वक्ररेखाजस्तो राज्यप्रणालीबाट प्रताडित व्यवसायी «

वक्ररेखाजस्तो राज्यप्रणालीबाट प्रताडित व्यवसायी

नयाँ–नयाँ उद्योगधन्दा खुले र व्यापार–व्यवसाय बढे रोजगारी बढ्छ, उत्पादन बढ्छ, निर्यातले प्रोत्साहन पाउँछ र व्यापारघाटा कम हुन्छ । अनि देशको अर्थतन्त्र सुदृढ र सुरक्षित हुन्छ भनेर आदर्श छाँट्ने विद्वान्हरूको कमी छैन ।

देशमा नयाँ उद्योगधन्दा नखुल्दा र व्यापार–व्यवसाय फस्टाउन नसक्दा बेरोजगारी बढेको, रोजगारीका लागि ठूलो संख्यामा नेपाली युवा बिदेसिएको र देशको अर्थतन्त्र रेमिटेन्समा निर्भर भएको भनेर चिन्ता गर्ने अर्थविद्हरू पनि उत्तिकै छन् । तर, नेपालमा उद्योगधन्दा खोल्ने, व्यापार–व्यवसाय गर्ने काम कति कठिन रहेछ र कति पीडादायी रहेछ भन्ने यथार्थलाई व्यवसायी प्रेमप्रसाद आचार्यको आत्मदाह प्रकरणले पुष्टि गरिदिएको छ । आत्मदाह प्रयासअघि व्यवसायी प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा पोखेको पीडा पढ्ने जोकोहीको आङ सिरिङ्ग मात्रै होइन, जिरिङ्ग नै हुन्छ ।

नेपालमा आफैँले केही गर्छु र स्वावलम्बी बन्छु भन्ने युवाले त्यतिसम्मको हन्डर र पीडा खेप्नुपर्ने रहेछ ! उनको पीडा पढेपछि नेपालमा व्यवसाय गर्छु भनेर सोचेको मान्छेले फेरि अरू सयौँ पटक सोच्नेछ, व्यवसाय गरूँ कि नगरूँ भनेर ।

राज्यले उद्योगधन्दा र व्यापार–व्यवसायलाई नीतिगत प्रोत्साहन दिएको छ भनिन्छ । त्यस्तो प्रोत्साहन दिएको भए व्यवसायी प्रेमप्रसादको हालत यस्तो हुन्थ्यो ! प्रेमप्रसाद हजारौँ व्यवसायीका एउटा प्रतिनिधि पात्र मात्र हुन् । यो देशमा अरूको भर नपरी आफैँ केही गरिखान्छु भन्ने हजारौँ प्रेमप्रसादहरू छन्, जो रातदिन अथक मेहनत गर्छन्, तर पनि तनाव र पीडामा बाँचिरहेका छन्, जसको दोषको भागीदार यो समाज छ र राज्यप्रणाली छ ।

पाइला–पाइलामा हन्डर खानुपर्ने । पाइला–पाइलामा शोषित हुनुपर्ने । पाइला–पाइलामा अपमानित हुनुपर्ने । पाइला–पाइलामा ठगिनुपर्ने । अनि पाइला–पाइलामा धोका खानुपर्ने । ठूलो उत्साह र जोस–जाँगरसहित आफ्नै देशमा आफैँले केही गर्छु, केही बन्छु र केही कमाउँछु भनेर लाग्ने युवालाई हाम्रो समाज, हाम्रो सरकार, हाम्रो राज्य र राज्यको नीतिनियमले कसरी निराशाको गर्तमा चुर्लुम्म डुबाउँदो रहेछ भन्ने ज्वलन्त उदाहरण हुन् प्रेमप्रसाद ।

लाखौँ–करोडौँको ऋणसँगसँगै ठूलो आर्थिक जोखिम र चुनौती बोकेर व्यवसायमा लाग्ने व्यवसायीहरूले भोग्नुपरेको समस्या, तिनले खाएको हन्डर र तिनले खेपेको पीडा सुन्ने हो भने नवप्रवेशी व्यवसायीहरूको सातो नै जाने स्थिति छ । अनि यस्तो स्थितिमा देशमा कसरी खुल्छ नयाँ उद्योगधन्दा ? कसरी बढ्छ व्यापार–व्यवसाय ? कसरी सिर्जना हुन्छ रोजगारीको अवसर ? कसरी बढ्छ आन्तरिक उत्पादन र कसरी पाउँछ निर्यात प्रवर्द्धनले प्रोत्साहन ? समाज र राज्यप्रणालीले नै उद्योगी–व्यवसायीलाई यसरी विभिन्न किसिमले हतोत्साहित गरेपछि अर्थतन्त्रमा निजी क्षेत्रको योगदान कसरी वृद्धि हुन्छ ?

प्रेमप्रसाद आचार्यले आत्मदाह प्रयासअघि सामाजिक सञ्जालमा सार्वजनिक गरेका मार्मिक तर आक्रोशजनित अभिव्यक्तिमा राज्यप्रणालीको वास्तविक तस्बिर उदाङ्गिएको छ । प्रेमप्रसादजस्तै अरू हजारौँ उद्योगी–व्यवसायीले त्यस्तै समस्या भोगिरहेका छन् । समस्या सहजीकरणका नाउँमा राज्यले नै दलालीकरणलाई प्रोत्साहित गर्दै आएको छ । जताततै दलालहरूको बिगबिगी छ । राज्यपोषित दलाल र दलालपोषित नेताहरूको साँठगाँठले गर्दा देशको नीति र ऐनकानुन नै निकम्मा साबित भएका छन् ।

दलाल र बिचौलिया नै राज्यप्रणालीमाथि हाबी छन् । देश बिचौलिया र दलालबाट चलेको पुष्टि भएको छ । त्यही खराब प्रवृत्तिको परिणति हो, प्रेमप्रसादको दुःखान्त । प्रेमप्रसादको आत्मदाहले देशको अनुहारमा कालो पोतिएको छ । अनि राज्यका विभिन्न तह, पेसा र व्यवसायमा रहेका व्यक्तिहरूको चरित्र, आचरण र व्यवहारमाथि प्रश्न पनि खडा गरेको छ । ती प्रश्नहरूमा देशको वर्तमान अनुहार छर्लङ्ग भएको छ ।

प्रेमप्रसादको आत्मदाह प्रकरणले व्यवसायी–व्यवसायीबीचको असमझदारी र असहयोगी व्यवहार पनि सतहमा आएको छ । प्रेमप्रसादले आफूलाई धोका दिने ठूला व्यवसायीहरूको फेहरिस्त नै दिएका छन् । अनेक बहानामा साना व्यवसायीलाई शोषण गर्ने वा धोका दिने ठूला व्यवसायीहरूको प्रवृत्तिलाई सतहमा उतारिदिएका छन् । सीमित व्यावसायिक घरानामात्रै व्यवसायको क्षेत्रमा हाबी भइरहनुको कारण यस्तै असझदारी र असहयोगी व्यवहार अनि साना वा नवप्रवेशी व्यवसायीलाई शोषण गर्ने प्रवृत्ति मुख्य कारणको रूपमा रहेको तथ्यलाई प्रेमप्रसादले सामाजिक सञ्जालमा पोखेको पीडाले उजागर गरिदिएको छ ।

प्रेमप्रसादको पीडाले साना व्यवसायीलाई शोषण गर्ने, धोका दिने, बेइमानी गर्ने र ठगी गर्ने ठूला व्यवसायीहरूको खराब प्रवृत्तिको पर्दाफास त गरेकै छ, साथसाथै समस्यामा परेकालाई साथ र सहयोग नदिने अकर्मण्य राज्यको पनि पर्दाफास गरेको छ । अनि राष्ट्रसेवकको बिल्ला भिरेर भ्रष्टाचारमा चुर्लुम्म डुबेको नेपालको गैरजिम्मेवार कर्मचारीतन्त्रको पनि पर्दाफास गरेको छ । हरेक खराब कुराको दोष नेतालाई लगाउने गरिएको छ ।

वास्तवमा नेता होइन, सबैभन्दा खराब त यो देशको कर्मचारीतन्त्र हो । नेतालाई खराब बन्न उक्साउने पनि राष्ट्रसेवक भनिएका कर्मचारी नै हुन् । नेतालाई भ्रष्टाचार गर्न सिकाउने पनि कर्मचारी नै हुन् । त्यसैले सबैभन्दा पहिलो आवश्यकता यो देशका राष्ट्रसेवक कर्मचारीको भ्रष्टाचारी मनोवृत्तिमा सुधार हो । कर्मचारीको भ्रष्टाचारी मनोवृत्तिमा सुधार भए कर्मचारी र नेताबीचको साँठगाँठ पनि तोडिन्छ र भ्रष्टाचारमा कमी आउँछ ।

प्रेमप्रसादको आत्मदाह प्रकरणले अरू धेरै कुराप्रति पनि इङ्गित गरेको छ । जस्तैः मध्यम व्यवसायीहरूमा बढ्दै गएको आर्थिक संकट, राज्यको नीतिकै कारण नेता, ठूला व्यवसायी र कर्मचारीले नीतिगत भ्रष्टाचार गर्ने अवसर पाइरहेको आदि । यसैगरी नीगितगत सहजीकरण, परामर्श सेवा र सुविधा आदिका नाममा खुलेका सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको घृणित र कुरूप अनुहार पनि उदाङ्गिएको छ । सफल व्यवसायीका आत्मकथामा रमाउने पाठकका लागि असफल व्यवसायीको आत्मकथा बन्न पुगेको छ, प्रेमप्रसादले सामाजिक सञ्जालमा पोखेको पीडा ।

शिक्षित र दक्ष युवा स्वावलम्बी बन्ने प्रयासमा छन् । आफू स्वरोजगार भई अरूलाई समेत रोजगारी दिने योजनामा धेरै शिक्षित र दक्ष युवा छन् । तर, राज्यको बेवास्ता र असहयोगले स्वावलम्बी बन्न चाहने आमयुवाले प्रेमप्रसादले जस्तै चरम निराशा भोग्नुपरेको छ । त्यही चरम निराशाको प्रतिविम्ब प्रेमप्रसादको आत्मदाहमा झल्किएको छ ।

पटक–पटक राजनीतिक व्यवस्था फेरिए पनि नागरिकको अवस्था फेरिन नसक्नुको परिणाम पनि हो, प्रेमप्रसादको आत्मदाह प्रकरण । पटक–पटक राजनीतिक व्यवस्था फेरियो । शासनपद्धति पनि फेरियो । तर शासनपद्धतिका नायकहरू फेरिएनन् । नायकहरूका खलनायकीपना पनि फेरिएन । जसको परिणामस्वरूप पटक–पटक व्यवस्था फेरिए पनि जनताको अवस्था फेरिएन । आशा, भरोसा र विश्वासमा बाँचेका जनतामा निराशा मात्रै छाइरह्यो । धेरै जनताले राज्यको उपस्थिति पनि अनुभूति गर्न पाएका छैनन् । जनताको पीर, मर्का र समस्या समाधानमा सरकारको भूमिका नै देखिएन । सरकारको लाचारी, अकर्मण्यता र निकम्मापनको पर्दाफास प्रेमप्रसादको आत्मदाहले गरिदिएको छ ।

प्रेमप्रसादले सबैबाट र सबैतिरबाट निराश भएर जीवनलाई समाप्त पार्ने निर्णय गरे । तर, यो प्रेमप्रसादको मात्रै निराशा होइन, स्वदेशमै केही गर्छु, केही बन्छु र केही कमाउँछु भन्ने स्वावलम्बी सोच भएका आमयुवाको निराशा हो । त्यही निराशाले जन्माएको राज्यविरुद्धको एउटा प्रतीकात्मक विद्रोह पनि हो । युवाको मनमा राज्यविरुद्ध विद्रोहको भावना बढ्दै गएको छ ।

परिस्थितिमा परिवर्तन आएन र यही परिस्थिति कायम रहिरह्यो भने अरू धेरै प्रेमप्रसादहरू प्रकट हुनेछन् र राज्यको अनुहारमा अरू धेरै कालो पोतिनेछ । किनभने प्रेमप्रसादले आत्मदाहअघि सामाजिक सञ्जालमा पोखेको पीडा सुसाइड नोट हुँदै होइन । त्यो त विद्रोहको झिल्को हो । त्यो उनको कुण्ठा मात्रै पनि होइन, राज्यको आफ्ना नागरिकप्रतिको उदासनीताप्रतिको आक्रोश हो र यो देशको वर्तमान यथार्थ पनि हो ।

समग्रमा राज्यप्रणालीकै दुरुत्साहनले युवा व्यवसायी प्रेमप्रसाद आत्मदाह गर्न बाध्य भएका हुन् । हाम्रो राज्यप्रणाली सरल रेखाजस्तो होइन, वक्ररेखाजस्तो छ । नयाँ पूर्व–पश्चिम राजमार्गजस्तो सीधा हुनुपर्नेमा पुरानो बाइरोडको बाटोजस्तो घुमाउरो छ हाम्रो राज्यप्रणाली, जहाँ घुम्ती नै घुम्ती छन्, सात घुम्ती अथवा नौ घुम्ती । सेवाग्राहीले घुम्तीहरूमा रिँगटा लाग्ने गरी फनफनी घुम्नुपर्छ र हरेक घुम्तीमा अनेक हन्डर खानुपर्छ । हरेक घुम्तीमा मुख आँ गरेर बस्ने कर्मचारीलाई सन्तुष्ट पार्नुपर्छ । अनि मात्रै सहज सेवा पाउन सक्छन् ।

अन्यथा ती घुम्तीहरूमा घुमेको घुम्यै गर्नुपर्छ र अन्त्यमा हार मानेर व्यापार–व्यवसाय गर्ने आफ्नो सोच नै बदल्नुपर्छ । यसरी राज्यप्रणालीले नै स्वरोजगार बनेर, व्यापार–व्यवसाय गरेर स्वावलम्बी जीवन जिउने र देशको अर्थतन्त्रमा समेत योगदान गर्ने हुटहुटीले व्यवसायमा प्रवेश गर्ने युवालाई अन्ततः आत्महत्या नै गर्न बाध्य पार्ने राज्यप्रणाली भएको अवस्थामा कसरी उद्योग–धन्दा र व्यापार–व्यवसाय विस्तारको अपेक्षा गर्न सकिन्छ ? अहिलेको गम्भीर प्रश्न हो यो ।

प्रतिक्रिया दिनुहोस्