पुस्तकमा कर : ज्ञानको प्रवाह रोक्ने एकतर्फी निर्णय «

पुस्तकमा कर : ज्ञानको प्रवाह रोक्ने एकतर्फी निर्णय

पुस्तक आयातमा सरकारले पुस्तकको बिक्री मूल्यको १० प्रतिशत शुल्क लगाउने निर्णय गरेकाले पुस्तकको मूल्य बढ्न जानेछ । सरकारले यो निर्णय नेपालको मुद्रण व्यवसायको काम बढाउने व्यवस्था गर्न गरेको हो भने पनि यो ज्ञानको प्रवाह रोक्न गरिएको एकतर्फी निर्णय हो । यसले हाम्रो जस्तो सानो बजारमा दुई–चारवटा प्रकाशकले विदेशबाट मुद्रण गर्ने संख्यालाई सोचेर धेरै विधामा तर थोरै संख्यामा आउने विदेशी प्रकाशनका साहित्य तथा गैरसाहित्य र क्याम्पसतहका विषयगत पुस्तकहरूको पनि आयात रोकिनेछ । जुन पुस्तक हामीलाई नेपालमा मुद्रण संख्या र कपिराइटका कारणले मुद्रण गर्न निकै कठिन छ, यदि ती पुस्तकको कपिराइट नै खरिद गरी मुद्रण गर्ने हो भने पनि बिक्री संख्याका आधारमा त्यसको लगानी उठ्न नेपाली प्रकाशकलाई निकै धौधौ पर्ने हुन्छ वा भनौं एउटा पुस्तकको लगानी पाँच–सात वर्षमा पनि उठ्दैन । साथै सरकारलाई पनि प्रकाशकले खरिद गर्न त्यसको कपिराइटबापत ठूलो मात्रामा अमेरिकी डलर बिदेसिने डर हुन्छ ।
पठन संस्कृति राम्रो भएको मुलुकहरूको दाँजोमा हाम्रो पठन संस्कृति निकै कम छ । यदि पठन संस्कृति राम्रो गर्ने हो भने सरकारले मुद्रण व्यवसायको गुणस्तर वृद्धि गर्न कागज, मसी, मेसिनको आयातमा सहुलियत दिनुका साथै मुद्रण व्यवसायलाई सहुलियत दरमा स्थान र बिजुली दिनुपर्छ, जसले गर्दा विदेशी प्रकाशनका मुद्रण कार्य पनि नेपालमै गर्न सकौं । चीन, मेक्सिको, टर्की, भारत यसका उदाहरण हुन्, अनि नेपालमा प्रकाशित पुस्तकलाई विदेशमा पठाउने प्रक्रिया सहज हुनुपर्छ । यसले नेपालमा विदेशी मुद्रा आर्जन र रोजगारी बढाउन मद्दत गर्छ ।
सबै उमेर, वर्ग, जाति, तहहरूमा पढ्ने बानीको विकास गर्ने कार्य गर्ने, त्यसको सुरुवात कुनै पनि नेपाली वा विदेशी प्रकाशकका गाइड, गेस पेपर, सोलुसनजस्ता प्रकाशन प्रतिबन्दित गर्नुपर्छ ।

अन्य गर्नुपर्ने मुख्य कार्य :
१. देशभर पुस्तक प्रदर्शनी गर्न लगानी गर्ने,
२. हरेक वर्षको देशको उत्कृष्ट प्रकाशन साथै पढ्नै पर्ने १ सय पुस्तक सूची तयार गर्ने,
३. पुस्तकहरूलाई विदेशी भाषामा अनुवाद गर्न प्रवद्र्धन गर्नेे,
४. नेपाली प्रकाशनका पुस्तकको कपिराइट बिक्री गर्न अभिप्रेरित गर्ने,
५. विद्यालय र सामुदायिक पुस्तकालय तथा सरकारी कार्यालयमा पुस्तकालयको मापदण्ड बनाई पुस्तकालय स्थापना गर्न लगानी गर्ने,
६. अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा देशको सहभागिता सुनिश्चित गर्ने कार्य गर्ने । जस्तो— फ्य्रांकफर्ट, बेइजिड, नयाँ दिल्ली तथा गोटेनवर्गजस्ता पुस्तक प्रदर्शनीहरूमा गेस्ट अफ अनर कन्ट्रीका रूपमा भाग लिने प्रयत्न गर्ने । यसले पर्यटनमा पनि टेवा पु-याउनेछ ।
—राजीवधर जोशी

प्रतिक्रिया दिनुहोस्