सबै दूरसञ्चार सेवा प्रदायकको गुणस्तर मापदण्ड भन्दा कमजोर

मुलुकका सबै दूरसञ्चार सेवा प्रदायकले प्रदान गर्ने सेवामा निर्धारित मापदण्डभन्दा कमजोर गुणस्तर रहेको पाइएको छ । नियामकीय निकाय नेपाल दूरसञ्चार प्राधिकरणले गरेको स्थलगत परीक्षणको नतिजाअनुसार सबै सेवाप्रदायक कम्पनी गुणस्तरीय सेवा प्रवाह नगरेको पाइएको हो ।
प्राधिकरणले पछिल्लो पटक गत माघ २० गतेदेखि २४ गतेसम्म काठमाडौं उपत्यकाभित्रका ग्वार्को, कोटेश्वर, पुरानो सिनामंगल, नयाँबस्ती, बौद्धलगायतका क्षेत्रमा स्थलगत अध्ययन तथा परीक्षण गरेको थियो । यस्तै, सो अवधिमा चाबहिल, गौशाला, सिफल, हाँडीगाउँ, कपन, धुम्बाराही, भंगाल, हात्तीगौडा र बूढानिलकण्ठ क्षेत्रमा टेलिकम सेवाको परीक्षण गर्दा मुलुकका प्रमुख तीन सेवा प्रदायक कम्पनीको सेवाको गुणस्तर मापदण्डभन्दा कमजोर रहेको पाइएको छ ।
प्राधिकरणले नेपाल टेलिकम, एनसेल र स्मार्ट सेल गरी तीन वटा दूरसञ्चार सेवाप्रदायक कम्पनीको मोबाइल सेवाको परीक्षण गरेको हो । प्राधिकरणका अनुसार परीक्षणमा कल सक्सेस रेट (सफल कलको दर) एनसेलको सबैभन्दा बढी ९३.६९ प्रतिशत रहेको छ भने नेपाल टेलिकमको ८८.७८ र स्मार्ट टेलिकमको २६.३९ प्रतिशत मात्र रहेको छ ।
प्राधिकरणले एक सय ओटा कल गर्दा सफल हुने कल संख्या ९९.९९ प्रतिशत वा सो भन्दा बढी हुनुपर्ने मापदण्ड तोकेको छ । यस्तै, प्राधिकरणले गरेको ड्राइभ टेस्टमा कल सेटअप हुन औसत एनसेलमा ६.३ सेकेण्ड, नेपाल टेलिकममा ६.९७ सेकेन्ड र स्मार्टमा ११.९३ सेकेन्ड लाग्ने गरेको देखिएको छ । जबकि यसरी कल सेटअप हुनलाग्ने समय पाँच सेकेण्ड वा सोभन्दा न्यून हुनुपर्ने मापदण्ड रहेको छ ।
प्राधिकरणका अनुसार केपीआई (कि पर्फर्मेन्स इन्डिकेटर)मा तीनवटै सेवा प्रदायक असफल देखिएका छन् । उनका अनुसार ग्रेड अफ सर्भिस (कल ब्लक रेट) अर्थात प्रयोगकर्ताले कल गर्ने प्रयास गर्दा नेटवर्कले नै अस्वीकार गर्ने दर दुई प्रतिशत वा सोभन्दा कम हुनुपर्छ । तर ड्राइभ टेस्टमा भने एनसेलको ६.३ प्रतिशत, टेलिकमको ११.२१ प्रतिशत र स्मार्टको ७३.६ प्रतिशत पाइएको छ ।
चार वटा केपीआईमा ड्राइभ टेस्ट गरिएको भए पनि बाँकी एउटा सूचक कल ड्रप रेट अर्थात कल बीचैमा काटिने दरमा भने सबै सेवाप्रदायक सफल देखिएका छन् । कल ड्रप रेट दुई प्रतिशत वा सोभन्दा न्यून हुनुपर्ने मापदण्ड रहेकोमा परीक्षणका क्रममा कुनै पनि कल नकाटिएको प्राधिकरणको गुणस्तर परीक्षण प्रतिवेदनमा उल्लेख छ ।
प्राधिकरण व्यवस्थापनले सम्बन्धित सेवाप्रदायलाई प्रतिवेदन अनुसार ड्राइभ टेस्ट गरिएका क्षेत्रहरूमा दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली २०७३ मा तोकिएका गुणस्तर सम्बन्धी मानकहरू सुधार गर्न निर्देशन समेत दिएको छ । अन्य स्थानमा उपलब्ध मोबाइल नेटवर्कको अवस्था फरक हुन सक्ने प्राधिकरणले जनाएको छ ।