Logo

नेशनल लाइफ इन्स्योरेन्स ३६औं वर्षमा

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ३५ औं वर्ष पुरा गरी ३६औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३६औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडाैंमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो जसमा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

देशभरमा ३४ वटा बाल र बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ । यसैगरी कर्मचारीहरु माझ विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो व्यवसायिक प्रगति गरेको छ ।

संस्थापक समूह र सर्वसाधारण समूहको ५५:४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश वितरण गरेको थियो । कम्पनीको जीवन बीमा कोषमा ५६ अर्ब रकम जम्मा भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना बीमितहरुलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको छ । आ.व.२०७७/०७८ को बीमांकीय मूल्यांकन पश्चात बीमितलाई न्यूनतम प्रति हजार ६३ रुपैयाँदेखि अधिकतम् प्रति हजार ८५ रुपैयाँ सम्म प्रदान गरेको छ ।

कम्पनीले चालु वर्षमा शाखा कार्यालय नेपालगन्जमा आफ्नो भवन निर्माण गर्ने कार्य सुरु गरिसकेको छ । ११७ शाखा कार्यालय संख्या र ४६० कर्मचारी संख्या रहेको यस कम्पनीमा १ लाख भन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् । कम्पनीले स्थापनाकाल देखि २०७९ साल पौष मसान्त सम्म कूल बीमाशुल्क आम्दानी ८५ अर्ब १ करोड आर्जन गरेको छ भने कूल ३८ लाख ६० हजार बीमालेख जारी गरेको छ र कूल २९ अर्ब ६० करोड बराबर बीमा दावी भुक्तानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्