विषयगत सहकारीको वित्तीय कारोबारमा अंकुश «

विषयगत सहकारीको वित्तीय कारोबारमा अंकुश

विभागको तथ्यांक हेर्दा सेवा र उत्पादनका एक दर्जन भन्दा बढी क्षेत्रमा सहकारी दर्ता भएका छन् ।

सहकारी संस्थाहरूले आफ्नो विनियममा उल्लेख भएको मुख्य उद्देश्यअनुसार काम गनुपर्ने भएको छ । विभिन्न विषयगत उद्देश्य राखेर दर्ता भएका संस्था बचत तथा ऋण कारोबारमा मात्र केन्द्रीत भएपछि ऐनमै विषयअनुसार ७० प्रतिशत काम गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको हो ।
सहकारी ऐनको दफा ५० मा बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी दर्ता भएको संस्थाबाहेक अन्य विषयगत बा बहुउद्देश्यीय संस्थाले बचत तथा ऋणको मुख्य कारोबार गर्न नपाउने व्यवस्था छ । यसैगरी ऐन प्रारम्भ हुनु अघि बहुउद्देश्यीय वा विषयगत संघको रूपमा दर्ता भई मुख्य कारोबारको रूपमा बचत तथा ऋणको कारोबार गर्दै आएको भए ती संस्थाले तीन वर्षभित्रमा बचत तथा ऋणको मुख्य कारोबार नहुने गरी दर्ता हुँदाको बखतमा उल्लेख गरिएको मुख्य कारोबार गर्ने गरी संस्थाहरूले मुख्य कारोबार गर्न सक्नेछन् ।
ऐनकै व्यवस्था अनुसार सहकारी विभागले सूचना जारी गरी तीन वर्षभित्र कारोबार मिलाउनका लागि सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ । जनअनुसार बहुउद्देश्यीय र विषयगत सहकारीहरूले २०७६ असोजसम्ममा सदस्यहरूसँग गरेको खरिदबिक्री सेवाको ३० प्रतिशत मात्र बचत संकलन गर्न पाउने सूचनामा उल्लेख छ । ऐनको व्यवस्थाअनुसार संस्थाको कारोबारको अनुपात मिलाउने योजना नियामक निकायमा पेश गर्न समेत विभागले सूचनामार्फत निर्देशन जारी गरेको हो ।
अब बहुउद्देश्यीय, कृषिलगायतका विषयमा दर्ता भएर पनि बचत तथा ऋण मात्र कारोबार गरिरहेका सहकारी संस्थाहरूले आफ्नो कुल कारोबारको ३० प्रतिशत मात्र वित्तीय सेवाको काम गर्न पाउने भएका छन् ।
विभागको तथ्यांक हेर्दा सेवा र उत्पादनका एक दर्जन भन्दा बढी क्षेत्रमा सहकारी दर्ता भएका छन् । बचत तथा ऋण र बहुउद्देश्यीयका अतिरिक्त, कृषि, फलफूल तथा तरकारी, मौरीपालन, पशुपालन, उखुखेती, केराखेती, जुनार, अदुवा, चिया तथा कफीलगायतका सहकारीहरू दर्ता भएका छन् । यसैगरी सूचना तथा सञ्चार, स्वास्थ्य, उपभोक्तालगायतका सेवामूलक व्यवसायमा पनि सहकारी दर्ता भएका छन् । दर्ता गर्दा उद्देश्य र नाम विभिन्न राखेर काम गर्दा बचत तथा ऋणमामात्र सीमित भएका छन् ।
विभागका तथ्यांक गत आर्थिक वर्षसम्म ३५ हजार ७ सय सहकारी दर्ता भएका छन् । त्यसमध्ये बचत तथा ऋण १४ हजार र बहुउद्देश्यीय सहकारी ४ हजार बचत ऋण कारोबार गर्छन् भने १० हजार ५ कृषिका साथै अन्य विषयगत सहकारीले पनि बचत तथा ऋण कारोबारमै केन्द्रीत हुने गरेका छन् ।
सहकारी संस्थाहरू दर्ता गर्दा आफूले काम गर्ने विनियम बनाउनुपर्छ । यसैका आधारमा काम गर्न पाउछन् । यसैलाई आधार बनाएर उत्पादन क्षेत्रका सहकारीहरूले पनि सहायक कामको रूपमा बचत तथा ऋण कारोबारको अनुमति लिएर कारोबार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्