हिंसाको विकल्पमा वैदेशिक रोजगार «

हिंसाको विकल्पमा वैदेशिक रोजगार

सिन्धुलीकी कविता श्रेष्ठले १० वर्ष अघि लालप्रकाश श्रेष्ठसँग मागि विवाह गरिन् । विवाह पश्चात उनीहरूको पारिवारिक जीवन राम्रो थियो । विवाहको १ वर्षमै उनीहरूको छोरा जन्मिए ।
३१ वर्षकी कविताको छोरा अहिले ९ वर्षका भए । तर श्रीमान् र छोरा दुबै उनको साथमा छैनन् । सँगै जीउने मर्ने बाचा गरेका श्रीमान्ले साथ छोडेपछि अहिले उनी एक्ली भएकी छन् ।
कविता र लालप्रकाशको विवाहपछिको २ वर्ष हाँसीखुसी बिते । श्रीमान् ज्याला मजदुरी गरेर कमाउँथे भने कविता परिवारको रेखदेख गर्थिन् । तर त्यो खुसी कविताको मुहारमा धेरै समय टिक्न सकेन । माया गर्ने श्रीमान् बोली नै पिच्छे रिसाउन र झर्किन थाले ।
अचानक श्रीमान्को व्यवहार परिवर्तन भएपछि उनी चकित भईन् । तर पनि श्रीमान् पहिलेको झैं हुन्छन् भन्नेमा ढुक्क थिईन् । लालप्रकाशमा भने केही बदलाव आएन । बरु अरुका कुरा सुनेर परपुरुषसँगको सम्बन्धको आक्षेप लगाउन थाले । “श्रीमान् रक्सी खानुहुन्थ्यो,” उनले भनिन्, “मध्यरातमा मात्तिएर घर आउँथे अनि मलाई नानाथरीका आरोप लगाउँथे । झगडा नभएको त कुनै दिन थिएनन ।” लालप्रकाश कवितासँग टाढिँदै गए ।
बस्ने घर एउटै, खाने एउटै र सुत्ने ओछ्यान एउटै भएपनि दुबैका मन फाटिँदै गए । एक अर्कामा अन्जान जस्तै बन्दै गए । कवितालाई थाहै नदिइ लालप्रकाश सिन्धुली, काठमाडौँ त कहिले आफन्तका तिर व्यस्त हुन थाले । कविता भन्छिन्, “उहाँ कहाँ के गर्दै हुनुहुन्छ केही थाहै हुँदैन थियो । विदेश पुगेपछि अरु छिमेकीबाट थाहा पाएँ मलेशिया गएको ।”
लालप्रकाश ३ वर्ष मलेसिया बसे । त्यो अवधिमा पनि कवितालाई न फोन आयो न त पैसा नै । बरु स्वंय लालप्रकाश घर फिर्ती भए । “एउटै घरमा बसेका श्रीमान् श्रीमतीबीच १५ दिनसम्म बोलचाल भएन । बाहिर बाहिरै हिँड्नुहुन्थ्यो,” कविताले भनिन्, “घरमा आइहाले पनि मलाई अनावश्यक लाञ्छना लगाउने, कुट्ने र घर छोडेर जान दबाब दिन्थे । छोराको भविष्य हेरेर म चुपचाप सहन्थे ।”
छोरा घरै नजिक रहेको एक सामुदायिक विद्यालयमा पढ्थ्यो । पढाउन लेखाउन परिवारले सहयोग गरेका थिए । “श्रीमान्ले नहेरेपछि परिवारको मात्र के कुरा छरछिमेकमा पनि नराम्रो भइँदोरैछ,” भन्छिन्, “भन्या जस्तो नभएपनि भोक्कै बसिन । आफ्नै श्रीमान्को प्यारो नभएपछि अरुको त नराम्रो हुने नै भए ।”
“समाज त्यही हो । पुरुषको गल्तिमा पनि महिलालाई दोषी देख्ने । फलानोकी श्रीमती यस्तो, उस्तो भन्न थाले । दिनरातको टोकेशो सहन नसेकेर म माइतीको शरणमा गए । छोरासँगै लैजान्छु भन्दा श्रीमान्ले लैजान दिएनन्,” भन्छिन्, “बाँच्ने एउटै आधार छोरोबाट पनि मलाई अल्गाइदिए ।”
अहिले उनी काठमाडौँमा एउटा होटलमा हाउस किपिङको काम गर्छिन् । “महिनाको १० हजार कमाउँछु । खाना लगाउन यसैले धानेको छ ।” कविता भन्छिन्, “छोरा बुवासँग काठमाडौंमै बस्छन् । बाबुलाई बेला बेलामा भेट्न गइरहन्छु ।”
श्रीमान्को साथ र मायाको उनले आश मारिसकिन् । “उहाँले हेर्नुहोला भन्ने दुई मनमा एक मन छैन । उमेरपनि ढल्किँदै गइसक्यो । १० हजार कमाएर खान मात्र पुग्छ,” भन्छिन्, “यहाँको कमाइ बचत गर्नै सकिन्न । अब विदेश गएर कमाउने जमाउने सोचमा छु ।”
कोही कसैले पनि रोजगारीका लागि विदेश जान नपरोस् भन्ने कवितालाई समयले अहिले आफैं विदेश जान बाध्य गराइरहेको छ । उनी भन्छिन्, “मैले विदेश जाने त कहिलै सोचेकै थिइन । तर के गर्नु परिस्थितीले विदेश जाँदै छु ।” माइतीमै हुँदा प्लस टु पास गरेकी कवितालाई यही जागीर खाने र परिवारसँग हाँसीखुसी बस्ने रहर थियो । “अहिले पनि सोच्छु विदेश जान नपरोस् । तर नगएर पनि यहाँ के गर्नु,” भन्छिन्, “दिदी बहिनीहरू बेचिएको, ठगिएको भन्ने समाचार सुन्दा जीऊ नै सिरिङ्ग भएर आउँछ । कत्तै म पनि त्यस्तैको शिकार त बन्नु पर्ने होइन ?”
अहिले कविताले जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट राहदानी बनाइसकेकी छन् । साउदी अरेबियामा मार्केटिङका लागि जाने उनले तयारी गरिरहेकी छन् । “विदेश गएर पैसा कमाउने, जमाउने अनि एउटा घर बनाउने उनको सोच छ,” भन्छिन्, “छोरा पनि आजभन्दा भोलिभन्दा ठुलो भइसक्यौँ । बुबाले हेर्ला भन्ने केही ठुंगो छैन । हाम्रो कारणले छोरोको भविश्य विगार्ने कुरो भएन । उसैको भविश्यकै लागि पनि म विदेश जानुपर्छ । बुढेशकालमा मलाई हेर्नकै लागि भएपनि मैले अहिले पैसाँ कमाउनुपर्छ ।”
सिन्धुलीकै सुनिता तामाङ अहिले २८ वर्षकी भइन् । दुई वटा छोरीको लालनपालन गर्ने जिम्मेवारी उनको काँधमा छ । ३ वर्षे श्रम सम्झौतामा कमाउन गएका श्रीमान् पूरा समय कमाएर आउँछन् भनेर सुनिता कुरिरहेकी थिइन् । तर श्रीमान् ५ वर्ष हुदाँसम्म फर्किएनन् । सञ्चो विसञ्चो सोध्न फोनसमेत आएन । सुनिता भन्छिन्, “श्रीमान्को व्यवहार फेरिएला भनेर ऋण काढेर विदेश पठाए । न श्रीमान् फेरीए न पैसा पठाए ।”
श्रीमान्सँगै हुँदा पनि सुनिता कहिले ढुक्क भएर जीउन सकिनन् । सुनिताका श्रीमान् सरोजले रक्सी खाएर उनलाई यातना दिइरहन्थे । उनका अनुसार सरोजले कुटपिट गर्ने, मानसिक तनाब दिने गर्न थालेपछि माईतीको सल्लाहमा सरोजलाई विदेश पठाएकी हुन् ।
मनोज अहिले अर्की श्रीमतीसहित विदेशमै बसेको उनी बताउँछिन् । “श्रीमान्् अर्की श्रीमतीको साथ कुन देशमा छन् मलाई थाहा छैन” उनले भनिन्, “कानुनी रुपमै सम्बन्ध विच्छेद नभएपनि हाम्रो व्यवहार फरक भइसक्यो ।”
“श्रीमान्ले वास्ता गर्न छोडेपछि परिवारबाट पनि नराम्रो भइयो । मेरै कारणले छोरा विग्रिएको भन्दै मलाई नै गाली गरिरहन्थे,” उनले भनिन्, “एक दिन होइन, दुई दिन होइन कत्ति दिन सहेर बस्नु ? अहिले त म माईतीमै बसिरहेको छु ।”
सरोजले बारम्बार घर छोड्न धम्की दिइरहे पनि गाली गलौज सहँदै सुनिताले ३ वर्ष उनैका घरमा कटाइन् । सासु ससुराको कुटपिट, गाली गलौज सहन नसकेर विदेश जान लागेको छु । सुनिताले भनिन्, “सम्पतिको कुनै लालच छैन । आफ्नो परिश्रमले खान सक्छु । मात्र यिनीहरूको शोषणबाट छुटकारा पाए हुन्थ्यो ।”
सुनिता अहिले माइतीको आश्रयमा छिन् । उनले विदेश गएर छोरी पढाउने योजना सुनाइन् । उनकी जेठि छोरी अहिले ६ वर्ष र कान्छि छोरी ४ वर्षकी भइन् ।
सुनिताका श्रीमान्ले पैसा कमाएर पठाउनु त परको कुरा आफू विदेश गएको ऋण समेत तिरेनन् । सुनिताले श्रीमान्लाई विदेश पठाउँदा लागेको डेढ लाख रुपैयाँ ऋण साँवा ब्याज गरेर तेब्बर पुगेको छ । माइतीमा बुबाले ऋण निकाल्दिनु भयो । अहिले तिर्न सकिएन । घरका मान्छेलाई त केही छैन हामीलाई पो खानु न पिउनु भाछ । साउले आजै ले भोलि नै ऋण तीर भनेर दबाब दिइरहेका छन् ।
सिन्धुलीकै सानुमाया गौतमले २०५५ सालमा भागि विवाह गरिन् । झाँगीदै गएको प्रेम सम्बन्धलाई सामाजिक रुपमा मान्यता दिन विवाह गरेकी सानुमाया श्रीमान्को घरमा पुग्दा जेठी श्रीमतीसँग भेट भयो । “उहाँले विवाह गरिसक्नु भएको भन्ने मलाई थाहै थिएन,” सानुमाया भन्छिन्, “म आकाशबाट खसेजस्तै भएँ । न म अगाडी नै बढ्न सके न त माईतीमै फर्किन सक्थे ।” परिवारको सल्लाहमा नै विवाह गरेको भए माईतीमा गुनासो गर्ने बाटो हुुन्थ्यो । तर आफ्नै खुसीले विवाह गरेपछि कुन मुखले माईतीमा फर्किउँ भयो उनलाई ।
“श्रीमान्ले दुबैलाई मिलाएर राख्छु भन्ने बाचा गरेपछि दुबै जना मिलेर बस्यौँ । घर एउटै भएपनि भान्छा भिन्नै थियो,” पहिलेका दिन सम्झदै मनमायाले भनिन्, “श्रीमान्को माया बाँडियो । कहिले उत्ता कहिले यता खानुहुन्थ्यो । श्रीमान्ले राम्रै गरेपनि परिवारसँगको सम्बन्ध राम्रो हुन सकेन ।”
२०६२÷६३ को जनआन्दोलनका क्रममा श्रीमान्को मृत्यु भयो । त्यसपछि झनै परिवारले राम्रो गरेनन् । “मेरै कारणले सासु, ससुराले छोरो र बुहारीले श्रीमान् गुमाएको भन्दै मलाई अलछिनी भन्दै कुटपिट गरे । घरमा नबस भनेर घरबाट निकालिदिए,” मनमायाले भनिन्, “दिनरातको शारिरीक र मानसिक यातना सहन नसकेर म माईतीमै आएर बस्न थाले । दुई छोरा छोरीलाई बहिनीको घरमा छोडेर विदेश गए ।”
परिवारको साथ नपाएपछि एक छोरा र एक छोरीको पालनपोषणको जीम्मेवारी उनको काँधमा थपियो । नेपालमा बसेर केही गर्न सकिँदैन भन्ने लागेरै उनी २०६५ सालमा मलेसिया गइन् । १० वर्षसम्म मलेशिया बसीन् । “मासिक ३० हजारसम्म कमाइ हुन्थ्यो । कम्पनीको काम खासै गाह्रो थिएन । अब जाँदा पनि कम्पनीमै जान्छु ।”
उनी अहिले कुवेत जाने तयारी गर्दै छिन् । मलेशियाको १० वर्षको कमाईले उनले ३० लाख बराबरको घडेरी जोडेकी छन् भने छोरा ११ र छोरी १० कक्षामा पढ्दै छन् । “विदेश जान कसलाई पो मन लाग्दो हो र ? मनमाया भन्छिन्, “एक वर्ष भयो नेपाल आएको पैसा पनि सकियो । यहि केही गरौँ भन्नलाई लगानी गर्ने पैसा पनि छैन । अब यो पटकको पैसाले घर बनाउँछु । अनि केही व्यवसाय गर्छु भन्ने सोँच छ ।”
मनमाया जस्तै शान्ता अछामी (३२) पनि वैदेशिक रोजगारका लागि २०७० सालमा कुवेत गइन् । तर विदेशमा सोचे जस्तो भएन । घरमा श्रीमान्ले राम्रो नगरेपछि विदेश गएकी शान्ताको त्यहाँ काम र दाम दुबै सन्तोषजनक भएन । भन्छिन्, “घरको काममा गएकी थिएँ । काम धेरै गर्नुपर्ने तर पैसा कम पाइने । जे होस् श्रीमान्भन्दा टाढा छु भन्ने कुरामा ढुक्क हुन्थे । दिनरातको टोकेशो र दुखाईबाट छुट्कारा पाउन भनेर विदेश जान हत्तार गरे । केही नबुझी विदेश जाँदा भनेको काम र दाम दुबै पाइएन । सरसफाईबाट सुरु भएको मेरो दैनिकी मध्यरातमा टुंगिन्थ्यो । सरसफाई, बच्चाको हेरविचार, भान्साको काम, लुगा धुने, आईरन गर्ने, मिलाउने मेरो काम नै त्यही हुन्थ्यो ।”
दुई वर्ष अघि नेपाल फर्किएकी शान्तालाई अहिले उनलाई ढाड, कम्मर दुख्नेलगायतका नशासम्बन्धिका समस्या देखा परेको छ । कविता, सुनिता, सानुमाया र शान्ता त प्रतिनिधी पात्र मात्र हुन् । उनीहरू जस्तै जिल्लाका अन्य हिंसा प्रभावित महिलाहरूले पनि वैदेशिक रोजगारीलाई विकल्प बनाएका छन् । त्यसरी वैदेशिक रोजगारमा जाने महिलाहरू परिवारकै सहमतीमा कमाउन जानेभन्दा पनि उनीहरू भित्र केही न केही कारण, समस्या, बाधा, व्यवधान भएर मात्रै जानेको गरेको देखिन्छ ।
सुरक्षित आप्रवाशनका लागि सूचना तथा परामर्श केन्द्र सामी परियोजनाका अनुसार जिल्लाबाट पुरुषको तुलनामा कम संख्यामा महिलाहरू वैदेशिक रोजगारमा गएका भएपनि जानेमध्ये १० प्रतिशत महिलाहरू मात्रै श्रीमान् र परिवारको सहमतीमा वैदेशिक रोजगारीमा जाने गरेका छन् । “१० प्रतिशत महिला परिवारसँग सल्लाह गरेर विदेश जान्छन् । अरु ९० प्रतिशत महिलाहरू भने विभिन्न समस्या भएर वैदेशिक रोजगारीमा गएको पाइन्छ ।” सामीकी संयोजक उमा पौडेलले भनिन्, “विदेश जाने अधिकांश महिला श्रीमान् र परिवारबाट शारिरीक, मानशिक किसिमका हिंसा पीडित हुन्छन् । कमाउनु पर्ने जीम्मेवारीसँगै घरेलु हिंसा र परिवारिक तनावबाट छुट्कारा पाउनका लागि महिलाहरू विदेश गइरहेका छन् ।”
श्रीमान्ले लागुपदार्थ, मादकपदार्थ सेवन गरेर श्रीमतीलाई परिवारमा बस्नलाई अप्ठयारो अवस्थाको सृजना भएपछि महिलाहरू वैदेशिक रोजगारमा जाने गरेको उनले बताइन् । श्रीमान् र परिवारले साथ छोडेपछि उनीहरूलाई देखाउनकै लागि भएपनि विदेशलाई आफ्नो विकल्प बनाइरहेको उनको भनाइ छ । भन्छिन्, “उनीहरू जुनसुकै हालतमा विदेश नगइ छोड्दैनन् चाहे त्यो कानुनी होस् या गैरकानुनी माध्यमबाट ।”
पीडाबाट मुक्त हुने होडमा धेरै महिलाहरू गैरकानुनी रुपममा वैदेशिक रोजगारीमा गइरहेको संयोजक पौडेलले बताइन् । उनले भनिन्, “घरेलु कामका लागि विदेश जान पूर्णरुपमा बञ्देज गरेपनि अधिकांश महिलाहरू असुरक्षित बाटोबाट घरको काममा नै गइरहेका छन् । राम्रो काममा जाँऊ पढाई छैन हातमा केही सीप छैन । जत्ति सक्दो छिटो जान खोज्दा ठगिने र वेचिने गरेका छन् ।” यद्यपी जिल्लाबाट कत्ति मानिस गैरकानुनी रुपममा वैदेशिक रोजगारमा छन् भन्ने कुनै तथ्यांक छैन । यसरी गैरकानुनीरुपमा विदेश जाँदा महिलाहरू वेचविखनमा परेको, एउटा काम भनेर अर्का काममा पठाईदिएको जस्ता उजुरी भने कार्यालयमा आउने गरेको उनले बताइन् । सामी परियोजनाको तथ्यांकलाई हेर्दा आर्थिक वर्ष २०७०–०७१ मा भने अनुसारको काम-तलब नपाएको भनी ५ वटा मुद्दा सूचना तथा परामर्श केन्द्रमा दर्ता भएका थिए ।
यस्ता उजुरी आर्थिक वर्ष ०७१–७२ मा २१ वटा, २०७२–७३ मा १६, २०७३–०७४ मा १४ वटा, ०७४–७५ मा १० वटा र ०७५–७६ को हालसम्म ८ वटा परेका छन् । यी मुद्दा दर्ता गराउनेहरूमा पुरुषको तुलनामा महिलाको संख्या कमै रहेको पौडेलले बताइन् । गैरकानुनी रुपमा वैदेशिक रोजगारीमा गएका अधिकांश महिलाहरूसँग आवश्यक कागजात नहुने भएकाले पनि कानुनी प्रक्रियामा आउने महिलाको संख्या कम देखिएको उनको भनाइ रहेको छ ।
सामीको तथ्यांक अनुसार हालसम्म सिन्धुली जिल्लाबाट वैदेशिक रोजगारीमा जाने महिलाको संख्या ३ हजार १४७ छ । पुरुषको तुलनामा एकदमै न्यून संख्यामा महिलाहरू वैदेशिक रोजगारीमा जाने गरेको संयोजक पौडेलले बताइन् ।
(यो फिचर एन्टेना फाउण्डेशन नेपाल र क्ष्च्भ्ह् को सहयोगमा तयार पारिएको हो ।)

प्रतिक्रिया दिनुहोस्