नमूना बन्यो स्मार्ट कृषि गाउँ धातिवाङ «

नमूना बन्यो स्मार्ट कृषि गाउँ धातिवाङ

अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ६, धातिवाङमा सञ्चालित स्मार्ट कृषि कार्यक्रमले गाउँनै नमूना बनेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि ज्ञान केन्द्र सन्धिखर्क, पाणिनी गाउँ कार्यपालिकाको कार्यालय दुर्गाफाँट, वडा कार्यालय धातिवाङको आर्थिक तथा प्राविधिक सहयोग र पाणिनी गाउँपालिका शिद्धेश्वर स्मार्ट गाउँ कार्यान्वयन समितिको सहजीकरणमा पाणिनी गाउँपालिका वडा नम्बर–६ धातिवाङमा स्मार्ट कृषि कार्यक्रम सञ्चालन गरिएको थियो । कृषकलाई आत्मनिर्भर बनाउँदै आधुनिकीरण, व्यवसायीकरण, यान्त्रीकरण र प्राथमिकता प्राप्त बाली वस्तुका उत्पादन एवं उत्पादकत्व वृद्धिका लागि अल्पकालीन र दीर्घकालीन कार्यक्रमको तर्जुमा र सञ्चालन गर्ने उद्देश्यले कार्यक्रमलाई अगाडि बढाइएको कार्यान्वयन समितिका अध्यक्ष पुष्कर पौडेलले जानकारी दिए ।
कृषि योग्य जमिन र अन्य प्राकृतिक क्षेत्र एवम् जैविक विविधताको संरक्षण, सम्वद्र्धन र प्रदूषण रोकथामका लागि आवश्यक काम गर्ने, सिप विकास गतिविधि एवं समितिका महत्वपूर्ण पदमा महिला सहभागिता बढाउने, अगुवा कृषकबीच समन्वय गरी प्राथमिकता प्राप्त बाली बजारको मागअनुसार उत्पादन प्रशोधन बजारीकरणलगायतका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख देवेशकुमार मिश्रले बताए ।
“कृषि कार्यक्रमको दिगोपनका लागि सहकार्य, कार्यक्रम लागू भएको क्षेत्रमा क्षमता अभिवृद्धि गर्नु, सामाजिक समावेशीकरणलाई मध्यनजर गर्दै प्लास्टिक टनेल निमार्ण गर्ने, गोठसुधार गर्ने, उन्नत जातका पशु ल्याउने, भएका पशुलाई नश्ल सुधार गरी उन्नत जातमा परिणत गर्ने गरी स्मार्ट कृषि गाउँ बनाउन कार्यक्रम अघि बढाइको हो,” प्रदेशसभा सदस्य रामजी घिमिरेले भने । उनले स्थायी टनेलबाट नर्सरी उत्पादन गर्ने प्रक्रियालाई अवलम्बन गर्दै हाईटेक नर्सरी पद्धतिलाई अगाडि बढाउने, कृषिमा आधुनिकीकरणको प्रयोगलाई बढाउने, परम्परागत हसिया, हलो, कोदालोको सट्टा हाते ट्याक्टर, च्यापकटर, ड्रिल मेसिनको प्रयोग गर्ने क्रम बढेको बताए । कार्यक्रम सफल बनाउने दायित्व गाउँकै कृषकको भएको उनको भनाइ थियो ।
पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले आर्थिक अवस्था कमजोर भएकाहरूलाई कृषि, पशुपालन तथा तरकारी खेतीमा अग्रसरता दिलाउन स्मार्ट कृषि कार्यक्रम लागू गरिएको बताए । यसबाट निर्वाहमुखी खेती र पशुपालन गर्ने प्रवृत्तिको अन्त्य गर्दै व्यवसायीकरण भई आत्मनिर्भर बन्दै आर्यआर्जनको बाटोमा लाग्न कृषकलाई प्रेरणा दिएको उनको भनाइ थियो ।
साविक धातिवाङ गाविस वडा नम्बर ५ र ८ मा रहेका ९० घरधुरी कार्यक्रममा संलग्न छन् । चालू आवको फागुन २३ देखि लागू भएको यो कार्यक्रमको पहिलो चरण २०७६ असार मसान्तमा सकिने उपाध्यक्ष जानका पौडेलले बताइन् ।
कार्यक्रम सुरु भएपछि गाउँमा ९० घरधुरीमा १२१ टनेल बनेका छन् । कुनै घरमा सात वटासम्म टनेल निर्माण भएका छन् । आधुनिक प्रणालीमा सुरु भएको कार्यक्रमले प्रत्येक टनेलमा थोपा सिँचाइ, मल्चिङ प्लास्टकको प्रयोग, विरुवाको पात काट्न सिकेचरको प्रयोग, विरुवालाई संरक्षण गर्न प्रांगारिक औषधिको प्रयोग गर्ने क्रम बढेको छ ।
स्मार्ट कृषि कार्यक्रमले युवालाई कृषि र पशुपालनमा लाग्न प्रेरित गरेको अमर आधारभूत विद्यालयका प्रधानाध्यापक हिमलाल पौडेलले बताए । “प्रशस्त मात्रामा घरघरमा खानेपानी तथा सिँचाइको सुविधा रहेको धातिवाङ कृषि र पशुपालन गर्न उपयुक्त ठाउँ हो,” उनले भने । पशुपालन र कृषि खेतीका लागि उपयुक्त मानिएको धातिवाङमा यातायातको सुविधाका कारण लाभान्वित हुनेको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्