सातै प्रदेशमा वर्षेभरी सहुलियत पसल «
Logo

सातै प्रदेशमा वर्षेभरी सहुलियत पसल

सरकारले सातवटै प्रदेशमा वर्षैभरी सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उपभोक्तालाई सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सहुलियत पसल सञ्चालन गर्न लागिएको हो । यसअघि चाडपर्वको बेलामात्र सञ्चालन गर्दै आएको सहुलियत पसल आगामी वर्षदेखि सातै प्रदेशमा वर्षैभरी सञ्चालन गर्न लागिएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले जानकारी दिएको छ ।
सात प्रदेशमा १४ वटा सुपथ पसल सञ्चालन गर्न लागिको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, “सुपथ पसल सञ्चालन गर्ने गरी कार्ययोजना तयार गरिरहेका छौं, यसले गर्दा उपभोक्ताले सहुलियत दरमा दैनिक उपभोग्य वस्तु खरिद गर्न पाउनेछन् ।” प्रत्येक प्रदेशमा कम्तीमा एउटा गरेरसातै प्रदेशमा १४ वटा सुपथ पसल सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।
सातै प्रदेशमा सुपथ पसल सञ्चालन गरेसँगै उपभोक्ताले राहत पाउने छन् । सुपथ पसलमा दैनिक उपभोग्यका वस्तु नुन, चिनी, चामल, दाल, गेडागुडी, मैदा, आटा, घ्यू लगायतका अन्य खाद्य पदार्थ राखिने छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सातै प्रदेशमा सुपथ मुल्य पसल सञ्चालन गरिने छ । खाद्य संस्थान र नेशनल टे«डिङ लिमिटेड कम्पनी गाभेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी स्थापना गर्न लागिएको छ ।
यसअघि चाडपर्वका बेला मात्र उपत्यकालगायत बाहिरी जिल्लामा सुपथ पसल सञ्चालन गरिँदै आएको थियो । यसअघि खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेड र दुग्ध विकास संस्थानमार्फत दसैं तिहार र छठलाई लक्षित गरेर सुपथ पसल सञ्चालन गरिँदै आएको थियो । चाडपर्वमा बजारमा कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि भइ उपभोक्ता ठगिने भन्दै सरकारले त्यसलाई नियन्त्रण गर्नका लागि प्रत्येक वर्ष सहुलियत पसल सञ्चालन गर्दै आएको थियो ।
सुपथ पसलमा बजार मूल्यभन्दा सस्तोमा उपभोक्ताले सामान खरिद गर्न पाउने छन । नेपाल खाद्य संस्थान र साल्ट ट्रेडिङ कर्पाेरेसनका क्षेत्रीय कार्यालय र नभएका ठाउँमा आउटलेट खोलर सुपथ पसल सञ्चालन गरिने विभागले जानकारी दिएको छ ।
यसअघि सुपथ पसल सञ्चालन गरेवापतको शोध भर्ना रकम संस्थानले अझै पाउन सकेको छैन । गत वर्ष सञ्चालन गरिएको सुपथ पसलमा चिनी प्रतिकेजी पाँच रुपैयाँ, नुन प्रतिकेजीमा दुई रुपैयाँ र चामल प्रतिकेजीमा पाँच देखि १० रुपैयाँसम्म छुटको व्यवस्था गरिएको थियो ।
यसैबीच, नेपाल खाद्य संस्थानले सहकारीमार्फत सुपथ मुल्यमा खाद्यान्न वितरण गरिरहेको छ । काठमाडौंका, सुर्खेत र जुम्लामा सहकारीमार्फत खाद्यान्न वितरण गरिहेको संस्थानले जनाएको छ । यो वर्ष समर्थन मूल्यअनुसार धान खरिद गर्दा महँगो परेकाले संस्थानले बिक्री गर्ने चामल बजार मूल्यभन्दा महँगो परेको संस्थानको भनाइ छ । सहरी क्षेत्रभन्दा पनि ग्रामीण क्षेत्रमा सहकारीमार्फत चामल वितरण प्रभावकारी भएको संस्थानको दावी छ ।

प्रतिक्रिया दिनुहोस्