ । जत्तिसक्दो छिटो सशस्त्र प्रहरीको ब्यारेक बन्यो उत्ति नै छिटो प्रजिअ क्वार्टरमा सर्नेछन् । हाल सशस्त्र प्रहरीबाहेक जुम्लामा नेपाल प्रहरी र नेपाली सेनाको आफ्नै ब्यारेक छन् ।

प्रतिक्रिया दिनुहोस्