जागिर पाउन साइन्स नै पढ्नुपर्छ भन्ने छैन

उच्च ग्रेड प्राप्त गर्ने धेरै अभिभावकमा आफ्ना छोराछारीले विज्ञान संकायका विभिन्न विषय नै पढुन् भन्ने सोचाई रहेको पाईन्छ । तर उच्च ग्रेड प्राप्त गर्नेले साइन्स र कम ल्याउनेले अन्य संकायका विषय पढ्नुपर्छ भन्ने छैन । आफ्नो क्षमता अनुसार तोकिएको ग्रेड अनुसारको विषय अध्ययन गर्न सकिन्छ ।
खासगरी विश्वव्यापीकरण तथा बजार विविधिकरणले गर्दा मानविकी, कानुन, व्यवस्थापन र शिक्षा संकायमा पनि धेरै किसिमका अवसरहरु सिर्जना हुँदै गएका छन् । तिव्र रुपमा बढ्दो बजार, गैरसरकारी संस्थाहरु, शहरीकरणको प्रभाव, कानूनी क्षेत्रप्रति नयाँ पुस्ताको आकर्षण, उच्चशिक्षाको आकांक्षा तथा अनुसन्धानप्रति मानिसहरुको बढ्दो चाहनाले पिछडिएको संकायमा पनि धेरै अवसर देखिन थालेका छन् ।
बजार तथा अर्थतन्त्रमा भएको चामत्कारिक वृद्धिले खासगरी अर्थशास्त्र, कानून, आमसंचार, सामाजिक कार्य, मनोविज्ञान, ललितकला, साहित्य, फेशन प्रविधि, भाषा लगायतका विषयहरुको महत्व झन् बढ्दै गएको छ । कला, मानविकी, समाजशास्त्र, ललितकला, नाट्यकला, दृष्यकला, साहित्य, सांस्कृतिक अध्ययन लगायतका नामले चिनिने मानविकी वा समाजशास्त्रका विषयहरु मानव सभ्यताको उत्पत्ति र विकासका विभिन्न महत्वपूर्ण पक्षहरुसँग सम्बन्धित छन् ।
यस संकाय अन्तर्गत समाजशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र, भूगोल, इतिहास, मनोविज्ञान, मिडिया अध्ययन, भाषा लगायतका सम्बन्धित विषयहरुको अध्ययन-अध्यापन हुने गर्दछ । यदि हामी सहज जिवनयापन गर्न तथा समाज र देशका विभिन्न पक्षमा सकारात्मक परिवर्तन चाहन्छौं भने तिनीहरुको इतिहास, बर्तमान अवस्था के कस्तो छ र सुधारका लागि के गर्न सकिन्छ भन्ने अध्ययन आवश्यक छ ।
व्यवस्थापन संकाय
मेनेजमेन्ट अर्थात् व्यवस्थापन संकायलाई नेपालमा विविधिकरण भएको विषयको रुपमा मूल्यांकन गरेर क्यरियर बनाउन यसबाट जुनसुकै विधामा जान मिल्ने किसिमको शिक्षा हो भन्ने सोच राखिन्छ । यसको अध्ययन साधारणदेखि उच्च आर्थिक हैसियत भएकाले अध्ययन गर्न सक्ने विषय हो । अध्ययनपछि राम्रो अवसर र शुल्क सस्तो भएका कारणले सबैको रोजाईको विषय बनेको छ । काम गर्दै पनि अध्ययन नियमित गर्न सक्ने भएकाले पनि यसको महत्व बढेको हो । विज्ञान लगायतका अन्य संकायका विद्यार्थीले काम गर्दै अध्ययन गर्न सक्ने सम्भावना नै रहँदैन । व्यवस्थापनलाई नेपालको विकासक्रमसँग जोडेर पनि हेर्नु पर्छ । हाइड्रोपावर टुरिजम र कृषि विधा यी ३ वटा विधाबाट मात्र नेपालको विकास सम्भव छ । वास्तवमा भन्नु पर्दा यिनै ३ विधामा व्यवथापन विषय अध्ययन गर्ने ठूलो जनशक्तिको खाँचो रहेको छ । व्यवस्थापन अध्ययनपछि अधिकांश विद्यार्थी रोजाई बैंकिङ क्षेत्र रहेको छ । त्यसपछि दोस्रोमा भन्ने हो भने होटल मेनेजमेन्ट रहेको छ । तेस्रो नम्बरमा भन्नु पर्दा कम्प्युटर साइन्समा गएको देखिन्छ । नेपालमा व्यवस्थापन अध्ययन गरेकाहरुका लागि बंैकपछि व्यवस्थापनका लागि सम्भावना बोकेको क्षेत्र होटल मेनेजमेन्ट रहेको छ । होटेल व्यवसायका अभिवृद्धिका लागि नेपालमा विविध भौगोलिक अवस्था हुनु अझ राम्रो रहेको छ । नेपालको प्राकृतिक सौन्दर्यलाई विश्व बजारमा बेच्ने हो भने होटल र टुरिजम विषयले एकदमै भूमिका खेल्ने देखिन्छ ।
विज्ञान
अन्य संकायका विषयहरुको तुलनामा विज्ञान विषय लिएर अध्ययन गर्नेे पढाइमा बढी ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ । विज्ञान विषयको अध्ययन अध्यापनको लागि व्यवहारिक र शैक्षिक ज्ञानलाई लागू गर्न नेपालमा सो अनुसारको पूर्वाधार तयार भईसकेको छैन ।
नेपाल विकासको सम्भावना बोकेका ठूला ठूला पूर्वाधारहरु जस्तै कम्प्युटर नेटवर्कहरु, हाइड्रोपावरको नै कुरा गर्ने हो भने साइन्सले नै विकास हुनु पर्ने देखिन्छ । नेपालमा विज्ञान प्रविधि शिक्षाको बहस गर्दा अन्य क्षेत्रको भन्दा फरक खालको धारणा रहेको पाईन्छ । जस्तै नेपालमा विद्यार्थीले विद्यालय तहको एसइइ अर्थात अन्य कुनै विषय वा तह पूरा गर्छ । राम्रो ग्रेड ल्यायो भने साइन्स नै पढ्नुपर्छ भन्ने मान्यता रहेको छ । नेपाली समाजले मानिसमा शिक्षालाई हेर्र्ने दृष्टिकोण त्यसरी सृजना गरेको छ । धेरै ग्रेड ल्याउँदा साइन्स नै पढ्नुपर्छ भन्ने आम मान्यताको पक्षमा जानु पर्छ भन्ने छैन ।
अहिलेको जमानामा आफ्नो क्षमता अनुसार राम्रो र फरक गर्न सक्नु पर्छ । अरुको अगाडि प्रस्तुतिकरण गर्न सक्ने पनि हुनु प-यो । अहिले नेपालमा मात्र होइन, विश्व बजारमा बिक्न क्वालिटी र क्वान्टिटी पनि हेरिने गरेको छ । तर मुख्य कुरा गुणस्तरको पनि आउने गरेको छ । जोसँग गुणस्तर छ, उसले अवसर र रोजगारी पाउँछ, जोसँग छैन उसले पाउन सक्दैन । नेपाल जस्तो विकासोन्मुख देशमा साइन्सको स्कोप अन्य विषयको भन्दा बढी नै छ । नेपाल विकासको क्रममा रहेको छ र नेपालको विकास साइन्सकै माध्यमबाट हो । तर पूरै देश विकासमा विषयगत स्कोपले मात्र पनि विकास हुन्छ भन्न सकिन्न । त्यसमा मेनेजमेन्टको कन्सेप्ट पनि हुनु पर्छ । कर्पोरेट क्षेत्रमा साइन्स र व्यवस्थापन दुबै पक्षको रोल समान रहेको हुन्छ ।
नयाँ विद्यार्थी आउने विद्यार्थीले अंकका आधारमा भन्दा पनि रुचीका आधारमा साइन्स अध्ययन गर्ने हो । परिवारको दबाब भन्दा पनि विद्यार्थीको रुचि अनुसार चाहेको विषय अध्ययन गरे मात्र सफल हुने सम्भावना रहन्छ । कुनै पनि विषय छनोट गर्ने भन्दा पनि जुन विषयमा राम्रो गर्न सकिन्छ त्यही विषय अध्ययन गरौ । सबै बिषयको स्कोप समान रहेकाले कुनै बिषय छनोट गरेपनि फरक पर्दैन तर मेहेनत भने गर्नु पर्छ । साइन्स अरु विषयभन्दा महँगो भएकाले निम्न आय भएकाहरुका परिवार र विद्यार्थीका लागि अध्ययनको अवसर नहुन सक्छ भन्ने छ । साइन्सका लागि ल्याबमा अध्ययन गर्नुपर्ने भएकाले अन्य विषयभन्दा खर्चिलो हुने गरेको छ । निम्न आय भएका विद्यार्थीले पनि नेपालमा साइन्स अध्ययन गर्ने अवसर रहेको छ । निजी कलेजले दुर्गम, जनजाति तथा दलित समुदायका बालबालिकाको शिक्षाका लागि छात्रबृत्तिको व्यवस्था गरेको छ ।
कानुन संकाय
कानुन संकाय अध्ययन गर्ने विद्यार्थीको संख्या बिगत लामो समयदेखि अभाव देखिएको परिणाम स्वरुप अहिले कानुन क्षेत्रमा काम गर्ने नयाँ जनशक्तिको अभाव रहेको छ । अहिले पनि श्रम बजारले कानुन पढेका योग्य जनशक्ति पाउन सकेको छैन । यसै कारण विगत २-३ वर्षयता यो विषय पढ्न रुची राख्नेको संख्या ह्वातै बढेको देखिन्छ । त्रिभुवन विश्वविद्यालय अन्र्तगतको उच्च तहसम्म कानुनको अध्ययन हुँदै आएको कामठमाडांैको नेपाल ल क्याम्पसका विगत वर्षमा १० हजार भन्दा बढी विद्यार्थीले भर्ना पाएका छन् ।