Logo

‘अर्थतन्त्र सुधारका लागि निर्यातजन्य उद्योगलाई प्रोत्साहन’

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईले अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि निर्यातजन्य उद्योगमा केन्द्रित हुनुपर्ने बताएक छन् । बिहीबारदेखि सुनसरीको धरानमा शुरु भएको ‘धरान एक्स्पो २०७९’ लाई सम्बोधन गर्दै संघईले रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन तथा व्यापार घाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प नभएको बताएक हुन् ।

सरकारले यसका लागि नीतिगत सहजता बनाएर लगानीको वातावरण तयार गर्नुपर्नेमा उपाध्यक्ष संघाईको जोड थियो । निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्न सरकारले लिएको आठ प्रतिशत छुटको नीति सकारात्मक रहेको बताउँदै संघइले यसको कार्यान्वयन छिटो र प्रभावकारी हुनु जरुरी रहेको बताए ।

“आठ प्रतिशत छुट प्राप्त रकम वस्तु निर्यात गरेको वर्ष दिनपछि मात्र पाइने झन्झटिलो प्रक्रिया पुनरावलोकन गरेर महिना दिनभित्रै छुट प्राप्त रकम फिर्ता पाउने व्यवस्था हुनुपर्छ” संघइले भने । बैंकको चर्को ब्याजदरका कारण उद्योगी–व्यवसायीलाई परेको समस्याको प्रसंग उल्लेख गर्दै संघईले यसको निकास छिट्टै निस्किने विश्वास व्यक्त गरे ।

खुला बजारको नीतिअनुसार नै ब्याजदर तलमाथि भएको उल्लेख गर्दै निकासको उपाय खोजेर सहजीकरणको बाटोमा अघि बढ्नुपर्नेमा उनको जोड छ । आफूलाई गाह्रो–साह्रो परेका बेलामा बैंकबाट ऋण लिने तर अहिले आएर तिर्दिन भन्न नपाइने संघईको भनाइ थियो । अहिले सिंगो मुलुक नै आर्थिक संकटबाट गुज्रिरहेको बताउँदै संघईले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नेतर्फ सरकार र निजी क्षेत्र दुवैको हातेमालो एवं सहकार्य जरुरी रहेको उल्लेख गरे ।

एक्स्पो फागुन २० गतेसम्म चल्ने छ । पर्यटन, कृषि, सूचना प्रविधि, कला, संस्कृति, शिक्षा तथा औद्योगिक व्यापारको प्रवद्र्धन गर्ने मुल लक्ष्यसहित शुरु भएकोे एक्स्पोमा लगानी सम्मेलन तथा ‘बीटूबी’ बैठक समेत सञ्चालन गरिने आयोजक सुनसरी उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्