पृथ्वीको प्राणी होइन मानव «

पृथ्वीको प्राणी होइन मानव

पृथ्वीको हावापानी, भूगोल, परिस्थिति र खाद्यान्नको उपलब्धता जस्तो छ, जीवजन्तुले आफूलाई त्यसैअनुकूल ढाल्छन् ।

पृथ्वीमा मानवको अनुपस्थितिले पृथ्वीलाई अझ सहज हुनु, मानव आफैंलाई पृथ्वीमा बाँच्न कठिन हुनु, मानवले अन्तरिक्षबारे सोच्न सक्नु, अरू प्राणीको तुलनामा देखिने इन्द्रिय कमजोर हुनु, नदेखिने इन्द्रिय शक्तिशाली भए पनि प्रायः निष्क्रिय हुनुजस्ता गुणले मानव पृथ्वीको उत्पत्ति होइन भन्ने कुरालाई बल पु-याउँछ ।

पृथ्वीमा उडनतस्तरी (एलियन) का अपुष्ट घटना सुनिन्छ । पृथ्वीको सर्वोत्कृष्ट प्राणी मानिने मानव जाति नै पाहुना प्राणी हो, अर्थात् यहाँको उत्पत्ति होइन भन्ने प्रसंग खासै सुनिँदैन । यस लेखमा हामी मानवको उत्पत्ति पृथ्वीमा भएको होइन भन्ने तर्कबारे विवचेना गरिएको छ ।
पृथ्वीमा जीवको उत्पत्ति र विकासबारे अहिलेसम्म सबैभन्दा भरपर्दो र विश्वासिलो सिद्धान्त प्रकृतिविद् चाल्र्स रोबर्ट डार्बिनको प्राकृतिक छनोटद्वारा विकासको सिद्धान्त हो । डार्बिन (१८०९ देखि १८८२) ले विभिन्न टापू र समुद्रका जीवजन्तु र वनस्पतिको स्थलगत अध्ययन गरी सन् १९५९ मा ‘अन द ओरिजिन अफ स्पाइसिज’ नामक पुस्तक लेखे ।
डार्बिनले ठाउँअनुसार जीव र वनस्पतिको आकार, स्वभाव, आहारविहारमा भिन्नता पाए । जस्तो कि एउटै जातिको चराको ठुँड कहीं लामो र कहीं छोटो हुन्छ । डार्बिनका अनुसार जीवमा विविधता पाइन्छ, जसका कारण उनीहरूको जिउने क्षमतामा पनि थोरै धेरै अन्तर हुन्छ । कोही कम बाँच्छ, कोही धेरै । कसैको थोरै सन्तान हुन्छ, कसैको धेरै ।
विश्वमा प्रजातिको रचना एकैपटक भएको होइन, पहिलेका प्रजातिबाट बिस्तारै–बिस्तारै भएको हो । विविध जीवको उत्पत्ति एक समान पूर्वजबाट भएको हो । एउटै स्थानको जीवमा पनि केही समानता र केही विविधता हुन्छन्, जुन एक पुस्ताबाट अर्कोमा सर्छ । त्यस्तै, हरेक प्राणीमा विविधताको अस्तित्व बचाउन खास विशेषता हुन्छ । नयाँ पुस्तामा क्रमशः केही फरक हुन्छ र नयाँ प्रजातिको रूप लिन्छ ।
जीवजन्तुको शरीरमा रहेका अंगहरूको जति उपयोग हुन्छ, त्यति विकास हुन्छ र प्रयोग नहुने अंग क्रमशः विलुप्त हुन्छ । भुइँमा घाँस पाइन छोडेपछि जिराफको घाँटी लामो हुँदै गएको डार्बिनको मान्यता छ । पृथ्वीको हावापानी, भूगोल, परिस्थिति र खाद्यान्नको उपलब्धता जस्तो छ, जीवजन्तुले आफूलाई त्यसैअनुकूल ढाल्छन् । यदि अनुकूल ढाल्न सकेनन् भने लोप भएर जान्छन् । डायनोसर पृथ्वीबाट अनुकूलन हुन नसकी लोप भएको हो ।
चाल्र्स डार्बिनको सिद्धान्त आम पृथ्वीका प्राणीका लागि विश्वासिलो देखिन्छ । त्योभन्दा वैज्ञानिक र विश्वासिलो अर्को सिद्धान्त आएको पनि छैन । तर, मानव जातिको सम्बन्धमा भने डार्बिनको सिद्धान्त लागू नहुने धेरै कारण भेटिन्छन् । पृथ्वीमा मानवबाहेक सबै प्राणीमा महŒवपूर्ण अन्तरसम्बन्ध र समानता छन् । मानवमा अरू सबै प्राणीमा भन्दा भिन्न प्राकृतिक गुण पाइन्छ ।
पृथ्वीमा रहेका सम्पूर्ण वनस्पति, जीवजन्तु र अजैविक वस्तुबीचको अन्तरसम्बन्धबाट पारिस्थितिक प्रणाली (इको सिस्टम) बनेको छ । पृथ्वीबाट कुनै एक प्राणी मानौं झिंगा, माहुरी, सर्प, हरिण कुनै पनि लोप हुने हो भने इको सिस्टममा खलल पर्छ । तर, ७ अर्बको संख्यामा रहेको मानव जाति लोप हुँदा पृथ्वीमा कुनै नकारात्मक असर पर्दैन । पृथ्वीको पारिस्थितिक प्रणाली अझ सहज र प्राकृतिक हुन्छ ।
पृथ्वीका सबै प्राणीमा यहाँको प्राकृतिक विपद्सँग सामना गर्ने गुण हुन्छ । उनीहरूले भूकम्पको पूर्व आभास पाउँछन् । जमिनमा बस्ने गाई, भैंसी, कुकुर, छेपारो सबै जन्मजात पानीमा तैरिन सक्छन् । सबै प्राणीले प्राकृतिक विषालु चिज सँुुघेर थाहा पाउँछन् र सेवन गर्दैनन् । कुनै तरिकाले हानिकारक चिज पेटमा प-यो भने बान्ता गर्न मांसहारी जनावरले पनि जन्मजात ज्ञानका आधारमा जडीबुटी (वनस्पति) सेवन गर्दछ । अरू प्राणीको तुलनामा मानिसका इन्द्रियहरू छालाका सेन्सर, नाक, कान, आँखा र जिब्रो सबै कमजोर छन् ।
मानवको पुर्खा बाँदर भनिन्छ । उपयोग नहुने अंग लुप्त हुने र उपयोग हुने विकास हुँदै जाने सिद्धान्तअनुसार मानवको पुच्छर लुप्त नहुनुपर्ने हो । मानिस अहिले पनि रूखमा चढ्नुपर्छ । मानिसका लागि केही सय वा हजार वर्षअघिसम्म त रूख चढ्नु अनिवार्य नै थियो । रूख चढ्न पुच्छर अत्यन्तै उपयोगी हुन्छ । इन्द्रिय कमजोर होइन, झन बलियो हुँदै जानुपर्ने हो किनकि तिनको आवश्यकता र उपयोगिता कम भएको छैन ।
सबै प्राणीले देखेका र भोगेका स्थान र घटनाबारे मात्र सोच्न, स्मरण गर्न र विश्लेषण गर्न सक्छन् । तर, मानिसले अन्तरिक्ष र ब्रह्माण्डका बारेमा सोच्न सक्छ । सबै प्राणीले मस्तिष्कको पूरा प्रयोग गर्छन् । मानिसको मस्तिष्कको १ प्रतिशत पनि प्रयोग हुँदैन भन्छन् वैज्ञानिकहरू । उपयोग नहुने चिज लुप्त हुँदै जानुपर्ने डार्बिनको सिद्धान्त यहाँ मेल खाँदैन । ९९ प्रतिशत प्रयोग नहुने मस्तिष्क कसरी अस्तित्वमा रहिरहेको छ ?
मानिसले योग, ध्यान, साधना वा तपस्याबाट मस्तिष्कको प्रयोग बढाउँदा दृव्य दृष्टि प्राप्त गर्न, निराहार लामो समय बाँच्न, हाइबरनेसन हुन, अद्भुत शक्ति र ज्ञान प्राप्त गर्न सक्छ भन्ने सुनिन्छ । सबै प्राणीमा आफ्नो प्रजातिमा सबैको आयु प्रायः बराबर हुन्छ । तर, सामान्य मानवको आयु १ सय वर्ष हुनेमा योग साधनाबाट १ हजार वर्ष बाँच्न सकिन्छ भन्ने उल्लेख भएको पाइन्छ । मानव जातिलाई मात्र आफ्नो क्षमताको पूर्ण उपयोग गर्न पृथ्वीमा किन कठिन हुन्छ ?
सन्तान जन्माउँदा सबै प्राणीलाई पीडा त हुन्छ, तर सन्तानको टाउको ठूलो भएका कारण जन्म दिन नसकेर अरू प्राणी मर्नेसम्मको घटना हुँदैन । अरू प्राणीको तुलनामा मानिसलाई बच्चा जन्माउन किन बढी कठिन हुन्छ ? पृथ्वीमा मानवको गर्भमा शिशुको टाउको अस्वाभाविक वृद्धि भएको हुन सक्छ । त्यस्तै, अरू प्राणीमा पोथी जातिले सन्तान जन्माउनका लागि मात्र यौन चाहना राख्छन् तर मानवमा सामान्यतया हरसमय यौनचाहना किन हुन्छ ?
पृथ्वीको सबै भूभागका मानिसहरूमा भूतका बारेमा चर्चा हुन्छ । तर, भूतबारे कुनै ठोस प्रमाण पत्ता लागेको छैन । यसको अर्थ मानव जुन ग्रहबाट आए, त्यहाँ भूत हुन्थ्यो । त्यसैले पृथ्वीमा आएको पुस्तामा त्यस्तै भएको भ्रमपूर्ण अनुभूति भयो र दोस्रो पुस्तामा विश्वास सर्दै गएको हुन सक्छ ।
यसरी मानिसमा भएका विशेषता हेर्दा कुनै कालखण्डमा मानिस अन्तरिक्षबाट आएको पाहुना प्राणी हुन सक्ने अनुमान गर्न सकिन्छ । पृथ्वीमा मानवको अनुपस्थितिले पृथ्वीलाई अझ सहज हुनु, मानव आफैंलाई पृथ्वीमा बाँच्न कठिन हुनु, मानवले अन्तरिक्षबारे सोच्न सक्नु, अरू प्राणीको तुलनामा देखिने इन्द्रिय कमजोर हुनु, नदेखिने इन्द्रिय शक्तिशाली भए पनि प्रायः निष्क्रिय हुनुजस्ता गुणले मानव पृथ्वीको उत्पत्ति होइन भन्ने कुरालाई बल पु-याउँछ ।

प्रतिक्रिया दिनुहोस्