सर्वसाधारणले सबै बैंकलाई सरकारी भन्छन् : अर्थमन्त्री

“गभर्नरसमेत भइसकेको भए पनि अझै प्रविधिमा आधारित वित्तीय कारोबारमा पूर्ण विश्वास गर्न सक्दिनँ ।”
अर्थमन्त्री डा. युवराज खतिवडाले सर्वसाधारणले सबै बैंकलाई सरकारी बैंकको रूपमा बुझेको बताएका छन् । सर्वसाधारणले निक्षेप राखेको कुनै पनि वित्तीय संस्थामा समस्या आए सरकारले फिर्ता दिनुपर्ने भन्दै नेपाल राष्ट्र बैंकमा धर्ना दिने गरेको उनले बताए ।
दि अर्गनाइजेसन फर इकोनमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसीडी) अन्तर्गतको इन्टरनेसनल नेटवर्क अन फाइनान्सिएल एजुकेसन (आइएनएफ) को सहकार्यमा नेपाल धितोपत्र बोर्डले मंगलबार गरेको पुँजी बजारमा वित्तीय साक्षारता सम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले बजारले राम्रोसँग काम नगरे नियमनकारी निकाय र सरकारले हस्तक्षेप गर्ने बताए । बजारलाई स्फूर्त सञ्चालनका लागि सरकारले खुला छाडेको भए पनि त्यसमा केही कमजोरी भए सरकारले हस्तक्षेप गर्ने उनको भनाइ छ ।
सर्वसाधारणले वचत गर्ने तथा ऋण लिने गरेको संस्था कस्तो भन्ने बारे पनि जानकारी राख्नु आवश्यक रहेको अर्थमन्त्री खतिवडाले बताए । सबै एउटै स्तरको संस्था नभएकाले आफूले कारोबार गर्ने संस्थाका बारेमा पनि जानकारी राख्नु आवश्यक रहेको उनको भनाइ छ ।
पछिल्ला दिनमा वित्तीय कारोबारमा पनि सूचना प्रविधिको प्रयोग वढ्दै गएको भन्दै मन्त्री खतिवडाले वित्तीय क्षेत्रमा चुनौती थपिरहेको बताए । “गभर्नरसमेत भइसकेको भए पनि अझै प्रविधिमा आधारित वित्तीय कारोबारमा पूर्ण विश्वास गर्न सक्दिनँ,” उनले भने, “प्रविधिको प्रयोग गरेर हुने वित्तीय कारोबारमा प्रभावकारी नियमन हुन आवश्यक छ ।”
मन्त्री खतिवडाले वित्तीय क्षेत्रमा सम्पत्ति शुद्धीकरणको विषय पनि गम्भीर बन्दै गएको बताए । यस विषयमा नजानेर पनि धेरै मानिस अप्ठ्यारोमा परिरहेको उनको भनाइ छ । सम्पत्ति सुद्धीकरणका विषयमा अझै पनि केही विषय बाँकी रहेको उनले उल्लेख गरे । “धेरै मानिसलाई कुन बैंकमा पैसा जम्मा गर्दा सुरक्षित हुन्छ र कुन बिमा कम्पनीको बिमा योजनामा लगानी गर्दा सुरक्षित हुन्छ भन्ने थाहा नभएको हुनाले पनि वित्तीय जनचेतना आवश्यक छ,” उनले भने । नेपालका ५० लाख युवा विदेशमा रही उनीहरूले पठाएको रेमिट्यान्सको कारोबार गर्ने परिवारलाई पनि वित्तीय साक्षरता आवश्यक रहेको उनले बताए । लगानी गर्ने सन्दर्भमा पनि कम्पनीबारे बुझेर मात्रै लगानी गर्नुपर्ने भएकाले वित्तीय साक्षरता आवश्यक रहेको उनको भनाइ थियो । उनले सेयर बजारमा अधिकांस बैंक तथा वित्तीय संस्था सूचीकृत भए पनि यस क्षेत्रमा लगानी गर्नेहरूको पनि वित्तीय साक्षरता कमजोर रहेको बताए ।
पूँजीबजारलाई लिएर नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय वित्तीय साक्षरता सम्मेलन भएको हो । सम्मेलनमा अन्तर्राष्ट्रिय संस्थाहरू, पूर्व एसियाली तथा सार्क राष्ट्रका वित्तीय क्षेत्रका नियमनकारी निकायका प्रतिनिधि गरी ४० जना वित्तीय क्षेत्र तथा वित्तीय साक्षरताका अन्तर्राष्ट्रिय विज्ञ सहभागी छन् । सम्मेलन बुधबारसम्म चल्नेछ ।