Logo

सुरुङमार्ग ७४.२० प्रतिशत बन्यो

निर्माणाधिन काठमाडौं धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको समग्रमा प्रगति ७४.२० प्रतिशत पुगेको छ । आयोजनाले प्रगती विवरण जारी गर्दै भनेको छ, “काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ८ सय १३ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।”

सुरङमार्ग छेड्ने काम समयमा पूरा नहुने भएपछि ९ महिना थप गरिएको छ भने कोभिड–१९ का कारण करिब ३ महिना समय थप गरेको सडक विभागका उपमहानिर्देशक रामहरि पोखरेलले बताए । उनले भने, “आयोजनको कुल ७४.२० प्रतिशत काम पूरा भएकोे छ । समयमा सुरङ छेड्ने काम पूरा नहुने भएपछि निर्माण कम्पनीको एक वर्ष म्याद थप गरिएको छ ।”

आयोजनालाई ४२ महिनामा निर्माण पूरा गर्नुपर्ने समयसीमा थियो । तर अब म्याद थप भएसँगै सन् २०२४ को अक्टोबरमा सञ्चालनमा आउने पोखरेलले बताए । निकासी सुरुङमार्गको २५ सय ५७ मिटरमध्ये २ हजार ६९ मिटर सुरुङ खन्ने काम पूरा भएको छ । ओर्किङ अडिट १ सय २६ मिटर पूरा भएको छ भने क्रस प्यासेज, १ सय २८ मिटर र क्रस प्यासेज ७४.२० मिटर पूरा भएको छ ।

आयोजनाको कुल भौतिक प्रगति ४९.३ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५३.९५ प्रतिशत पूरा भएको बताइएको छ । मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात कंक्रिट लाइनिङको काम सुरु गरिएको आयोजनाको भनाइ छ । सुरुङ मार्ग छेड्ने कामसँगै आयोजनाले कंक्रिट लाइनिङ (फिनिसिङ) को कामसमेत तीब्र रुपमा अघि बढाएको छ ।

हालसम्म मुख्य, सहायक सुरुङ, बोर्किङ अडिट सुरुङ खन्ने काम सम्पन्न भएको आयोजनाले सार्वजनिक गरेको प्रगति विवरणमा उल्लेख छ । २०७७ पुस ७ गतेबाट सुरुङ छेड्ने काम थालिएको थियो । ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले २.६८ किलोमिटर लम्बाइको सुरुङमार्गको शिलान्यास गरेका थिए ।

लम्बाई २.६८ किमी, चौडाई ३.५ किमी, दुवैतर्फ ०.५ मिटर पानी बगाउने नाली, एप्रोच मार्ग, पूर्व लम्बाई २.३२ किमी, पश्चिम लम्बाई ०.५६५ किमी निर्माण हुने छन् । कोभिड–१९ र आन्तरिक तयारीका कारण आयोजनाको काम सुरु हुन केही महिना ढिलो भएको थियो । करिब ३७ महिनामा आयोजनाको ७४.२० प्रतिशत प्रगति हासिल गरेको छ ।

कार्यताीलका अनुसार नै सुरुङमार्गको काम भइरहेकाले निर्धारित समयमानै पूरा हुने बताइएको भएपनि समयमा भने आयोजनाले पूरा नहुने देखिएको छ । नेपाल सरकारको ४ अर्ब ८० करोड रुपैयाँ र जापान सरकारको १५ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोग गरी करिब २० अर्ब ६० करोड रुपैयाँ लगानीमा सुरुङ मार्ग निर्माण हुन लागेको हो ।

सम्झौता अनुसार काम सुरु गरेको ४२ महिनाभित्र अयोजना समापन गर्ने उल्लेख छ । सम्झौता अनुसार जापानिज निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनले काम सुरु गरेको ४५ महिनाभित्र (थप गरेको ३ महिनासहित) थप ९ महिना थप हुँदा ५४ महिना हुन्छ । यसअघिको समयसीमा अनुसार २०२३ जुलाई २६ सम्ममा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्