एल.डी.सी. विज्ञ समूहको अध्यक्षमा शर्मा «

एल.डी.सी. विज्ञ समूहको अध्यक्षमा शर्मा

अति कम विकसित देश (एल.डी.सी.) हरुको विज्ञ समूह (लेग) को ३३ औं पूर्ण बैठकले नेपालको जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जलवायु वित्त ब्यवस्थापन शाखाका प्रमुख एवम् उप–सचिव नरेश शर्मालाई अध्यक्षको रुपमा चयन गरेको छ । अफ्रिकाको सावो तोमे एण्ड प्रिन्सेपमा मंगलवारदेखी शुरु भएको जलवायु परिवर्तन सम्बन्धी महासन्धि अन्तर्गत सन् २००१ मा स्थापित शर्माले उक्त विज्ञ समूहमा एशियाका अति कम विकसित देशहरुको तर्फबाट प्रतिनिधित्व गरेका हुन् ।

जलवायु परिवर्तन सम्बन्धी महासन्धिको पक्ष राष्ट्रहरुको निर्णय बमोजिम लेगले विश्वभरका ४८ एल.डी.सी.हरुलाई जलवायु अनुकूलन तथा एल.डी.सी.कार्र्य योजनाको कार्यान्वयनमा सहयोग गर्छ । विगतमा राष्ट्रिय अनुकूलन कार्यक्रम (नापा) को तर्जुमा र कार्यान्वयनमा प्राविधिक सहयोग गर्दै आएको लेगले हालका वर्षहरुमा राष्ट्रिय अनुकूलन योजना (न्याप) तर्जुमामा सहयोग गरिहेको छ । यसको अतिरिक्त लेगले आप्mनै वार्षिक वा दुई वर्षे कार्यक्रम कार्यान्वयन समेत गर्दछ ।

सन् २०१४ र २०१५ मा लेगमा एशिया क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेपालका श्री बटु कृष्ण उप्रेतीले अध्यक्षको रुपमा कार्य गर्नु भएको थियो । जलवायु परिवर्तन सम्बन्धी महासन्धिको कार्यान्वयनका क्रममा विशेषत जलवायु अनुकूलनका क्षेत्रमा नेपालमा भएका विविध कार्यहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल परिचित भइसकेको छ । नेपालले तयार गरेको नापा र यसको कार्यान्वयन तथा तयार गर्दै रहेको न्यापको मौलिकतालाई समेत जलवायु अनुकूलनमा कार्यरत देश, संस्था तथा अनुकूलन समुदायले विशेष चासोको रुपमा हेरिरहेको छ । शर्माले सन् २०१६ र २०१७ मा लेगको सदस्यको रुपमा कार्यरत रही लेगका क्रियाकलापलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका समेत खेलेका थिए । उनले सन् २०१६ मा ४८ एल.डी.सी.हरुको तर्फबाट प्रतिनिधित्व गर्दै क्योटो अभिसन्धि अन्तर्गतको अनुकूलन कोषको अध्यक्षको कार्यभार समेत निर्वाह गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्