उपभोक्ताको भान्सामा विषादीको भारी «

उपभोक्ताको भान्सामा विषादीको भारी

आम उपभोक्ताको जीवनमाथि गम्भीर खेलबाड हुने गरी तरकारीमा विषादी प्रयोग भएको फेला परेको छ ।

केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईले कालिमाटीमा आउने तरकारीमा परीक्षण गर्दा केहीमा ९९ प्रतिशतसम्म विषादीको अवशेष फेला परेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिभित्र यो प्रयोगशाला छ ।

विभिन्न जिल्लाबाट काठमाडौं भित्रिने हरियो सागदेखि गोलभेंडा, काउलीलगायत अधिकांश तरकारी परीक्षण गर्दा विषादीका अवशेष पाइएको हो ।

सरकारको मापदण्डअनुसार ३५ प्रतिशतसम्म विषादीको अवशेष देखियो भने त्यसलाई उपभोग गर्न मिल्छ । यसैगरी ३५ देखि ४५ प्रतिशत विषादीको अवशेष देखिए केही दिन राखेर उपभोग गर्न सकिन्छ । तर, ४५ प्रतिशतभन्दा बढी विषादीका अवशेष देखियो भने खान नहुने अर्थात् फाल्नु पर्ने मापदण्ड कायम छ । तर, विभिन्न जिल्लाका कृषकले उत्पादन गरी उपभोगका लागि बजारमा पठाएका कतिपय हरियो तरकारीमा खान नमिल्ने ९९ प्रतिशतसम्म अर्गानोफस्फेट विषादीको अवशेष पाइएको छ । हरियो बोडीमा केही समय अघि गरेको परीक्षणमा यो प्रतिशतको विषादी देखिएको हो ।

यस्तै, प्रयोगशालाले यही फागुन १६ मा कालिमाटी बजारमा आएका केही तरकारीका नमुना परीक्षण गर्दा सर्लाहीबाट आएको गोलभेंडामा उपभोग गर्न नमिल्ने विषादीको अवशेष पाइएको थियो । प्रयोगशालाले तरकारीको नमुना संकलन गरी परीक्षण गरेको रिपोर्टअनुसार गोलभेंडाको नमुनामा कार्वामेट ४८ प्रतिशत र ६७ प्रतिशत अर्गानोफस्फेट विषादीको अवशेष देखिएको हो ।

प्रयोगशालाको रिपोर्टमा सर्लाही, चितवन, धादिङ, काठमाडौं, भक्तपुरलगायत जिल्लाबाट कालिमाटी भित्रिने हरियो तरकारी, रायोको सागदेखि काउली, गोलभेंडालगायतमा धेरैजसो विषादी देखिने गरेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।

कालिमाटीमा भित्रिएको तरकारीका नमुनामा विषादी परीक्षण २०७१ असार ४ बाट सुरु भएको हो । उनले भने, “हालसम्म दैनिक बजारबाट नमुना संकलन गरी विषादी परीक्षण गरीन्छ । नमुनाको रिपोर्ट आउन करिब एक घण्टा लाग्छ ।”

उनका अनुसार रिपोर्टमा विषादी देखिएको छ भने कुन पसल हो र कुन जिल्लाबाट आएको हो, सबै कुराको जानकारी दिई विषादी देखिएको तरकारी डिस्पोज गर्न लगाइन्छ । ३५ देखि ४५ प्रतिशत विषादी देखिएको छ भने केही दिनलाई राखेर व्यापारीलाई फिर्ता दिने गरिएको छ । यस्तै ४५ प्रतिशतभन्दा माथि विषादी छ भने तत्काल नष्ट गरिन्छ । कुनै दिन भने परीक्षणको रिपोर्ट आउँदासम्म सबै तरकारी बिक्री भइसक्ने उनले बताए ।

उनका अनुसार प्रयोगशालामा परीक्षण गरेको तरकारीको नमुनामा विषादी देखिए कुन जिल्लाबाट आएको हो, सम्बन्धित जिल्ला वा कृषि ज्ञान केन्द्रलाई पत्र लेखी जानकारी गराउने गरिएको छ । हरेक दिन सर्वसाधारणको शरीरमा विषादीको अवशेष जाँदा छालाजन्य रोगदेखि क्यान्सरसम्म लाग्ने खाद्य विशेषज्ञ डा. अतुल उपाध्याय बताउँछन् । दैनिक उपभोग्य वस्तुमा प्रयोग हुने विषादी नियन्त्रण गर्न राज्यको गम्भीर ध्यान जानु आवश्यक रहेको उनले बताए ।

पछिल्लो समय कृषकले उत्पादन वृद्धि गर्न दैनिक उपभोग्य वस्तुमा विषादीको प्रयोग धेरै गरेको उनको भनाइ छ । दैनिक उपभोग्य वस्तु तरकारीबाट आम मानिसको भान्सामा भित्रिने विषादी नियन्त्रण गर्न राज्यले कृषकलाई असल कृषि व्यवसायको अभ्यास सिकाउनुपर्ने उनको सुझाव छ ।

काठमाडौं उपत्यकामा प्रयोग हुने विषादीको परीक्षण प्रयोगशाला कालिमाटीमा मात्र छ । प्रयोगशालामा तरकारीमा राखिने विभिन्न विषादीमध्ये कार्वामेट र अर्गानोफस्फेट विषादीमात्र परीक्षण हुन्छ । तरकारी र फलफुलमा अन्य विषादीको मात्रा कस्तो छ भन्ने विषय भगवान भरोसामा छ ।

विकास समितिका सूचना अधिकारी श्रेष्ठले विषादी परीक्षण प्रभावकारी बनाउन उपत्यका भित्रिने नाका र स्थानीय तहमै प्रयोगशाला स्थापना गर्नुपर्ने उनको सुझाव छ । विभिन्न जिल्लाबाट काठमाडौं भित्रिने तरकारीमध्ये कालिमाटी बजारमा भित्रिने तरकारीको नमुनामा मात्र विषादीको अवशेष कति छ भन्ने थाहा हुने उनले बताए । काठमाडौंका अन्य तरकारी बजारमा विषादी परीक्षण नहुने हुँदा कुन ठाउँको तरकारीमा कति विषादी छ भन्ने जानकारी हुँदैन ।

केन्द्रीय कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत राजीव राजभण्डारीका अनुसार विभिन्न पसलबाट दैनिक १० देखि १२ वटा नमुना परीक्षण हुने गरेको छ । चालु आर्थिक वर्षको १७ फागुनसम्ममा १ हजार ७ सय २८ नमुना परीक्षण गर्दा १७ नमुनामा खान नमिल्ने विषादीको अवशेष पाइएको थियो । १० वटा नमुना केही दिन राखेर प्रयोग गर्न सकिने पाइएको थियो ।

तरकारी तथा फलपूmलमा विभिन्न प्रकारको विषादीको प्रयोग हुने गरेको भए पनि हालसम्म कार्वामेट र अर्गानोफस्फेट समूहको मात्र विषादी परीक्षण हुँदै आएको राजभण्डारीले जानकारी दिए । उनका अनुसार मुलुकभर ७ वटा स्थानमा विषादी परीक्षण हुने गरेको छ । कालिमाटी, झापाको बिर्तामोड, सर्लाही, कास्की, बुटवल, नेपालगञ्ज र कैलालीमा तरकारीको विषादी परीक्षण हुन्छ ।

प्रतिक्रिया दिनुहोस्