कालिञ्चोकको प्राकृतिक आकर्षणमा अतिक्रमण

आन्तरिक पर्यटकको रोजाइमा कालिञ्चोक पर्न थालेपछि आजभोलि कालिञ्चोकमा पर्यटकहरू बढ्न थालेका छन् । धार्मिक तथा प्राकृतिक मनोरम दृश्यावलोकनका लागि कालिञ्चोक पर्यटकको रोजाइमा पर्न थालेको हो ।
काठामाडौंबाट १३० किलोमिटर पूर्वमा रहेको दोलखा सदरमुकाम चरिकोट पुगेपछि ५ किलोमिटर कालोपत्रे सडक र १२ किलोमिटर कच्चि सडकको यात्रापछि कुरी पुगिन्छ । कुरीमा बस्ने होटल र खाना नास्ताका पसल पुगिन्छ । राजधानीको नजिकको दूरीमा रहेको आकर्षक धार्मिक तथा प्राकृतिकस्थल कालिञ्चोकमा जति मनोमोहक छ त्यति नै समस्या पनि छ ।
पर्यटकहरूकै सेवाका लागि खुलेका होटल ६० भन्दा बढी छन् । केबलकार पनि सञ्चालनमा छ । तर त्यही कालिञ्चोक पछिल्लो समय कालिञ्चोक व्यवस्थापनको चिन्ता बढ्दै गएको छ । सुरुमा कुरी क्षेत्रमा मात्र रहेका होटलहरू घ्याङडाँडासहित माथिल्ला डाँडामा समेत खुल्दै गएका छन् । खुल्ला ठाउँमा स्थानीयले आफ्नो घरेडीभन्दै कब्जा गर्दै जाने क्रम बढेपछि कालिञ्चोक व्यवस्थापनको चिन्ता बढेको छ ।
सार्वजनिक जग्गा कालिञ्चोकमा पहुँचका भरमा जग्गा कब्जा हुँदै जान थालेपछि जग्गामा समेत गुठी, गाउँपालिकाको जग्गा कस्को भन्ने विवाद बढ्दै गएको छ । यसले सडक, खानेपानी, विद्युतजस्ता पूर्वाधार विकासमा समेत कसले पहल गर्ने र कसले गर्ने भन्ने विवाद छ । यसले स्थानीय तहले समेत थप लगानी गर्न सकेको छैन ।
जग्गा विवाद भएपछि कालिञ्चोक केबलकारले गुठी संस्थानसँग भाडा सम्झौता गरेर जग्गा भाडामा लिएको छ । पाँच वर्षअघि नै ४० वटा होटलधनीले पनि प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला स्तरीय गुठी समिति बनाएर जग्गा भाडामा दियो । जग्गामा वनले अहिले पनि दाबी गर्दै आएको छ । कुरीबाहेक अन्यत्र पनि आफूखुसी उत्तिकै होटल खुलेका छन् ।
कतिपय ठाउँमा आफ्नो घरेडी भन्दै प्राकृतिक जग्गा बिगारेर स्थानीयले जग्गा कब्जा गर्दै पनि आएका छन् । जग्गा विवादकै कारण स्थानीय होटलले पनि भाडा तिर्न छाडेका छन् । प्रमुख जिल्ला अधिकारी नेतृत्वको गुठी समितिले पनि मन्दिरको भेटी ठेक्का लगाउने र मन्दिरमा पुजारी नियुक्तिबाहेक केही गर्न सकेको छैन ।
कालिञ्चोक क्षेत्र व्यवस्थापन गर्नुपर्छ भन्नेमा स्थानीय पनि सहमत छन् । मन्दिर क्षेत्रको फोहोर व्यवस्थापन र मन्दिर क्षेत्र नजिक व्यापार गर्नेहरु पनि स्थानीय तहले जग्गाको स्थायी व्यवस्थापन गर्दा आफूहरूलाई पनि सहज हुने भनाइ छ । तर उनीहरूले सार्वजनिक जग्गा कसको भन्ने सरकारले चाँडै टुंगो लगाउनु पर्ने र जग्गा भाडा दर एकरुपता हुनुपर्ने माग छ ।
तीन हजार ८४२ मिटर अग्लो टाकुरामा मन्दिर छ । मन्दिरबाट वरपर नुम्बुर, गौरीशंकर हिमालसहित रोल्वालिङ हिमश्रृंखला, गौरापर्वत, जुगल हिमालसहित हिमश्रृंखला देखिन्छ । यसले मन्दिर दर्शनसँगै हिउँदमा हिउँ खेल्न र मनोरम आनन्द लिन सहज हुन्छन् । सिजनका बेला दैनिक १० हजार बढी पर्यटक आउँछन् । यहाँ आउनेहरू खुसी हुन्छन् ।
सडक पूर्वाधारसँगै धार्मिक तथा प्राकृतिक रूपमा आकर्षक रहेको कालिञ्चोक जस्ता सार्वजनिक स्थान कुरुप हुँदै गएका छन् । यसमा पहुँचका भरमा प्राकृतिक सौन्दर्य बिगार्नुभन्दा सार्वजनिक जग्गा व्यवस्थापन गरी कुरुप हुनबाट जोगाउन र कालिञ्चोक पुग्ने पर्यटकको सुविधाका लागि सडक, पानी, विद्युतको भरपर्दो व्यवस्थापन गर्नसमेत जरुरी देखिन्छ ।