वेस्टर्न अस्पतालमा अत्याधुनिक सुविधासहितको आईसीयू सेवा सुरु «

वेस्टर्न अस्पतालमा अत्याधुनिक सुविधासहितको आईसीयू सेवा सुरु

पश्चिम नेपालमा दुई दशकदेखि सेवा दिँदै आएको वेस्टर्न अस्पतालले पाँँच करोड लगानी वृद्धि गरी विभिन्न उपकरण र पूर्वाधार विस्तार गरेको छ । अस्पतालले सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन आठ बेडको लेभल तीन आईसीयू सेवा सुरु गरेको जनाएको हो ।

वेस्टर्न अस्पतालका प्रबन्ध निर्देशक डा. राहुल थापाका अनुसार सिकिस्त बिरामीको उपचार सेवालाई प्रभावकारी बनाउने उद्देश्यले काठमाडौं बाहिर नेपालगन्जमा पहिलो पटक अत्याधुनिक सुविधासहितको लेभल तीन आईसीयू सेवा सुरु भएको हो । “सेवा सुरु भएसँगै गम्भीर प्रकृतिका विरामीले आईसीयू सेवा नपाएर नेपालगन्ज बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ,” उनले भने ।

अस्पतालमा आईसीयूमै डाइलासिस सुविधासहित अत्याधुनिक उपकरणका साथमा ६ वटा भेन्टिलेर रहेको र ६ बेडको एचडीयू सेवा पनि सुचारु गरिएको जनाएको छ । “केही दिनमै ६ बेडको एनआईसीयू पनि सञ्चालन गर्ने तयारी गरिरहेका छौं,” अस्पताललाई ‘स्पेसलाइजेसन गर्दै अगाडि बढाएको’ जानकारी दिँंदै वेस्टर्नका प्रबन्ध निर्देशक डा. थापाले भने ।

“हाम्रो टिमले सिकिस्त बिरामीलाई आईसीयूमा भर्ना गर्नासाथ एक/एक जना तालिम प्राप्त डेडिकेटेड नर्सका साथै २४ सै घण्टा क्रिटिकल केयर कन्सल्टेन्ट डाक्टरको निगरानी व्यवस्था मिलाएका हुन्छौं,” टिम लिडर डा. थापाले भने, “निजी अस्पतालमा यो सेवा राजधानी काठमाडौं बाहिर सम्भवतः पहिलो हो ।” उनले अत्याधुनिक उपकरण, विशेषज्ञ डाक्टर र दक्ष स्टाफ नर्ससहितको टिम बनाएर वेस्टर्न अस्पतालबाट काठमाडाैं वा लखनउ सरहको स्वास्थ्य सेवा प्रवाहका लागि निरन्तर लागिपरेको बताए ।

“यो त्यसको प्रतिफल हो,” उनले भने । शुलभ सेवाशुल्कमा प्रदान गरिने यो स्वास्थ्योपचारले राजधानी काठमाडौं वा भारतीय सहर पुगेर महँंगो स्वाथ्योपचार गर्न बाध्य पश्चिम नेपालका नागरिकका लागि राहतको अपेक्षा गरेका अस्पतालका प्रवन्ध निर्देशक डा. थापा भन्छन्, “छिट्टै न्यूरो सर्जरी, बालरोग, मानसिक उपचार र डायलासिस सेवा पनि सुरु गर्दैछौं ।”

प्रवन्ध निर्देशक डा. थापाका अनुसार, अस्पतालको क्रिटिकल केयर विभागमा डा. पारस पाण्डे, मेडिसिन विभागमा कन्सल्टेन्ट फिजिसियन डा. मधु अर्यालसहितका चिकित्सक र नर्सिङ स्टाफको टिम गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि अहोरात्र परिचालित छ । अर्थाेपेडिक, ट्रमा, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, नाक कान घाँटी, जनरल मेडिसिन, म्याक्जिलो फेसियल सर्जरी र युरोलोजीसम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको वेस्टर्नले आफूलाई विशिष्टिकृत सेवातिर स्तरोन्नति गरिरहेको जनाएको छ ।

“बिरामीको स्वास्थ्य सूचकका बारेमा जानकारी दिन डब्लूएचओ प्रोटोकल अनुसार हेल्थ इन्डिकेटर इन्फरमेसन सिस्टम मिलाइएको छ,” कस्ता बिरामीलाई आईसीयूमा राख्ने भन्नेबारे डा. थापाले भने, “आईसीयूमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थाहरुबाट उच्च शिक्षा र तालिम प्राप्त अनुभवी चिकित्सक र नर्सहरु सेवारत हुनेछन् ।

उपचार सेवालाई थप प्रभावकारी बनाउन टिचिङ, ह्याम्स, ग्राण्डीजस्ता सुविधा सम्पन्न अस्पतालका आईसीयू विभागमा लामो समय काम गरेका विशेषज्ञ चिकित्सक र नर्सिङ स्टाफसँग सहकार्य गरी गुणस्तरीय सेवा उपलब्ध गराउने अस्पतालले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्