निर्वाचन गराउन ५ अर्ब निकासा «

निर्वाचन गराउन ५ अर्ब निकासा

सरकारले निर्वाचनका लागि ५ अर्ब रुपैयाँ निकासा गरेको छ । निर्वाचनका लागि ठूलो परिमाणमा रकम आवश्यक पर्ने देखिएपछि अर्थ मन्त्रालयले निर्वाचन आयोगले माग गरेअनुसार पहिलो चरणमा ५ अर्ब रुपैयाँ निकासा दिएको हो ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन दुई चरणमा गर्नेगरी मंसिर १० र २१ मा निर्वाचनको मिति घोषणा गरिसकेको छ । “निर्वाचनका लागि ५ अर्ब बजेट निर्वाचन आयोगलाई निकासा दिइसकेका छौं,” बजेट महाशाखाका उपसचिव ईश्वरीप्रसाद अर्यालले भने ।

अन्य निकायबाट बजेट माग आउने क्रम जारी रहेको पनि उनले जानकारी दिए । अर्थले यसअघि तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनका लागि १० अर्ब २९ करोड रुपैयाँ बजेट निकासा दिएको थियो । 

सरकारले आउदो प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि भन्दै ३२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । विनियोजित बजेटमध्ये ५ अर्ब रुपैयाँ निकासा दिएको अर्थको भनाइ छ । अर्थले निर्वाचनका लागि बजेट विनियोजन र शीर्षकगत रूपमा मापदण्ड बनाएर कार्यान्वयन गर्ने तयारी गरिरहेको छ ।

“एक साताभित्र मापदण्ड तयार हुन्छ, कुन शीर्षकमा कति बजेट दिने र कसरी खर्च गर्ने भन्ने कुराहरू मापदण्डमा समावेश हुनेछन्,” अर्यालले भने । उनले स्थानीय तहको निर्वाचनका लागि सरकारले २० अर्ब छुट्याए पनि ३० अर्बको बजेट माग भएको जानकारी दिए । उनले भने, “गत वैशाख, जेठ र असोजमा सम्पन्न निर्वाचनका लागि २० अर्ब छुट्याइएकोमा ३० अर्ब बजेट माग भएको थियो, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि ३२ अर्ब छुट्याइएको छ, माग अझै धेरै आउन सक्छ ।”

उनले ठूलो रकम म्यादी प्रहरी र सुरक्षामा खर्च हुने पनि जानकारी दिए । अर्थ मन्त्रालयका अनुसार हालै ३ चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा २० अर्बभन्दा बढी खर्च भएको छ । यस्तै, २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सुरक्षासहित ११ अर्ब १० करोड रुपैयाँ र २०५६ को संसदीय निर्वाचनमा सुरक्षासहित २ अर्ब ७५ करोड रुपैयाँ खर्च भएको थियो । 

तीन महिनामा १ सय ९६ प्रतिशत खर्च 
मंसिर १० र २१ गते दुई चरणमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको तयारी गरिरहेको निर्वाचन आयोगले साउन महिनायता कात्तिक ८ गतेसम्मको अवधिमा चालू बजेट १ अर्ब १६ करोड ८० लाख रुपैयाँ खर्च गरेका छ । यो लक्ष्यकोे १ सय ९६ प्रतिशत हो । सरकारले आयोगलाई चालू आर्थिक वर्षमा चालूतर्फ ५९ करोड ४६ लाख ५५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

आयोगले गत असोज २ गते दुई नम्बर प्रदेशका जिल्लामा स्थानीय तहको निर्वाचन गर्नुपरेको तथा आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको तयारी गर्नुपरेका कारण चालू खर्च लक्ष्यभन्दा ९६ प्रतिशत बढी भएको जनाएको छ । आयोगले पुँजीगत बजेट भने ६ प्रतिशत अर्थात ६५ लाख रुपैयाँ मात्र खर्च गरेको छ । आयोगलाई पुँजीगत बजेट ११ करोड ४४ लाख ५८ हजार रुपैयाँ छुट्याइएको छ । 

बाढीपीडितलाई १० करोड 
पाकिस्तान सरकारले नेपालका बाढी पीडितहरूका लागि १० करोड ३५ लाख रुपैयाँ सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानी राजदूत मजहार जाभेदले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर बाढी पीडितहरूको सहयोगका लागि १० लाख अमेरिकी डलरको चेक  प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेका हुन् ।

गत साउन महिनामा आएको बाढीले तराईका धेरै क्षेत्र डुबानमा पर्दा हजारौं परिवार घरबारविहिन बनेका थिए । बाढी र डुबानका कारण घरबारविहिन बनेका पीडितका लागि पाकिस्तानले १० लाख डलर अनुदानस्वरूप सहयोग गरेको हो । पाकिस्तानले दिएको सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमार्फत खर्च हुने छ ।

प्रतिक्रिया दिनुहोस्