हात्तीपाइले रोग निवारणमा चुनौती «

हात्तीपाइले रोग निवारणमा चुनौती

लमजुङमा हात्तीपाइले रोग निवारणमा चुनौती देखिएको छ । जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानमा सबै नागरिकले औषधि सेवन नगर्दा रोग निवारणमा चुनौती देखिएको हो । जिल्लामा सन २००१ देखि हात्तीपाइले रोगको अवस्थाबारे सर्वेक्षण गरी औषधि खुवाउने अभियान सुरु भएको थियो ।

विभिन्न चरणमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाएर सर्वेक्षण गर्दा पनि निर्धारित लक्ष्य प्राप्त नभएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । जिल्लामा १३ चरणसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान चले पनि लक्ष्यअनुरुप नियन्त्रण नभएको तथ्यांकले देखाएको छ । राष्ट्रिय अभियानअन्तर्गत लमजुङमा १३औं चरणमा गत वर्ष हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइएको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार ६ चरणमा अभियान सकिने भए पनि लमजुङमा अझै जोखिम रहेको भन्दै अभियानलाई निरन्तरता दिइएको छ । जिल्लामा पहिलो पटक २००१ मा हात्तीपाइले रोगसम्बन्धी सर्वेक्षण भएको थियो । त्यतिबेला जिल्लामा हात्तीपाइले रोगको अवस्था ५ दशमलव ७६ प्रतिशत रहेको थियो । त्यसपछि २०१४ मा जिल्लाको राइनास र सुन्दरबजारमा पुन: सर्वेक्षण गर्दा राइनासमा ५ दशमलव ६६ र सुन्दरबजारको भोटेओडारमा शून्य प्रतिशतमा झरेको थियो ।

सन् २०१६ मा राइनास केन्द्रित भएर पुन: सर्वेक्षण गर्दा राइनासको चक्रतीर्थमा ६ दशमलव ३१ र धमिलीकुवामा ४ दशमलव ३३ प्रतिशत पोजेटिभ देखिएको थियो । विश्व स्वास्थ्य संगठनको नियमानुसार पुन: थप दुई वर्ष औषधि खुवाएर सर्वेक्षण गर्दा चक्रतीर्थमा १ दशमलव २९ र धमिलीकुवामा तिन दशमलव ८६ प्रतिशत पोजेटिभ देखिएको थियो ।

यसअघि पछिल्लो पटक २०२० मा पुन: सर्वेक्षण गर्दा चक्रतीर्थमा चार दशमलव ९ र धमिलीकुवामा दुई दशमलव ९ प्रतिशत भेटिएपछि पुन: दुई वर्षका लागि औषधि खुवाउने अभियानले निरन्तरता पाएको थियो । रोग नियन्त्रणमा नआएसँगै जिल्लामा पुन: १४औं चरणमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन हुने भएको छ । रोग निवारणका लागि राष्ट्रिय अभियानअन्तर्गत ११ फागुनदेखि जिल्लामा औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

११ फागुनदेखि प्रत्येक स्थानीय तहअन्तर्गत वडा तथा टोलमा औषधि खुवाउने अभियान सञ्चालन गरिने कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार २००९ बाट नेपालमा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु गरिएको हो । जिल्लामा हाल हात्तीपाइले रोगअन्तर्गत खुट्टा सुन्निएका ३९ जना रहेका छन् । जसमध्ये राइनासमा मात्रै ३० जना छन् । त्यसैगरी ९१ जना हाईड्रोसिल सम्बन्धी समस्या भएकामध्ये राइनासमा मात्रै ७६ जना रहेको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्