सात महिनामा ११ सय ६३ विदेशीलाई नेपालमा काम गर्ने स्वीकृति

चालू आर्थिक वर्षको ७ महिनामा १ हजार १६३ विदेशी श्रमिकलाई नेपालमा रोजगारीका लागि श्रम स्वीकृति प्रदान गरिएको छ । नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा विदेशी श्रमिक राख्न पाउने व्यवस्था अनुसार माघसम्म सो संख्याका विदेशीलाई नेपालमा काम गर्ने अनुमति प्रदान गरिएको हो ।
गत आर्थिक वर्षको पहिलो ७ महिनाको तुलनामा चालु आवको माघसम्म रोजगारी खोज्दै नेपाल आउने विदेशी श्रमिकको संख्या केही बढेको छ । कोरोना महामारीका कारण लामो समय परियोजना बन्द हुँदा रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या घटेको भएपनि पछिल्लो महिना बढ्दै गएको श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले जनाएको छ ।
विभागका निर्देशक मणिनाथ गोपले आर्थिक वर्षको शुरुमा श्रम स्वीकृति लिने विदेशी श्रमिक घटेको देखिए पनि अब क्रमश: बढ्ने बताए । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको संख्यामा क्रमश: घट्दो दरमा रहेको छ । गत आवको माघसम्म नवीकरण र नयाँ गरी १ हजार १४६ विदेशीले श्रम स्वीकृति लिएका थिए ।
चालू आवको सो अवधिमा नयाँ श्रम स्वीकृति र सोको नवीकरण गर्नेको संख्या सामान्य बढेर १ हजार १६३ पुगेको छ । विदेशी नागरिकको श्रम इजाजत व्यवस्था सम्बन्धी निर्देशिका २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति आयात गरी काममा लगाउन सकिने व्यवस्था गरेपनि नेपाल सरकारका विभिन्न निकायहरुसँग भएका सम्झौता बमोजिमको संख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष कामदारसमेत नेपालमा आउने गरेका छन् ।
यसले गर्दा दक्ष नेपाली श्रमिकले स्वदेशमै रोजगारी नपाउने र विदेशी अर्धदक्ष श्रमिकसमेत नेपालमा प्रवेश गरी काम गर्ने प्रवृत्तिले अर्बौ रुपैयाँ विदेश जाने गरेको छ । विदेशीले काम गर्ने कतिपय परियोजनाले नेपाली श्रमिकलाई मात्र कटौती गरी बिदेशी श्रमिकहरु यथावत राख्ने गरेको पाइए पनि सोको अनुगमन भने हुन सकेको छैन ।
नेपालका श्रमिकलाई प्राथमिकता दिई नेपाली श्रम बजारमा उपलब्ध हुन नसकेका दक्ष र सीपयुक्त विदेशी जनशक्तिलाई मात्र श्रम स्वीकृति दिनुपर्ने विज्ञको सुझाव छ । नेपालमा उपलब्ध हुन नसक्ने दक्ष विदेशी कामदारलाई मात्र श्रम स्वीकृतिका लागि सम्बन्धित मन्त्रालय/विभागको सिफारिस एंव गृह मन्त्रालयको कार्यसहमतिको आधारमा श्रम स्वीकृति प्रक्रिया मिलाउनु पर्ने नीतिगत सुधारको आवश्यकता रहेको छ ।
विभागले नेपालमा सञ्चालन भइरहेका ठूला परियोजनामा कोभिडको असर लामो समयसम्म परेका कारण श्रम स्वीकृति लिने विदेशीको घटेको जनाएको छ । विभागले नेपालमा काम गर्ने विदेशीलाई अधिकतम ६ वर्षसम्म मात्र नवीकरण हुने जनाएको छ । यसैगरी एकै प्रकृतिको कामका लागि श्रम स्वीकृति लिने श्रमिकको सीप नेपालीलाई सिकाएर विदेशीलाई प्रतिस्थापन गर्नुपर्ने नियम रहेको छ ।
विभागले सार्वजनिक गरेको तथ्यांकमा नेपालमा रोजगारीका लागि ९६ देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँँ छन् । श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले ५ प्रतिशतमात्र विदेशी कामदार राख्न सकिने प्रावधान छ । नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत छन् ।
रसुवागढी, त्रिशूली, मध्य भोटेकोसी, काबेली, दोहा इन्जिनियरिङ कम्पनी, हुवावे टेक्नोलोजी, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्समा समेत उच्च प्राविधिक कामदार विदेशी रहेका छन् । विदेशी नागरिकको श्रम इजाजत व्यवस्था सम्बन्धी निर्देशिका २०७५ मा नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति आयात गरी काममा लगाउन सकिने व्यवस्था भएपनि नेपाल सरकारका विभिन्न निकायसँग भएका सम्झौताबमोजिमको संख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष कामदारसमेत नेपालमा आउने गरेका छन् ।
अघिल्लो वर्ष नेपालमा काम गर्ने चाहना राख्दै श्रम स्वीकृति लिने विदेशीको संख्या ९ प्रतिशतले घटेको थियो । २०७३ पुसयता चिनियाँ नागरिक ५ हजार ४७४, बेलायत ३८६, अमेरिका २३४, भारत १८३, कोरिया १६२ र अन्य १० हजार ५९६ विदेशीले नेपाल रोजगारी गर्न श्रम स्वीकृति लिएका छन् ।