मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम प्रभावहीन «

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम प्रभावहीन

गुल्मी-प्रदेश नम्बर ५ ले सञ्चालन गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम गुल्मीमा प्रभावहीन देखिएको छ । यो कार्यक्रम गुल्मीका मालिका, मदाने र कालीगण्डकी गरी तीन स्थानीय तहमा लागू भएको थियो ।
आर्थिक सामाजिक सुचकका आधारमा कमजोर भएका गाउँपालिकाका समुदाय, घरपरिवार वा व्यक्तिको जीवनस्तर सुधार गरी गरिबी निवारण गर्ने उद्देश्यसहित ती स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गरिएको थियो । तर लक्षित वर्गभन्दा बाहिर रकम खर्च गरिँदा कार्यक्रमको प्रभावकारितामाथी नै प्रश्न उठेको छ ।
गाउँपालिकामा गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी आयआर्जनका अवसरहरु तथा सामाजिक संरक्षणका कार्यक्रममार्फत जीवनस्तर सुधार गरी गरिबी निवारण गर्ने उद्देश्य राखिए पनि त्यसो हुन नसक्दा कार्यक्रम प्रभावहीन बनेको हो । यो शीर्षकमा प्रदेश सरकारले मालिका गाउँपालिकालाई ५० लाख, मदानेलाई ४६ लाख ८० हजार र कालीगण्डकीलाई पनि ५० लाख रुपैयाँ दिएको थियो । तर लक्षित वर्गमा रकम खर्च गर्नुपर्ने भए पनि लक्षित वर्गलाई भन्दा अन्य शीर्षकमा खर्च गरिएको पाइएको छ । जसले गर्दा डेढ करोड रुपैयाँ वालुवामा पानी जस्तै भएको छ ।

कार्यविधिविपरीत काम !
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को परिच्छेद ३ को मर्मभन्दा विपरीत रकम खर्च गरिएको छ । कार्यविधिले स्पष्ट रुपमा लक्षित समूहमा गरिबीको समस्याबाट आक्रान्त घरपरिवार, असहाय, ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपांगता भएका व्यक्तिका घरपरिवार, दलित, पिछडीएका समुदाय तथा सुरक्षित बसोबास नभएका परिवार, कुनै प्रकोप तथा घटनाबाट घरबारविहीन भएका परिवारमा यो कार्यक्रम सञ्चालन गरिने व्यवस्था गरेको छ ।
तर त्यस अनुसार कार्यक्रम सञ्चालन नभई कार्यक्रमको मर्म विपरित १ करोड ४६ लाख ८० हजार रुपैयाँ परिणाममुखी कार्यक्रम नभई बालुवामा पानी खन्याए जस्तै भएको हो ।
कालीगण्डकी गाउँपालिकाले यो कार्यक्रम विशेष गरी खड्गकोटमा लागू गरेको गाउँपालिकाले जनाएको छ । प्रदेशबाट आएको ५० लाखमा उसले खड्गकोटका लागि १४ वटा विद्युुतीय आरा, खड्गकोट र अर्बेनीको भयकोटमा एक घर एक करेसाबारी, प्लम्बिङ र मोबाइल तालिम, बंगुर र बोका वितरण, स्वास्थ्य स्वयम्सेविकालाई झोला वितरणलगायतका काम गरेको सामाजिक कार्यकर्ता एवं खड्गकोटका स्थानीय रामजी ढकालले बताए ।
यसरी हेर्दा कालीगण्डकी गाउँपालिकाका गरिब, दलित, पछाडी परेका र असहाय एकल महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकको पहुँचमा कार्यक्रम पुगेको देखिँदैन । गाउँपालिकाको वडा नं. १ को गिदुवा, तुथुम, देउरालीको माथिल्लो भेग, अर्बेनीको भयकोट, बिसौनालगायतका दलित बस्तीमा यो कार्यक्रम नपुगी पहुँचका आधारमा खड्गकोटमा मात्रै लगिएको स्थानीयले आरोप लगाउँदै आएका छन् । आगामी वर्ष नसमेटिएका भेगलाई समेटेर लैजाने ढकालले दाबी गरे ।
मालिका गाउँपालिकाले शिक्षाा स्वास्थ्य, कृषिलगायतका कार्यक्रममा यो रकम खर्च गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए । “म केही दिन अघि मात्र आएकाले यही पाएको छु, वास्तविक कार्यक्रमबारे मैले पनि अध्ययन नै गर्नुपर्छ,” उनले भने ।
यता मदाने गाउँपालिकाले भने बाख्रापालन, खोरनिर्माण, बर्थिङ सेन्टर व्यवस्थापनसँगै मलायागीरीमा साम्रगी खरिद, पुर्कोटदहमा बेबी वार्मर खरिद, मलागीरी मै गर्भवती महिलाका लागि अण्डा र हर्लिक्स वितरण, माध्यमिक विद्यालयमा स्वास्थ्य सचेतनाका कार्यक्रम, पशुस्वास्थ्य शिविर लगायतमा यो रकम खर्चिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए ।

सुरुवाती वर्ष भएकाले सोचे अनुरुप भएन
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम जिल्ला व्यवस्थापन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले यस वर्ष सुरुवाती कार्यक्रम भएकाले कार्यक्रम सोचेअनुसार गर्न नसकिएको बताए । पराजुलीले कतिपय पालिकाका योजना जेठ अन्तिमसम्म पनि परिमार्जन गर्नुपरेको, मूर्त योजना बनाउन नसकिएको र कार्यविधिमा पनि अस्पस्टताका देखिएका कारण समस्या आएको भन्दै आगामी वर्ष परिमार्जन गर्दै कार्यक्रम आउने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्