यार्सा नभेटिएपछि ऋण तिर्न पाटनबाटै कालापहाड «

यार्सा नभेटिएपछि ऋण तिर्न पाटनबाटै कालापहाड

रित्तो हात घर फर्किएका अधिंकाश यार्सा संकलक बाटो खर्च पनि 
 जुटाउन नसक्दा पाटनबाटै ऋण निकालेर गएका छन् ।

जुम्ला पातारासी गाउँपालिका–१ लासीका ३५ वर्षीय मुनबहादुर बुढा डोल्पा तथा मुगुका विभिन्न पाटनमा यार्सा टिप्न जान थालेको झण्डै एक दशक भयो । वर्षभरीको घरखर्च चलाउन, छोराछोरीको पढाई खर्च जुटाउन हरेक वर्ष जोखिम मोल्दै यार्साको संकलनका लागि उनी पाटन जान्थे । विगतका वर्षमा कम्तिमा ६०-७० हजारभन्दा बढी पैसा कमाएर आउँथे । तर, यसपालि भने पाटनबाट रित्तो हात घर फर्किएका छन् उनीलगायत सयौं स्थानीय ।
कतिपय घर फर्केका छन् भने कतिपय पाटनबाटै ऋण तिर्न भारतको कालापहाड छिरेका छन् । अधिंकाश युवा पाटनबाटै ऋण तिर्न कालापहाड गएका छन् । जुम्ला, जाजरकोट, सल्यानलगायत कर्णालीका विभिन्न जिल्लाबाट यार्सा टिप्न गएका युवाहरू रित्तो हात घर फर्किने अवस्था बुझेपछि पाटनबाटै कालापहाडतर्फ लागेका हुन् । यार्सा टिपेरै वर्षभरीको घर खर्च चलाउने सोचेका पातारासीका दिपक बुढा, रित्तो हात फर्किने संकेत भएपछि मुगुको माझिपाटन बाटै भारततर्फ लागेका छन् ।
उनका आफन्त बुढापाका मुनबहादुर बुढा घर आए पनि केही समयपछि कालापहाड जाने समेत तयारीमा छन् । पातारासी पेरेका झण्डै ३ सय घरधुरीमध्ये १ सय ५० भन्दा बढी युवा पाटनबाटै यार्सा संकलन गर्दा लागेको ऋण तिर्न कालापहाड गएका छन् । “एक महिनामै कतिपयले यार्सा टिपेर वर्ष दिनका लागि घरखर्च जुटाउँथे तर यसपालि चिसोले यार्सा पाउन नसकेर रित्तै फर्किनुले थप पीडा भएको छ । घर नफर्किएर पाटनबाटै कालापहाडतर्फ गएपछि घरपरिवारका सदस्यमा निकै चिन्ता छाएको छ ।
महिनौं दिन डोल्पाकोे कागमारा, मुगुको माझिथान पाटनमा यार्सा खोजे पनि घर फर्किंदा रित्तै हात फर्कनु परेको अर्का स्थानीय रामबहादुर बुढाले बताए । उनका अनुसार घरबाट लिएको बाटो खर्च १५ हजार खर्चेर पनि झण्डै ३० हजार ऋण लागेको छ । रित्तै फर्किनुपर्दा निकै निरास अनुहार लगाएका अर्का स्थानीय देवीलाल बुढाले घर फर्किने खर्च जुटाउन मुस्किल परेको सुनाए ।
“गत वर्ष मैलै ६० हजारको ल्याएको थिएँ, तर यसपाली ६० रुपैयाँ पनि कमाउन सकिएन,” उनले दुःखेसो व्यक्त गरे । पाटन जाँदा लगेको बाटो खर्चको रकम सकिएपछि पाटनमै ऋण सापटी गरेर घर फर्किन बाध्य भएको उनको भनाइ छ । उनले भने, “यसपाली मुगुको माझिथान पाटनमा निरन्तर पानी र हिमपात भएपछि यार्सा टुसाउन नपाएकोले त्यस पाटनमा जाने मजस्ता हजारौँ स्थानीय रित्तो हात घर फर्किएका छन् ।”
न घरको काम न कमाउन सकियो भन्दै स्थानीय मानसिंह बुढाले पनि पाटनमा निकालेको ऋण तिर्न अब कालापहाड जाने तयारी गरेको बताए । अलिअलि भेटिएको यार्सा पनि हिमपात र अत्यधिक चिसोका कारण कालो भएर कसैले किन्न नमानेपछि घरमै थन्काउनुको विकल्प नरहेको उनको भनाइ छ । उनका अनुसार गत वर्ष प्रतियार्सा ८ सयदेखि १ हजारसम्म मूल्यमा बिक्री गर्ने गरेका हुन्थ्यो । तर, यसपाली १ सयमा पनि कसैले लिन नमानेको उनको भनाइ छ । माझिपाटन मुगुमा ३० किलो चालमको १६ हजार हालेर खाएका उनीहरू महँगीले एकातर्फ ढाड सेकिएको र अर्कोतिर यार्सा नभेटिए समस्या भएको बताउँछन् ।
मूल्य घटेका कारण कसैले दुई–तीन सयमै समेत बेचेका छन् । कसैले घाटा मानेर राखेका छन् । यार्सा नपाएको पीर छँदै थियो तर मु बहादुरका छोरा देवीलाल बुढा पाटनमै बिरामी परेपछि झनै कष्ट भएको सुनाए । देवीलाल, मुनबहादुर, मानबहादुर प्रतिनिधिपात्र मात्रै हुन् । तर, यार्सा टिपेर मनग्ये आम्दानी गर्ने सोच बनाएर पाटन गएका जुम्लाका हजाराँै मानिस अनपेक्षित रुपमा यसपाली रित्तै घर फर्किएका छन् । ।

प्रतिक्रिया दिनुहोस्