आल्चालाई बजार अभाव «

आल्चालाई बजार अभाव

बाराहा (उदयपुर)-उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नं. ३ वाराहा मिसुङटारमा यतिबेला प्रायः सबैको घर, आगन, करेसावारीमा पाकेका आल्चा भेटिन्छन् । बजारमा राम्रो मूल्यमा बिक्री हुने हजारौं मूल्यको आल्चा त्यतिकै आँगन र बारीभरी छरिँदा त्यहाँ पुग्ने जो कोही पनि चिन्तित हुन्छन् । यति राम्रो आल्चा किन सदुपयोग भएन ? धेरैले किसानसँग प्रश्न पनि गर्छन् । तर, किसानको समस्या अर्कै छ ।
विगत दुई दशक यता आल्चा खेती गर्दै आएका स्थानीय बजार नपाउँदा बर्सेनि हजारौं रूपैयाँ बराबरको आल्चा त्यसै खेर फाल्न बाध्य छन् । आल्चा बिक्रीका लागि नजिकै बजार नहुँदा उनीहरूको मेहनेत खेर गइरहेको हो । बिक्रीका लागि झन्डै ६० किलोमिटर पश्चिम मुर्कुची र ८५ किलोमिटर सदरमुकाम गाईघाट बजार ल्याउनुपर्ने बाध्यता भएपछि किसान मारमा परेका हुन् ।
“प्रतिव्यक्ति ७ सय रूपैयाँ भाँडा तिरेर गाईघाटसम्मको यात्रा गर्ने हामीलाई गाउँमा उत्पादित फलफूल बजार पु¥याएर बिक्री गर्ने सामथ्र्य छैन्” स्थानीय अप्सरा सुवेदीले भनिन्, “त्यसैले बारीमा कुहिएरै नष्ट हुन्छ ।” महंगो बस भाडा तिरेर आल्चा बिक्री गर्न लैजाँदा आम्दानी भन्दा खर्च बढी हुने उनले बताइन् ।
गाउँपालिकाले किसानको सहजताका लागि सहुलियतमा गाडी उपलब्ध गराइदिए मात्रै उनीहरूबाट उत्पादित बस्तु बजारसम्म पु¥याउन सकिने स्थानीय उत्तम खत्रीले बताए । “जताततै आल्चा पाकेर भुईंमा खसेका कारण गाउँमा दुर्गन्ध मात्रै भएको छ,” उनले भने, “गाउँपालिकाले बजार व्यवस्थापन मिलाएन भने अर्को साल सवै रुख काटिदिन्छु ।” आफ्ना २२ वटा रुखमा आल्चा फले पनि बिक्री गरेर एक रूपैयाँ लिन नसकेको उनले बताए ।
“भुईमा कुहेर नष्ट भएको छ” राजन खत्रीले भने, “गाउँमा आउने मानिसले भने इच्छा अनुसार सित्तैमा खान पाएका छन् ।” एउटा बोटमा ५ सय केजीसम्म आल्चा फल्ने उनले बताए । जेठ महिना सुरु हुनासाथ फल दिन थाल्ने आल्चा जेठ मसान्तसम्ममा पाकि सक्ने गाउँलेहरू बताउँछन् । मिसुङटारमा मात्रै ३ दर्जन घरपरिवारले व्यावसायिकरूपमै आल्चा खेती गरेको भए पनि बजार अभावका कारण कसैले पनि लाभ लिन नसकेको स्थानीय रत्न कार्कीको भनाइ छ । लिम्चुङबुङको मिसुङटारमा मात्र होइन, ताम्लिछा र बँस्बोटेका साथै छिमेकी ताप्लि गाउँपालिकाको इनामे, लेखगाउ र रौतामाइ गाउँपालिकाको माझखर्क, भुट्टार, पोखरी, डहर, आपटारलगायतका क्षेत्रमा आल्चा खेती हुने गरेको उनले बताए ।
जिल्लाका विकट क्षेत्रमा पर्ने यी ठाउँमा यातायातका साधन मुस्किलले पुग्ने भए पनि भाडादर उच्च छ । बजारसमेत सर्वसाधारणको पहुँचमा नभएकाले उत्पादित फलफूल गाउँमै कुहिने गर्छन् । कतिपय फलफूल तथा तरकारी बाटो हिँड्ने बटुवा र पाहुनाले खाएर नसकेपछि गाईवस्तुलाई खोले पकाएर दिने गरेको समेत स्थानीय बताए ।
गाउँमा उत्पादित बस्तु बजारीकरणका लागि तत्काल सोच नभए पनि आगामी वर्ष केही योजना निर्माण गरिने लिम्चुङबुङ गाउँपालिका वडा नं. ३ वाराहाका वडाध्यक्ष डिकबहादुर राउतले बताए । “लामो समयदेखि कृषकले लगाएको आल्चा खेती बजारसम्म पुग्न नसकेर बारीमै सडिरहेको छ,” उनले भने, “यसबारेमा आगामी योजना निर्माण गर्दा केही व्यवस्था गर्ने सोच छ ।” यातायातका साथै बजारको असुविधा भएकाले समस्या भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्