निर्यात बढाऊ

गत आर्थिक वर्षको तुलनामा यो वर्ष आयातको वृद्धिदर उच्च नभए पनि कुल वैदेशिक व्यापार सन्तोष मान्ने अवस्थामा छैन । आयात केही कम भएको मात्र हो । हाम्रो वैदेशिक व्यापारमा घाटाको खाडल धेरै कम भएको छैन । न त निकासी दर नै सन्तोष मान्ने अवस्थामा छ ।
भन्सार विभागले बुधबार सार्वजनिक गरेको यो वर्षको सात महिना माघसम्मको वैदेशिक व्यापारको तथ्यांकले हाम्रो अवस्थामा कुनै पनि पक्षबाट सुधार आउन सकेको देखिँदैन । माघसम्म ९ खर्ब १९ अर्बको वस्तु आयात गरिएको छ । यो गत वर्षभन्दा १९.९ प्रतिशतले कमी हो । आयात घटेको बेला निर्यातमा सुधार ल्याउन सकेको भए फाइदा पुग्थ्यो । तर, त्यसमा हामी चुकेका छौं ।
आयातको दरभन्दा निर्यातको दर झनै बढीले खस्केको छ । माघसम्म ९३ अर्ब ४३ करोड रुपैयाँबराबरका वस्तु निर्यात गरिएको अवस्था छ । यो गत माघसम्मको निर्यातसँग तुलना गर्दा २९.०३ प्रतिशतले कमी हो । निर्यात र आयात दुवै खस्केकाले कुल वैदेशिक व्यापार पनि २०.८४ प्रतिशतले घटेको छ । मुलुकले माघसम्म ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ व्यापारघाटा बेहोरेको छ ।
गत वर्षसँग तुलना गर्दा व्यापारघाटा कम भए पनि यो सानो रकम भने होइन । वैदेशिक व्यापारमा आयातको हिस्सा नै करिब ९१ प्रतिशत छ । यो भनेको ९१ रुपैयाँको सामान किन्दा मुस्किलले ९ रुपैयाँको सामान बेच्न सकेका छौं । हाम्रो जस्तो अर्थतन्त्रको संरचना भएको मुलुकमा वैदेशिक व्यापारमा सन्तुलन कायम गर्न नसक्दा आयात बढे पनि घटे पनि सरकारलाई समस्या पर्नेछ ।
आयात घट्दा होस् वा बढ्दा, सरकारलाई पर्ने समस्याको एउटै भरपर्दो उपाय निर्यात बढाउनु हो । तर, यही कुरामा हामी पछि पर्दै आएका छौं ।
हाम्रो राजस्व प्रणाली आयातमुखी बन्दै आएको छ । यस्तो अवस्थामा आयात घट्दा राजस्वमा कमी आएर समस्या पर्छ । यो वर्ष यही भएको हो । यो वर्ष करिब २० प्रतिशतले राजस्व असुली बढाउने लक्ष्य राखेर बजेट बनाइएको थियो । तर, आयात घट्दा पोहोरको जति पनि राजस्व संकलन हुन सकेको छैन । अहिले सरकार राजस्वकै कारण समस्यामा छ ।
अर्कातिर गत वर्ष आयात उच्च हुँदा राजस्व उठे पनि विदेशी विनिमय सञ्चितिमा गिरावट आएर सरकार समस्यामा परेको थियो । वर्षभरि नै मुलुक कतै श्रीलंकाको बाटोमा त छैन ? भन्ने बहस र टीकाटिप्पणी भएका थिए । आयात कम हुँदा सञ्चितिमा यो वर्ष फेरि सुधार आएको छ । यो सबै वैदेशिक व्यापारमा सन्तुलन कायम गर्न नसक्नुको समस्या हो ।
आयात घट्दा होस् वा बढ्दा, सरकारलाई पर्ने समस्याको एउटै भरपर्दो उपाय निर्यात बढाउनु हो । तर, यही कुरामा हामी पछि पर्दै आएका छौं । मुलुकको इतिहासमै गत वर्ष मात्र हाम्रो निर्यातले २ खर्ब रुपैयाँ छोएको थियो । यो वर्ष त्योभन्दा धेरै निर्यात पुर्याउनुपर्नेमा उल्टो ३० प्रतिशत हाराहारीले खस्केको छ । अहिलेसम्मको तथ्यांक हेर्दा यो वर्ष डेढ खर्ब हाराहारीमा मात्र निर्यात पुग्नेछ । जबकि आयात १५ खर्बबराबर पुग्ने देखिन्छ ।
यही हिसाबले हेर्दा पनि यो वर्ष हाम्रो वैदेशिक व्यापारघाटा १३ खर्ब हाराहारीमा पुग्नेछ । हाम्रो वैदेशिक व्यापारमा सबैभन्दा धेरै हिस्सा दुई छिमेकी मुलुक भारत र चीनसँग छ । भारतसँग अहिले नै व्यापारघाटा ५ खर्ब ४ अर्ब र चीनबाट १ खर्ब २४ अर्ब पुगेको छ । आयात मात्र होइन, निर्यात पनि यी दुवै मुलुकसँग धेरै हुने गरेको छ । त्यसैले सरकारले सबैभन्दा पहिले यी दुवै मुलुकमा निर्यात बढाउने रणनीति बनाउनुपर्छ ।
सरकारले दक्षिणी छिमेकी भारतको सीमा जोडिएका प्रान्तहरूको जनसंख्यालाई हेरेर मात्र निकासीको रणनीति ल्याए पनि अहिलेलाई धेरै पुग्छ । नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश, विहार, पश्चिम बंगाललगायतको जनसंख्या हाम्रो व्यापारका लागि पर्याप्त छ । यो जनसंख्याले के चाहन्छ ? उनीहरूलाई कुन वस्तुमा आकर्षित बनाउन सकिन्छ ?
सबैभन्दा पहिले त्यो हेर्नु बुद्धिमानी हुनेछ । त्यसपछि उत्तरी छिमेकी चीनको तिब्बत र समग्र चीनलाई हेरेर पनि सरकारले नीति बनाउन सक्छ । त्यसै पनि यी दुई मुलुकले हाम्रा अधिकांश निर्यातयोग्य वस्तुमा धेरै किसिमका छुट सुविधा दिएकै छन् । यी दुई मुलुकबाहेक हाम्रा केही वस्तुहरू तेस्रो मुलुकमा निर्यात भइरहेको अवस्था छ ।
खासगरी विगतमा राम्रो निर्यात भएका पस्मिना, तयारी पोसाक, गलैंचाको निर्यातलाई पुरानो साखमा फर्काउन सके पनि फाइदा पुग्नेछ । निर्यात नबढाएसम्म अर्थतन्त्रको रेमिटेन्समाथिको भर कम गर्न सकिँदैन । रेमिटेन्स आय दिगो नहुने भएकाले यसको विकल्प खोज्नैपर्छ र सजिलो विकल्प भनेको निर्यात बढाउनु नै हो ।
व्यापारघाटा कम गर्ने अर्को पक्ष इन्धन आयातलाई कम गर्ने पनि हो । अहिलेसम्मको आयातमध्ये सबैभन्दा धेरै इन्धन छ । माघसम्म १ खर्ब ७० अर्ब ४४ करोडको इन्धन आएको हो । अहिले विश्वका सबै मुलुक इन्धन प्रयोगलाई कसरी हुन्छ कम गर्ने भन्ने रणनीतिमा छन् । हामी पनि जसरी हुन्छ इन्धन आयात घटाउनमा लाग्नुपर्छ ।