Logo

जोखिम बढाउँदै ग्रामीण सडक

प्राविधिकको स्टिमेटबिना जथाभावी निर्माण गरिएका कच्ची सडकका कारण उदयपुर जिल्लाको ग्रामीण क्षेत्र कुरुप र यात्राका लागि खतरा बन्दै गएका छन् । सरकारी मापदण्डविपरीत वातावरणीय प्रभाव मूल्यांकन बिना नै प्राविधिक दृष्टिले उच्चजोखिम मानिएका क्षेत्रमा समेत सडक निर्माण गर्ने होडबाजीले एकातिर गाउँलाई कुरुप बनाएको छ भने जोखिम पनि उत्तिकै बढाएको छ ।
जिल्लाका चार नगरपालिका र चार गाउँपालिकालाई समेटेर निर्माण गरिएको सडक सञ्जालका अधिकांश भाग सवारी सञ्चालनका लागि जोखिमपूर्ण छन् । गाउँबस्तीमा पर्ने असरबारे ख्याल नगरी बनाइएका धेरै मोड र साँधुरा सडकका कारण विकासभन्दा बढी जोखिम निम्तिएको स्थानीयबासी बताउँछन् । “विगतमा हचुवाका भरमा सडक खनिए, ती अहिले जोखिममा छन्,” रौतामाईका बमेन्द्र बुर्जा मगरले भने, “कतिपयमा यातायात सञ्चालन हुन सक्ने अवस्थै छैन ।”
वातावरणीय प्रभाव मूल्यांकनको समेत वास्ता नगरी जथाभावी ट्रयाक खोलिएका सडकमा ट्र्याक्टरसमेत सञ्चालन गर्न समस्या हुने गरेको स्थानीय बताउँछन् । सडक बनाउँदा अपनाउनुपर्ने मापदण्ड नअपनाइँदा जोखिम बढी र विकास कम भएको उनीहरूको बुझाइ छ । प्राविधिक दृष्टिकोणले ट्र्याक खोल्नै नमिल्ने स्थानमा समेत जथाभावी ट्र्याक खोल्नाले गाउँमा दुर्घटना हुने गरेको छ । “सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा सडक दुर्घटना बढ्दै जानुमा जथाभावी खनिएका सडक नै प्रमुख कारण हुन्,” आँपटारका टामिन्द्र राई भन्छन्, “बढी मोड, ठाडो उकालो र ओरालो हुने भएकाले ग्रामीण सडकमा दुर्घटना हुने गरेको हो ।” यस्ता सडकमा सवारी सञ्चालनका लागि लाइसेन्स नै नलिएका व्यक्तिले यात्रु बोक्ने जीप तथा बस चलाउने गरेको उनले बताए ।
वर्षायामको बाढी र पहिरोका कारण हुने मानवीय क्षति बढाउने यस्ता सडक निर्माण गर्न नदिन सम्बन्धित निकायले तत्काल ध्यान नदिए ग्रामीण क्षेत्र दिनानुदिन कुरुप र जोखिमपूर्ण बन्दै जाने स्थानीयको बुझाइ छ । जताततै स्क्याभेटर लगाएर सडक बनाउँदा प्राकृतिक रूपमा पलाएका पानीका स्रोतसमेत सुक्दै गएको र गाउँमा खानेपानीको समस्या विकराल हुन थालेको उनीहरू बताउँछन् । “प्राविधिक स्टिमेट नै नगरी हचुवाका भरमा आफुखुसी यस्ता सडक निर्माण हुँदै आएका छन्,” मुर्कुची बजारका श्याम तामाङ भन्छन्, “यस्तै काम गर्दै जाने हो भने ग्रामीण क्षेत्रको सौन्दर्यता त हराउँछ नै आफ्नै कारणले आफै विस्थापित हुने दिन नआउला भन्न सकिन्न ।”

 –गोपाल पोखरेल

प्रतिक्रिया दिनुहोस्