‘मुडे–चरिकोट सडक तत्काल सम्पन्न नगरे कारबाही’ «

‘मुडे–चरिकोट सडक तत्काल सम्पन्न नगरे कारबाही’

दोलखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गंगा कार्कीले लामोसाँघु जिरी सडक खण्डअन्तर्गत मुडे–चरिकोटको काम तत्कालै सम्पन्न नगरे कारबाहीका लागि तयार हुन ठेकेदार कम्पनीलाई चेतावनी दिएका छन् ।

मंगलबार राजधानी काठमाडौंको सडक सुधार आयोजना कार्यालयमा भएको त्रिपक्षीय छलफलमा सांसद कार्कीले ठेकेदारलाई मौसम राम्रो हुँदा पनि काम नगर्ने र वर्षायाम कुर्ने तथा विभिन्न बहानाबाजी गरेर उम्कने जस्ता उपायतिर नलागी गुणस्तरीय तवरले काम सम्पन्न गर्न सचेत गराएका हुन् ।

“तपाईं काम गर्नुस्, सहजीकरणका लागि म तयार छु, अन्यथा सम्बन्धित निकायमा कारबाहीका लागि प्रकृया अगाडि बढाउन ताकेता गर्छु,” सांसद कार्कीले भने । उक्त अवसरमा सडक सुधार आयोजनाको तर्फबाट आयोजना संयोजक ज्ञानेन्द्रकुमार झाले ठेकेदार कम्पनीका प्रतिनिधिलाई सो सडकको काम चैत महिनाभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

ठेकेदार कम्पनी सुनौला खिम्तीका प्रतिनिधि गणेश भण्डारीले आयोजनाको काम अगाडि बढिरहेकाले चैत महिनाभित्रै सम्पन्न गर्ने र गुणस्तरीय कामलाई ध्यान दिने प्रतिबद्धता जाहेर गरे । उनले आर्थिक समस्याका कारण काम समयमै सम्पन्न गर्न नसकेको गुनासो पनि राखे । भण्डारीले एम्जिम बैंक इण्डियाले भुक्तानी गर्नुपर्ने रकम समय नदिँदा भुक्तानी असन्तुलन भएर काम गर्न असमर्थ भएको दुःखेसो पोखे ।

आयोजनाको तर्फबाट इन्जिनियर इश्वर कार्कीले अब करिब सात प्रतिसत मात्र काम बाँकी रहेको र मौसम अनुकूल भएकाले चैतसम्म ठेकेदारले कालोपत्रे गरिसक्नुपर्ने बताए । मुडेदेखि चरिकोटसम्मको ३० किलोमिटर सडक खण्डअन्तर्गत केही स्थानमा सडक कालोपत्रे नभएको र केही ठाउँमा काम गुणस्तरहीन भएको गुनासो आएपछि, सांसद कार्कीले काम सम्पन्न गर्न पहल लिएका हुन् ।

दुई वर्षमा पूरा हुनुपर्ने मुडे–चरिकोट सडक सात वर्ष बितिसक्दा समेत अझै अलपत्र छ । त्यसको चार वर्षपछि ठेक्का लागेको चरिकोट जिरी ५५ किमि सडक भने एक वर्षअघि नै सम्पन्न भएर हस्तान्तरण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्