व्यवस्था फेरियो, ग्रामीण महिलाको अवस्था उस्तै

महिलालाई नेतृत्व दिनु हुँदैन, महिला घरको कामबाहेक अरु गर्न सक्दैनन् । अर्थात् सामाजिक रूपमा महिलाले विकास निर्माण, उद्यमशीलता, राजनीतिक, जागिर र व्यवसायका क्षेत्रमा पुरुष सरह हैसियत राख्दैनन्, त्यो क्षमता महिलामा हुँदैन भन्ने संकीर्ण सोच कर्णालीमा अझै विद्यमान छ । घरधन्दा महिलाको पेवा ठान्ने पितृसतात्मक सोचले जगडिएको प्रवृत्तिले महिलाई नेतृत्व तहमा पुग्न बाधा पुर्याएको छ ।
देशमा व्यवस्था फेरियो, ठूला राजनीतिक परिवर्तन भए तर महिलाको अवस्था, नेतृत्व पहुँच र विकास निर्माणमा समान सहभागिता अपेक्षित रूपमा हुन सकेको छैन । संंघीयतापछि दलहरूले महिलालाई उपप्रमुख र उपाध्यक्षमै सीमित बनाएका छन् । त्यो दलहरूमा देखिएको ज्वलन्त पुरुषवादी चिन्तनको उदाहरण हो । उपभोक्ता समितिको अध्यक्ष, विव्यसको अध्यक्षमा समेत महिलालाई स्वीकार नगर्ने प्रवृत्तिले ग्रामीण महिलाले अझै अधिकार प्रत्याभूति भएको महसुस गरेका छैनन् ।
महिलालाई अघि बढन् रोक्ने, सामाजिक चिन्तन, संस्कार, विद्यमान पृतिसतात्मक सोचले क्षमतावान महिला सधै पछि बस्नुपर्ने बाध्यताबीच पनि जुम्ला महिला राजनीतिक नेतृत्वदेखि सफल उद्यमीसम्म बनेका छन् । चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्का भन्छिन्, “संघीयतापछि पनि महिला सशक्तीकरण, नेतृत्व विकास, सम्मान सहभागिताको सवाल पेचिलो बन्न सकेन । अझै महिलाले पुरुष सरह काम गर्न सक्दैनन् भन्ने सोच छ । राजनीतिक नेतृत्वदेखि विकासमा महिलाको अर्थपूर्ण सहभागिताका लागि स्वयम् महिला नै एकजुट हुनुपर्ने संघर्ष गर्नुपर्ने बेला आएको छ ।”
हरेक वर्ष मनाइने दिवसले ग्रामीण महिलाका समस्या सम्बोधन गर्न सकेको छैन । महिलामैत्री नीति, कार्यक्रम निर्माण र कार्यान्वयनमा जोड दिनुपर्ने उपमेयर खड्कको भनाइ छ । नेपालको संविधान २०७२ को भाग–३ को मौलिक हकअन्तर्गत (बुदाँ नं. १८) मा ‘समानताको हक’ले लिंगका आधारमा कुनै पनि विभेद गर्न नपाइने व्यवस्था छ । त्यस्तै मौलिक हकअन्तर्गतकै (बुदाँ नंं ३८) मा ‘महिलाको हक’ मा लिंगका आधारमा कुनै विभेद गर्न नपाइने र पुरुष सरह स्वास्थ्य, शिक्षा, रोजगार र सामाजिक सुरक्षालगायतका अवसर समान रूपमा पाउनु पर्ने स्पष्ट उल्लेख छ ।
तर व्यवहारमा कार्यान्वयन शून्य छ । पहिलो कुरा समाजमा पुरुषवादी चिन्तन हावी हुनु र दोस्रो स्वयम् महिला सक्षम र संघर्षशील नहुनु, अधिकारका लागि नेतृत्वसँंग लड्न नसक्नु अहिलेको मुख्य समस्या हो । उपप्रमुख खड्काले भनिन्, “औंलामा गन्न सकिने महिला नेतृत्वमा पुगेका छन् । सफल उद्यमी बनेका छन् । तर तुलनात्मक रूपमा महिला अझै ओझेलमा छन् । महिलाका सवाल पेचिलो बन्न सकेको छैन । दक्षता, क्षमता हुँदा पनि विकास निर्माण, उद्यमशीलता, नेतृत्व तहमा पुग्न महिलाका पुरुषवादी चिन्तन बाधक बनेको छ । महिला निरिह भएर सहनुपर्ने अवस्था छ ।”
आफ्नो पाँच वर्षको पारिश्रमिक नलिने र विपन्न महिलाको क्षामता विकास, सशक्तीकरण र विपन्न बालबालिकाको शिक्षा दिक्षामा खर्चिने चन्दननाथकी उपमेयर खड्काले सपथ खाए लगत्तै घोषणा गरेकी हुन् । महिला अधिकार कार्यान्वयनका लागि क्षमता विकास र जनचेतनामा जोड दिनुपर्ने उनको भनाइ छ । चन्दननाथ नगरपालिकाले महिला उद्यमशीलता, क्षामता विकासमा आगामी नीति कार्यक्रममा विशेष प्राथमिकता दिनेसमेत प्रतिबद्धता व्यक्त गरिन् ।
विकास भनेकै सडक हो भन्ने मानसिकतालाई स्थानीय सरकारले तोड्नु पर्छ । लैगिक समानता, समावेशी विकास, कामको समान ज्याला, नेतृत्वमा समान सहभागिताको सवालमा पेचिलो बहस, पैरवी गरेको खण्डमा ग्रामीण महिलाले अधिकारको प्रत्याभूति गर्ने महिला अधिकारकर्मी भगवती श्रेष्ठ बताउँछिन् ।
स्थानीय तहको न्यायिक समितिले पनि ग्रामीण क्षेत्रका पीडित महिलालाई न्यायिक पहुँचमा ल्याउन जनचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने उनको भनाइ छ । जुम्लाका आठै पालिकामा उपप्रमुखमा रहेका महिला जनप्रतिनिधिले महिला सशक्तीकरण र क्षमता विकास एजेण्डालाई नीति कार्यक्रममा प्राथमिकता दिने बाचा गरेका छन् । जुम्लामा बुधबार ११३औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम मनाएका छन् ।
जुम्लाकै सफल उद्यमी महिला
चन्दननाथ नगरपालिका–३ निवासी ४४ वर्षीय कुन्जाङ पुटिक तामाङ जिल्लाकै एक सफल महिला उद्यमी हुन् । जसले जुम्लामा महिलालाई रोजगारी सृजनासँंगै सीप हस्तान्तरणको काम गर्दै आएकी छन् । मुगु जिल्ला कार्मारोङ गाउँपालिका जन्म घर भएकी तामाङलाई मुगुको केही गरौं भन्दा सामाजिक संस्कार र पुरुषवादी सोचले छेकेपछि उनी २०६० सालतिर जुम्ला आइन् ।
डेढ दशकअघि उनलाई राम्रो लाउन र मीठो खान चाडबाड नै कुर्नु पथ्र्यो । के खाऊँ, के लाऊँ भन्ने चिन्ताले सताइरहन्थ्योे । तर २०६४ सालमा घरेलु तथा साना उद्योग विकास समितिको लघुउद्यमी तालिममा सहभागी भइन् । एक महिने तालिममा भेडाको उन तथा धागोबाट झोला, लिउ, राडीपाखी, गलैंचा बनाउने सीप सिकिन् । तालिम सकिएपछि उनले भाडाकै घरमा झोला, लिउ र राडीपाखी बनाएर बेच्न थालिन् ।
आम्दानी बढ्दै गयो । २०७० सालमा कुन्जाङ झोला तथा राडीपाखी उद्योग नै दर्ता गरिन् । उक्त व्यवसाय थालेपछि जाँडरक्सी बेचेको भन्दा आफूलाई सामाजिक रूपमा निकै सम्मानित महसुस भएको सुनाइन् । “कर्णालीमा शिक्षा र चेतना नपुगेको पनि हैन,” तामाङ भन्छिन्, “पहिलो कुरा महिला राजनीतिक, विकास निर्माणमा अग्रसर हुनुहँुदैन भन्ने मानसिकता, नीति पनि उस्तै छ भने दोस्रो पितृसतात्मक सोचकाविरुद्ध स्वयम् महिला नै नजटुेकोले कर्णालीका महिला सधै पछि पर्न गएको हौं ।”
उद्योगमा ६÷७ जना महिलालाई नियमित रोजगार दिएको र गाउँगाउँमा पनि महिलालाई उद्यमशीलता तालिम दिन जाने गरेको उनको भनाइ छ । २०६४ सालमा १० हजारबाट सुरु गरिएको व्यवसाय अहिले करोडमा परिणत भएको छ । पछिल्लो समय जुम्लाको राडीपाखीको माग बढ्दै गएपछि तामाङको व्यवसाय फस्टाउदै गएको छ । संघर्ष, सामाजिक संस्कार तथा अभावका बीच सफल उद्यमी भएकी थुप्रै महिलामध्ये कुन्जाङ पुटिक तामाङ एक उदाहरण मात्र हुन् ।