खाडीचौर–चरिकोट सडक निर्माण २ वर्षमा ५० प्रतिशत «

खाडीचौर–चरिकोट सडक निर्माण २ वर्षमा ५० प्रतिशत

ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण खाडीचौर–चरिकोट निर्माण पूरा गर्ने समयमा ५० प्रतिशतमात्र भौतिक प्रगति भएको छ । सडक विस्तार योजना निर्माण पूरा गरी हस्तान्तरण गर्ने समयमा पछिल्लो समय कामको गति सुस्त भएको हो  ।

सडक विस्तारको काम सुस्त भएर यात्रुले सास्ती भोग्नु परेपछि आयोजना व्यवस्थापन पक्ष र निर्माण व्यवसायी पक्षबीच भएको संवाद कार्यक्रममा सडक विस्तार आयोजना प्रमुख केदार नेपालले निर्माण व्यवसायीकै कारण कामको प्रगति हुन नसकेको जानकारी दिए । काममा ढिला भएपछि दोलखा र सिन्धुपाल्चोकका नवनिर्वाचित सांसद, गाउँपालिका अध्यक्षहरु, आयोजना पक्ष, परामर्शदाता र निर्माण व्यवसायीबीच संयुक्त छलफल आयोजना भएको थियो ।एक्जिम बैंक अफ इन्डियाको ऋण लगानीमा सरकारले सडक विस्तार गरिरहेको छ । तोकिएको समयमा काम सम्पन्न नभएपछि दोलखा र रामेछापका हजारौं यात्रु उक्त बाटोमा कष्टकर यात्रा गर्न बाध्य छन् । कार्यक्रममा दोलखाबाट निर्वाचित प्रतिनिधिसभा सांसाद पार्वत गुरुङले बहाना नबनाई समयमा काम पूरा गर्न आग्रह गरे । सिन्धुपाल्चोकबाट निर्वाचित प्रदेश सांसद सरेस नेपालले अप्ठ्यारो भए जनप्रतिनिधिले समाधान गर्ने तर काममा ठग्न नपाइने बताए ।

अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको खाडीचौरबाट सुरु हुने लामोसाँघु–जिरी सडकको खाडीचौरदेखि चरिकोटसम्मको ५५ किमि खण्ड २ प्याकेजमा निर्माण भइरहेको छ । पहिलो खण्डको जिम्मा पाएको निर्माण कम्पनीको काम २४ महिनामा पूरा हुने गरी २०७२ भदौमा सम्झौता भए तापनि समयमा काम नसकिएपछि एक वर्ष म्याद थप भएको छ ।थपिएको समयमा पनि थप रकम नपाएको भन्दै ४ महिनादेखि रोकिएको काम केही दिन यता पुनः सुरु भएको छ । 

पहिलो प्याकेजको खाडीचौदेखि मुडेसम्म २५ किमिमा भारतीय कम्पनी सिमाञ्चल, नेपाली कम्पनीहरू गौरीपार्वती र सुनौला खिम्तीले संयुक्त रूपमा ठेक्का पाएका छन् ।  पहिलो प्याकेजको काम ३९ करोड २६ लाख ५२ हजारमा सम्झौता भएकोमा ६० प्रतिशत भुक्तानी भइसकेको छ । त्यस्तै दोस्रो प्याकेजको मुडेदेखि चरिकोटसम्मको ३० किमिका लागि भारतीय कम्पनी सकिल हैदर संगथको साझेदारीमा शंकरमाली, सुनौला खिम्ती नेपाली कम्पनीले ठेक्का जिम्मा पाएका हुन् । ७० करोड ७० लाख ३४ हजारमा ठेक्का सम्झौता गरेको छ । 

दुवै ठेक्का अन्तर्राष्ट्रिय बोलपत्रअनुसार सम्झौता भएको आयोजना प्रमुख नेपालले जानकारी दिए । दोस्रो प्याकेजको सुरु ठेक्का सम्झौता २०१८ मार्चसम्म हो । तर पहिलो प्याकेजमा पनि समय थप भएकाले दोस्रो प्याकेजमा पनि केही समय थप हुने उनले बताए ।

सडकको परामर्शदाता कम्पनी इटेको नेपालका टिम लिडर राजाराम काफ्लेले चरिकोट क्षेत्रको केही विद्युत् पोल हटाउने बाहेक सडक विस्तारमा कुनै पनि समस्या नभएको बताए । भूकम्पपछिको ढिलाइ र चुनावका कारण काममा ढिलाइ भएको उनले बताए । 

सडक विस्तार सुरुमा साँढे ५ मिटर चौडाइ बनाउने गरी ठेक्का सम्झौता भए तापनि पछि ७ मिटरको सडक चौडाइ बनाउने योजनाअनुसार भेरियसन भएको हो । ठेक्का सम्झौताभन्दा बढी कामको भुक्तानीका लागि १५ प्रतिशतसम्म सडक विभाग र सोभन्दा माथिका लागि मन्त्रालयबाटै मूल्यांकन हुने जानकारी दिए । २ प्याकेजमध्ये सबैभन्दा बढी पहिलो प्याकेजमा २५ देखि ४० किमि क्षेत्रमा भएको बताए । 

० देखि ९ किमिसम्म जमिनको केही कमजोर भू–बनौट भएकाले त्यहाँको थप पहिरोको थप मूल्यांकन गर्न समय लाग्ने भए पनि अन्य क्षेत्रको बाँकी काम गर्न निर्माण व्यवसायीलाई उनले आग्रह गरे । आउँदो जेठसम्म पहिलो ९ किमि र अन्तिम १५ किमि कालोपत्रे गर्न सकिने भए तापनि अन्य काममा भने गाह्रो भएको बताए ।ठेवा वाल, कटिङ, नालीलगायतका संरचना बनाउन समय लाग्ने भएकाले ग्राभेल बिच्छ्याउन र कालोपत्रे गर्ने काम छिटो हुने बताए । ग्राभेलका लागि दुवै ठाउँमा क्रसर स्थापना भइसकेको छ ।दोस्रो प्याकेजका आधिकारिक ठेकेदार प्रतिनिधि दीपक सापकोटाले ८ महिना थप भए सम्पूर्ण काम पूरा हुने प्रतिबद्धता व्यक्त गरे । २५ देखि ४० किमिसम्म आफ्नो आन्तरिक व्यवस्थापन भएकाले मिलाउने बताए । पहिलो प्याकेजका आधिकारिक प्रतिनिधि धर्मराज भण्डारीले भुक्तानी र साइट पाउन समय लागेको बताए ।

दिलबहादुर केसी

प्रतिक्रिया दिनुहोस्