पक्की पदमार्ग निर्माण

बागलुङ नगरपालिकाले सशस्त्र द्वन्द्वको क्रममा सहादत प्राप्त गरेका बागलुङ नगरपालिका–८ सिगानाका शहीद टङ्क खड्काका नाममा पदमार्ग निर्माण गरेको छ । नगरपालिकाले वडा नं ८ सिगाना बेँसीदेखि वडा कार्यालय पुग्ने गरी पक्की पदमार्ग निर्माण गरेकोे हो । द्वन्द्वका क्रममा ज्यान गुमाएका खड्काको सम्झनामा पक्की पदमार्ग निर्माण गरिएको हो ।
पालिकाले चालु आर्थिक वर्षमा उक्त सडक निर्माणका लागि पदमार्ग योजनाअन्तर्गत रू १० लाख विनियोजन गरेको शहीद टङ्क खड्का पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष राजन जिसीले जानकारी दिए । “अहिले पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ, झन्डै तीन सय ५० मिटर लामो मार्ग बनेको छ, अर्को वर्षसम्म वडा कार्यालयसम्म ढलान पुर्याउने तथा शहीदको नाममा प्रवेशद्वारसमेत निर्माण गर्ने योजना छ”, उनले भने । समितिका अध्यक्ष जिसीका अनुसार शहीद टङ्क खड्काको घर अघिको बाटोलाई स्तरोन्नति गरिएको हो ।
पालिकाले बजेट विनियोजन गरेर पदमार्ग निर्माण गरी शहीदलाई स्मरण तथा सम्मान गरेको उहाँको भनाइ छ । पदमार्गमा आवश्यकता अनुसार रेलिङसमेत हालिने छ । निर्वाचनका क्रममा मत माग्दै जाँदा शहीद परिवारले शहीदको स्मरण योग्य काम नभएको र शहीदको नाम बिर्सिएको गुनासो गरेपछि सिगानाका शहीद खड्काको नाममा उनकै घर अघिको बाटोलाई स्तरोन्नति गरी पक्की पदमार्ग निर्माण गरिएको नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए । उनका अनुसार शहीदका परिवारले शहीदका नाममा स्मरणयोग्य काम नभएको गुनासो गरेपछि रकम विनियोजन गरेर पदमार्ग निर्माण गरिएको हो । “पदमार्ग निर्माणपछि शहीदको सम्झना पनि हुने र पर्यटक तथा पदयात्रीलाई सहज हुन्छ”, उपप्रमुख खड्काले भने ।
खड्काले २०५९ सालमा सशस्त्र द्वन्द्वका क्रममा सहादत प्राप्त गरेका थिए । ढिलै भए पनि छोराको स्मृतिमा पालिकाले सम्झनालायक काम थालेको उल्लेख गर्दै शहीद टङ्क खड्काका बुबा जितबहादुरले खुसी व्यक्त गरे । “शहीदका सपना कुल्चिन थालिएको अवस्थामा पालिकाले शहीदको नाममा पदमार्ग बनाउने निर्णयअनुसार काम भएको छ, यसलाई पूर्णता दिन आगमी वर्षसमेत बजेट विनियोजन हुनेछ”, खड्काले भने ।
विद्युतीय भर्याङसहितको प्रशासनीक भवन सम्पन्न
बागलुङको बडिगाड गाउँपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । उक्त भवन निर्माण सम्पन्नपश्चात् हस्तान्तरणको तयारीमा पुगेको छ । स्थानीय तह स्थापनाको छ वर्षमा बडिगाड गाउँपालिकाले आफ्नै भवन निर्माण गर्न सफल भएको हो ।
पालिकाको केन्द्रमा पर्ने खार बजारमा प्रशासनिक भवन निर्माण गरेको हो । यो जिल्लाकै दोस्रो अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन हो । एक वर्षअघि ताराखोला गाउँपालिकाले सुविधासम्पन्न प्रशासनिक भवन निर्माण गरेको थियो । दश स्थानीय तह रहेको बागलुङमा बडिगाड र ताराखोला गाउँपालिकाले मात्रै हालसम्म प्रशासनिक भवन निर्माण गरेका छन् । गलकोट र जैमिनी नगरपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ भने ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिकाले भने जग्गाको टुङ्गो लगाउन सकेका छैनन् ।
बडिगाड गाउँपालिका–५ ग्वालिचौरस्थित खार बजारमा स्थानीयवासीले नि:शुल्क पालिकाको नाममा ११ रोपनी जग्गा प्रदान गरेपछि दुई वर्षअघि देखि प्रशासनिक भवन निर्माण थालिएको थियो । भवन निर्माण सम्पन्न भएर हस्तान्तरणको तयारीमा रहेको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए । भवनको तारबार र पर्खालबाहेक सबै काम सकिएको र माघ महिनामै हस्तान्तरण गरी सेवा प्रवाह गर्ने तयारीमा रहेको अध्यक्ष थापाले बताए । “भवन सम्पन्न भइसकेको छ, भवनमा आवश्यक फर्निचरको सामग्रीका लागि गाउँपालिकाले छुट्टै टेन्डर प्रक्रियामार्फत खरिद गर्नेछ, भवन फागुन महिना भित्रै हस्तान्तरण भएर हामीले नयाँ भवनबाट सेवा दिन पाउनेछौँ”, थापाले भने । उनका अनुसार कोरोनाका कारण सम्झौताभन्दा केही ढिला गरी निर्माण सम्पन्न भएको हो ।
गाउँपालिकाले अहिले भाडाको घरबाट सेवा दिइरहेको छ । भवनमा लिफ्ट, अपाङ्गमैत्री, भूकम्प प्रतिरोधीलगायतका विशेषता छन् । तीनतले भवनबाट पालिकाले प्रदान गर्ने सेवा तथा आवश्यक शाखा सञ्चालनका लागि सहज हुने गाउँपालिकाले जनाएको छ । अठार महिनामा निर्माण सम्पन्न गर्ने गरी रू पाँच करोड २२ लाखमा २०७७ साल जेठ १६ गते माउन्टेन कवीन्द्र जेभीसँग निर्माण सम्झौता भएको थियो । कोरोनाका कारण सम्झौताभन्दा एक वर्षपछि निर्माण सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि उपेन्द्र अर्यालले बताए ।