Logo

समृद्धिको ढोका : कर्णाली राजमार्ग

कर्णाली राजमार्गअन्तर्गत तातोपानी–२, जर्मी गाउँमा कालोपत्रे हुँदै । तस्बिर : सागर परियार

२०६० सालसम्म पनि कर्णालीमा सडक पुग्दा, गाडी गुड्लान् र एक पोका नुन तथा एक किलो चामलका लागि महिना दिन हिँड्नुपर्ने बाध्यता यति छिटै अन्त्य होला भन्ने कर्णालीवासी कल्पना मात्र हैन, सपना पनि देख्दैनथे । दुधे बालक च्यापेर पनि दसैंतिहारमा भात खान जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालीकोटका नागरिक रुपैडिया नाका, सुर्खेत, दैलेखको चुप्रासम्म पुग्थे । दुई दशक पहिलासम्म सुर्खेत, नेपालगन्ज, दैलेख हाट नगई कर्णालीवासीका भान्सामा दसैंतिहारको बेला भात पाक्दैनथ्यो ।

कर्णालीमा गाडी नपुग्दा, सडक निर्माण नहुँदा दुई दशक पहिले कर्णालीवासीले भोग्नुपरेका समस्या जुम्ला तातोपानी गाउँपालिका–२ की मायादेवी दमाईले प्रत्यक्ष महसुस गरेकी छन् । कर्णालीमा सडक बन्ला र गाडी गुड्लान् भन्ने कहिल्यै सपनासमेत नदेखेकी मायादेवीलाई गाउँमा मोटर गुड्लान् भन्ने कल्पनै थिएन । भारत गएर घर फर्किएकाहरूले कर्णालीमा पनि गाडी आउँछ, सुर्खेतसम्म त मज्जाले गाडीमै आइयो । अझ म झ्यालको सिटमा बसेको थिएँ भनेर गाडीका कुरा गर्दा मायादेवीलाई दन्त्यकथाजस्तो लाग्थ्यो ।

मायादेवी दमाईं मात्र हैन, साबिक कर्णाली जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोटका बूढापाकाहरू विकट कर्णालीमा सडक पुग्ने र गाडी गुड्ने कुरा गर्दा रत्तिभर पत्याउँदैनथे । २०६०/६१ तिर महिना दिन हिँडेर सुर्खेत, दैलेख गएर चामल, नुन ल्याएपछि मात्रै कर्णालीका नागरिकको दिनचर्या चल्थ्यो । ती कथित दु:खकष्ट सम्झिँदा कसैले गाउँघरमा अब त कर्णालीमा २०६२/६३ तिर गाडी आउने भयो भन्दा बूढापाका हाँसोमै उडाउँथे । “कठै बाबु, हाम्रा सुर्खेत जुम्ला हिँड्दै पैताला छिड परेर गए, कहिले आउला गाडी, हाम्रा छोरानाति पनि यस्तै दु:ख पाउने हुन्” भन्दै गुनासो पोख्थे ।

त्यस्तै गाडी चल्छ, तपाई विश्वास गर्नुहोस् न भन्ने जस्ता कुरा गर्दा तातोपानी–१ का शूरबहादुर कठायत ३० किलो चामल, नुुन, तेल, लत्ताकपडा ल्याउन एक महिनाको बाटो हिँडी दैलेख चुप्रा पुगेको दु:ख सम्झिन्छन् । उनलाई पनि दुई दशक पहिलासम्म कर्णालीमा गाडी पुग्ने कुराको विश्वास नै थिएन । तर जब २०६२ सालमा कर्णाली राजमार्ग सञ्चालन भएर बूढाको आँगनमै सुर्खेतबाट चामल, नुनतेल, आँटा बोकेर मोटरगाडी पुग्यो, तब उनलाई भगवान्कै दर्शन पाएको अनुभूति भएको अनुभव सुनाउँछन् ।

कर्णालीमा पनि गाडी आउँछ, सुर्खेत, जुम्लामा केही वर्षमा गाडीमा सरर यात्रा गरिन्छ भनेर कसैले कुरा गर्दा मायादेवीलाई मात्र हैन, कर्णालीवासीलाई दन्त्यकथाजस्तो लाग्थ्यो । तर, २०६२ पछि कर्णालीमा गाडी पुग्दा पैतालामा खिल बस्ने गरी चामल ल्याउन महिनादिन हिँड्नुपर्ने दु:खबाट कर्णालीवासीले मुक्ति पाए ।

गाडी कस्ता हुन्छन् र कसरी चल्छन् भन्ने पनि थाहा नपाएका उनी घरआँगनमै गाडी आएपछि दंग परे । बूढा भन्छन्, “२०६२ साल फागुनतिर हो, धूलोधूवाँ थियो । गाडी पुग्ने कुराले गाउँले हर्षित देखिन्थे । ठाउँठाउँमा स्वागतका लागि गेट बनाइएको थियो । पहिलोपल्ट गाडी पुगेपछि मैले ढोग गरें । अब गाडी चढ्न पाइने भयो भनेर निकै खुसी भएको क्षण अहिले पनि सम्झन्छु ।”
सुर्खेत र नेपालगन्जबाट पैदल हिँडेर नुन र चामलको भारी बोक्दै जीवनका चार दशक बिताएका बूढाले जुम्लासम्म मोटर आउला भन्ने कल्पनामा पनि सोचेका थिएनन् । हाम्रा दिन त भारी बोकेरै गए । अहिले गाउँमै गाडी कुद्न थाले, छोरानातिले भने सुविस्ता पाउने उनको आशा छ ।

हिजोआज गाउँमै सानादेखि ठूला मालवाहक तथा यात्रुवाहक सवारी चल्न थालेपछि तातोपानीकी मायादेवीलाई काखमा दूधे बालक च्यापेर, भान्समा भात र तरकारीमा नुन हाल्नका खातिर ज्यानको दाउ लगाएर दैलेखको चुप्रा गएको दु:खद क्षण अहिले पनि ताजै छ । उनी पनि अहिले कर्णालीमा सवारी यातायात पुगेकामा खुसी छन् । आफ्ना पुस्ताले दु:ख पाए पनि भावी पुस्ताले सुख पाउने भन्दै खुसी व्यक्त गरिन् ।

मायादेवी र शूरबहादुर प्रतिनिधि पात्र प्राप्त मात्रै हुन्, कर्णालीमा सडक नपुग्दासम्मका पीडा साबिक कर्णालीका नागरिक कसैसँग कम छैनन् । सुर्खेतदेखि जुम्ला जोड्ने २ सय ३२ किमि दूरीको कर्णाली राजमार्ग सञ्चालनमा आएपछि कर्णालीका गाउँगाउँमा अहिले मोटर पुगेको छ । राजमार्गभन्दा झन्डै १० मिटर माथि उनको ढुंगा र माटोले निर्माण गरिएको पुरानै शैलीको घर छ । चामल, नुन, ल्याउन एक महिनाको पैदल सडकले छुटाएपछि चयनका साथ छोरानातिहरूले आफ्ना जस्तै कष्ट नपाउने बूढाको दाबी छ ।

फेरियो जीवनशैली, भौतिक विकासमा फड्को

हुन त विकास भन्ने कुरो जादुको छडी पनि होइन । गर्छु भन्नेबित्तिकै हुने । कर्णालीमा सडक नपुग्ने कल्पना गरिएको बेला सरकारले समेत कर्णाली राजमार्ग बनाउन नसकेर हात झिकेको थियो । तर पछि नेपाली सेनाले जिम्मा लिएर विश्व बैंकको सहयोगमा राजमार्गले अन्तिम रूप पायो ।

अन्तत: कर्णालीमा सडक पुगेको एक दशकभन्दा बढी भएको अवस्थामा ढिलोचाँडो कर्णालीमा अनपेक्षित रूपमा पूर्वाधार विकासले फड्को मारेको हामी देख्न सक्छौं । कर्णाली राजमार्गले कर्णाली समृद्धिको ढोका खोलेको छ । सडक पुगेपछि नागरिकले गाडी चढ्न, नुन, तेल, चामल घरमै किन्न मात्रै पाएनन्, उद्योग–कलकारखाना खोलिएपछि सयौंले रोजगारी पाए । भौतिक विकासले उत्तिकै फड्को मारेको देखिन्छ ।

कर्णालीमा मोटरसँगै पुगेको चेतना र शिक्षाले बिस्तारै परम्परागत अन्धविश्वासको जालो पनि तोडिएको छ भने सुर्खेत, नेपालगन्जमा मात्रै देखेको चार–पाँचतले घरहरूसमेत अहिले कर्णालीमै बनेका छन् । २०६२ सालमा मोटर पुगेको कर्णालीमा त्यसको झन्डै एक दशकपछि कर्णाली राजमार्ग कालोपत्रे भएको थियो । तर, व्यवस्थित र सुरक्षित नहुँदा कर्णाली राजमार्ग मृत्युमार्गका रूपमा चिनिन थाल्यो । देशको अस्थिर राजनीतिको केही प्रभावसमेत कर्णालीको विकासमा परेको देखियो ।

तर, कर्णाली राजमार्गको सञ्चालनले भने कर्णालीको जीवनशैली नै फरेको कुरामा कसैको दुईमत छैन । २०६२ सालतिर नेपाली सेनाको शक्तिले कर्णालीमा सडक पुगेको हो । सडकको विस्तारसँगै कर्णालीमा औद्यौगिक क्षेत्रको स्थापनाक्रम बढ्दै छ भने अझै कर्णालीजस्तो दुर्गम क्षेत्रमा पूर्वाधार विकासलाई इँटा थप्न संघीयताले ठूलो भूमिका खेल्यो । २०७४ सालमा स्थानीय सरकारको निर्वाचन गरी गाउँगाउँमा सिंहदबार ल्याएपछि विकासको लहर बढेको छ ।

कर्णालीका ७९ वटा स्थानीय तहले पनि सडकलाई विशेष प्राथमिकता दिएर विकास निर्माणलाई अघि बढाएको देखिन्छ । गाउँगाउँमा सडक पुर्‍याउने योजना सबै तहका प्राथमिकतामा छन् । यो सबै कर्णाली राजमार्गकै प्रेरणा हो । नेपालकै गौरवको आयोजना स्वास्थ्य हब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बनेको छ । जुन पश्चिम नेपालकै भरोसा केन्द्रका रूपमा रहेको छ । यसलाई पनि सडकपछिकै समृद्धिसँग जोडिएको छ ।

किनकि सडकबिना ठूला भौतिक संरचना निर्माण सामग्री ल्याउने कुरा विकट कर्णालीमा सहज थिएन । सडकबिना ठूला संरचना निर्माणसमेत सम्भव थिएन । तर, कर्णाली राजमार्ग सञ्चालनसँगै नागरिकको दिनचर्यासँगै साबिक कर्णाली जुम्ला, मुगु, कालीकोटको काँचुली नै फेरिएको छ । सडकबाट वञ्चित कर्णालीका जिल्लामा प्राय:विकास निर्माण ठप्प नै थियो । भौतिक निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थ पुर्‍याउने एकमात्र विकल्प हवाईमार्ग थियो ।

त्यो पनि भरपर्दाे नहुँदा र महँगो हुँदा विकास निर्माणले खासै गति लिन सकेको थिएन । तर, हाल कर्णाली राजमार्ग सञ्चालनमा आएको डेढ दशकपछि कर्णालीमा पूर्वाधार विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्यलगायतका अवसरका ढोका खुलेका छन् । बजार अभावमा गाउँमै कुहिने स्थानीय उत्पादनलाई मोटरले जिल्लाबाहिर लैजान थालेको छ । ऊ बेला जुम्ली स्याउ र जुम्ली उत्पादनले सहर देख्ने अनि आर्थिक ओसार्ने कल्पनामा पनि थिएन ।

सायद सडकको पहुँच नभएर होला, स्थानीय स्तरमा उत्पादित वस्तुले बजार पाउने, बेच्ने, आर्थिक उपार्जन गर्ने कुनै कल्पना गरिएको थिएन । अक्सर, विकासको कमाल भनौं, अहिले जुम्ली नागरिकले आफ्नै उत्पादनबाट मनग्य कमाइरहेका छन् । जुम्लाको स्याउ काठमाडौंसम्म पुगेको छ । सडक विस्तारपछि गाडी गाउँमै पुगेकाले विकासको ढोका खुल्नुका साथै आर्थिक उपार्जन गर्न थालिएको चन्दननाथ नगरपालिका ८ धर्मसिंह कठायतले बताए ।

पहिला कर्णालीको जडीबुटी तथा कुनै उत्पादनलाई आर्थिक आम्दानीसँग जोडिँदैनथ्यो । कठायतले भने, “सडक नपुग्दा धेरै जुम्लीसँग पहिले पैसा कमाउन कालापहाड जानुको विकल्प थिएन । नुन र चामल त बाहिरबाट बोकेर ल्याउनुपथ्र्यो । सडक पुगेपछि मात्र गाउँमा विकासको लहर चलेको हो । स्याउ, सिमीबाटै अहिले जुम्लाका हरेक किसानले लाखौं आम्दानी गर्छन् । सडक आएपछिका केही विकृति पनि होलान्, तर पनि आम कर्णालीवासीले सडक आएपछि विकासको अनुभूति गर्नु निकै महत्त्वपूर्ण पक्ष हो ।”

स्याउ किसान कठायत बर्सेनि स्याउबाट मात्रै ५ लाख र सिमीबाट २ लाख कमाउँछन् । सडक पुगेपछि सामान्य किसानलाई पनि राहत भएको बताउँछन्, सडक र मोटर त हाम्रा लागि भगवान् नै हुन् । अर्का जुम्ली जोखे कामीले भने, “मोटर दु:ख बोकेर बाहिरिन्छन्, अनि विकास बोकेर भित्रिन्छन् ।” उनले कर्णालीमा भित्रिएको मोटर बाटोसँगै विकास पनि भित्रिएको उल्लेख गरे । जीवननिर्वाह गर्न सिजनअनुसार कर्णालीका हजारौं पुरुष ऊबेला कालापहाड जानुपर्ने बाध्यता थियो । हिँडेर सुर्खेतसम्म जाने र त्यहाँबाट गाडी चढ्ने गर्थे ।

विगत एक दशकदेखि कालापहाड जान छोडेको लोकबहादुर दमाईंले बताए । उनी गाउमै सिलाइकटाइ गर्छन् । दिनमा एक हजारभन्दा बढी कमाउँछन् । घरमै चामल पाइन्छ । श्रम गरे आफ्नै ठाउँमा बाँच्न सकिने सिकाइ छ । मोटर सञ्चालन भएपछि गाउँमा विकास निर्माणको अभियान नै चलेको लोकबहादुर बताउँछन् । उनी भन्छन्, “हामी त हिँडेरै कालापहाड जान्थ्यौं, गाउँमा गाडी आउला भन्ने कल्पना पनि थिएन, तर हामीले हेर्दाहेर्दै कर्णालीमा सडक खुल्यो, मोटर चल्न थालेपछि गाउँको मुहार नै फेरिएको छ ।”

कर्णाली राजमार्गको दुरवस्था

गत असोज तेस्रो साता भएको अविरल वर्षाले कर्णाली राजमार्गको अवस्था पुन: २०६२ कै ट्र्याक खोलेको जस्तो अवस्थामा पुगेको छ । कर्णाली समृद्धिको ढोकाका रूपमा रहेको कर्णाली राजमार्गको दुरवस्थाले कर्णालीको विकास पुन: दशक पछि धेकेलिएको छ । बाढीपहिरोले कर्णाली राजमार्गको २ सय ३२ किमि सडक र नाग्म–गमगडी सडकको ९३ किमि पूरै सडक क्षतविक्षत भएको छ । असोजको बाढीले अवरुद्ध सडक २० दिनपछि खुलेको थियो । तर, सडकको अवस्था भने निकै दयनीय र जोखीमपूर्ण छ ।

सडक डिभिजन, जुम्लाका प्रमुख राजीव श्रेष्ठ भन्छन्, “दैलेखदेखि जुम्लातर्फ १ सय ४ किमिमध्ये ४० किमि सडक बाढीपहिरो ध्वस्त भएको थियो । कति खण्डमा सडक चिरा परेको छ भने कति खण्डमा पूरै भासिएर नयाँ ट्र्याक खोल्नुपर्ने अवस्था छ । कालोपत्रेको कतै निसानासमेत छैन ।” राजमार्गलाई पुरानै अवस्थामा पुर्‍याउन करिब एक दशक बढी लाग्ने अनुमान छ । सडकको दुरवस्थाले कर्णालीको विकासमा बाधा पुर्‍याउनेसमेत आकलन गरिएको छ ।

विडम्बनाको कुरा, कर्णाली समृद्धिको मार्ग कर्णाली राजमार्ग स्तरवृद्धिको एजेन्डा गत मंसिर ४ गतेको निर्वाचनमा उठेका कुनै उम्मेदवारको चुनावी एजेन्डा बन्न सकेन । दशकौंदेखि राज्यको सौतेनी व्यवहार कर्णालीप्रति अहिले पनि विद्यमान नै छ । हिजो कालोपत्रे नै हुँदा पनि साँघुरो सडकका कारण दुर्घटना भइरहने हुनाले मृत्युमार्गका रूपमा समेत चिनिन्थ्यो । बाढीपहिरोले ध्वस्त कर्णाली राजमार्ग र नाग्म–गमगढी सडक स्तरवृद्धिका लागि ३ अर्ब ८४ करोड बढी बजेट माग गरिएको सडक डिभिजन जुम्लाका प्रमुख श्रेष्ठले जानकारी दिए ।

बजेट स्वीकृत हुनेबित्तिकै स्तरोन्नतिको काम अघि बढाइनेछ । कर्णाली राजमार्गको अधिकांश भागमा नयाँ ट्र्याक खोल्नुपर्ने छ । पिच उप्किसकेको छ । पक्की वाल निर्माण, नाला निर्माण, ग्राभेल तथा कालोपत्रेसहितको स्टिमेट गरेर बजेट माग गरेको छु । फाइल विभागबाट अघि बढिसकेको छ । अर्थ मन्त्रालयबाट बजेट स्वीकृति भएपछि ठेक्का खोलेर सडक सुधार कार्य अघि बढाइनेछ । अहिले दैनिक सयौँको संख्यामा सवारी गुडे पनि २ सय ३२ किमिको जुम्ला–सुर्खेतको दूरी मुस्किलले २ दिन लगाएर गन्तव्यमा पुग्नुपर्ने अवस्था छ ।

जबकि पाँच घण्टामा हुने यात्रा वर्षौंदेखि राजमार्ग स्तर वृद्धि नहुँदा कर्णालीवासीले यात्राका नाममा सास्ती खेप्दैसमेत आएका छन् । तर, संघ र प्रदेश सरकार भने कर्णालीका पीडाप्रति सधैँ गैरजिम्मेवार देखिन्छ । कर्णालीका सबै जनप्रतिनिधिको साँझा पहल भएको खण्डमा मात्रै राजमार्गलाई छिटो स्तरवृद्धि गर्न सकिनेमा प्रमुख श्रेष्ठको जोड छ । चुनावी एजेन्डामा राजमार्गको स्तरवृद्धिलाई बेवास्ता गरेका उम्मेदवारहरूले निर्वाचित भइसकेपछि भने राजमार्गको स्तरवृद्धिलाई प्राथमिकतामा राखेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद ज्ञानेन्द्रबहादुर शाही भन्छन्, “मैले पहिलो प्राथमिकता भ्रष्टाचार न्यूनीकरणलाई दिन्छु भने दोस्रो कर्णाली राजमार्गको स्तरोन्नतिलाई जोड दिनेछु । संघीय सरकारलाई कर्णालीको विकासमा केन्द्रित हुनसमेत ध्यानाकर्षण गराउँछु । अबको पाँच वर्षमा राजमार्गले काँचुली फेर्छ ।” कर्णाली राजमार्गको सुधारबिना कर्णालीमा समृद्धि सम्भव छैन । कर्णाली करिडोर अझै कछुवा गतिमा छ । जुम्ला प्रदेश (क) निर्वाचित सांसद देवेन्द्रबहादुर शाहीले डोल्पा र हुम्लाका केही भागमा सडक पुगे पनि जिल्ला राष्ट्रिय सडक सञ्जालमा अझै जोडिएका छैनन् ।

कर्णालीका सबै सांसद एकजुट भएर दुरवस्थामा पुगेको राजमार्गको स्तरवृद्धि तथा डोल्पा र हुम्लामा सडक पुर्‍याउन साँझा पहल गर्नेे प्रतिबद्धता गरेका छन् । अबको विकास भनेको कर्णाली केन्द्रित त्यो पनि राजमार्गलाई प्राथमिकता दिएर हुनुपर्छ । उनले भने, “कर्णालीको भाग्य र भविष्य नै राजमार्ग भएकाले स्तरवृद्धिमा सबैको ध्यान केन्द्रित हुनुपर्छ । ढिलोमा पाँच वर्षभित्र सडक पहिलेकै अवस्थामा पुर्‍याउन साझा पहल गर्नुपर्छ । पाँच वर्षमा स्तरवृद्धि हुन्छ ।”

कर्णाली प्रदेश सरकारले आव २०७५/७६ तिर कर्णाली राजमार्गमा राति ६ बजेपछि यात्रा गर्न नपाइने नीति ल्याएको थियो । तर, उक्त कार्यक्रमले निरन्तरता पाउन सकेन । नागरिक अगुवा राजबहादुर महत भन्छन्, “ठोस सडक सुरक्षाको नीति, फराकिलो सडक, कडा निगरानी तथा निरीक्षण नभएसम्म दुर्घटना रोक्न सम्भव छैन । मृत्युमार्गको रूपमा चिनिने कर्णाली राजमार्गलाई भरपर्दो बनाउन संघीय सरकारले आवश्यक बजेट लगानी गर्नुपर्छ ।”

अहिले निर्वाचित संघ र प्रदेशका सबै सांसदले अबको पाँच वर्षमा कर्णाली राजमार्गका काँचुली फेरिने र जनताले सुविस्ता पाउने गरी काम गर्नुपर्नेमा उनको जोड छ । कालीकोट बिर्तामोडमा २०६९ सालमा झन्डै १८ जनाको ज्यान जानुका साथै सयौं अंगभंग हुने गरी दुर्घटना भयो । त्यसपछि विभिन्न दुर्घटनामा सयौंले ज्यान गुमाएका छन् ।

तर, कर्णाली राजमार्गको स्तरोन्नतिमा केन्द्रीकृत राज्यव्यवस्था हुँदा पनि, संघीयता आएर विकेन्दीकृत राज्यव्यवस्था आइसक्दा पनि उस्तै छ । तर कर्णालीमा सडकले भित्र्याएको समृद्धिलाई खुसीमा बाँड्न नपाउँदै आफ्नो भाग्य रेखा मेटाउनुपहिले धेरैले कर्णाली राजमार्ग स्तरोन्नति भएको हेर्न चाहेका छन् । दुई लेन निर्माणको बहस चलिरहँदा बाढीपहिरोले भएको एक लेन सडक नै ध्वस्त बनाएपछि कर्णालीवासी सडक स्तरवृद्धिको प्रतीक्षामा छन् ।

प्रतिक्रिया दिनुहोस्