सवारीचालकमा कतार र यूएई जान रोक «

सवारीचालकमा कतार र यूएई जान रोक

सरकारले पछिल्लो समय सवारीचालकका रुपमा खाडीका प्रमुख दुई श्रम गन्तव्यमा जान नेपाली युवालाई रोक लगाएको छ । विषेशगरी मोटरसाइकल राइडर र ट्याक्सी ड्राइभरमा वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति दिने काम बन्द गरिएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।

पछिल्लो समय दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभरको रुपमा रोजगारीमा जाने नेपाली दुर्घटनालगायत समस्यामा पर्न थालेपछि रोक लगाइएको विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए । “कतार र यूएई जाने नेपालीले सवारीसाधनको अनुमतिपत्र लिन लामो समय बेरोजगार बस्नुपर्ने र प्रक्रिया झन्झटिलो भएका कारण तत्कालका लागि श्रमस्वीकृति रोक्का गर्ने निर्णय गरिएको हो,” महानिर्देशक आचार्यले कारोबारसँग भने, “नेपालबाट ठूलो संख्यामा बाइक राइडर र ट्याक्सी ड्राइभरको रुपमा जाने युवाको उद्धार गर्न विभागमा निवेदन पर्न थालेपछि सुरक्षाका लागि भए पनि रोक्नुपर्ने देखियो ।”

नेपालमा सवारीचालक अनुमतिपत्र लिएकाहरु पनि ट्राफिक नियम फरक परेका कारण दुर्घटनामा पर्ने गरेको विभागले जनाएको छ । यहाँ लाइसेन्स लिएका नेपालीले पनि त्यहाँबाट लाइसेन्स लिन लामो समय पर्खनुपर्दा अलपत्र पर्ने गरेको विभागको भनाइ छ । विभागले सूचना सार्वजनिक गरेर बाइक राइडर र ट्याक्सी ड्राइभरका लागि दुई देशमा जान नपाउने जनाएको छ ।

कोभिडपछि नेपाललगायत अन्य श्रम गन्तव्यबाट यूएई र कतारका विभिन्न सेवा क्षेत्रमा ठूलो संख्यामा नेपाली गएका र समस्यामा पर्ने गरेका छन् । कतिपय रोजगारदाताले सम्झौताअनुसार सेवासुविधा नदिने गरेका कारण पनि धेरै नेपाली बेरोजगार बन्ने गरेका छन् । कतिपय अवस्थामा सवारीसाधन सञ्चालन गर्दा ट्राफिक जरिवानामा नै अधिकांश तलब काटिने गरेका कारण नेपाली निराश हुने तथा विभिन्न मानसिक समस्या देखिने गरेको छ ।

नेपालबाट विशेषगरी पिजा तथा अन्य खाद्यवस्तु डेलिभरी गर्नका लागि बाइक राइडरमा युवाहरु कतार र यूएई जाने गरेका छन् । यसैगरी विभिन्न सप्लायर कम्पनीले त्यहाँ ट्याक्सी सञ्चालन गर्न न्यून सेवासुविधामा नेपालीलाई ड्राइभरको रुपमा लैजाने गरेका छन् । खाडी राष्ट्रमा त्यहाँको लाइसेन्स परीक्षा पास गरेपछि मात्र सवारीसाधन चलाउन पाउने कानुनी व्यवस्था छ ।

विभागले ती श्रम गन्तव्यमा जाने अधिकांश श्रमिकहरू समस्यामा परेको, स्वीकृत मागपत्र बमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको, सहज रुपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय कामविहीन भई बस्नुपरेको जनाउँदै श्रमस्वीकृति बन्द गरिएको सूचना सार्वजनिक गरेको छ ।

“अधिकांश श्रमिकहरू धेरै पटक ट्राफिक कारवाहीमा परी ठूलो रकम जरिवाना बुझाउनुपरेको र सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासनसम्बन्धी ज्ञान र अनुभवको कमीले गर्दा दुर्घटनासमेत हुने गरेको छ,” विभागले जारी गरेको सूचनामा भनिएको छ, “यस्ता समस्यासहित दिनहुँजसो विभागमा उजुरी तथा गुनासोहरू आइरहेकोले यी मुलुकहरूमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा श्रमिक पठाउन सुरक्षित नदेखिएकोले अर्को निर्णय नभएसम्मको लागि पूर्वस्वीकृति प्रदान नगर्ने निर्णय भएको छ ।” साथै बाइक राइडर र ट्याक्सी ड्राइभरको मागपत्र प्रमाणीकरण नगर्न दुबई र कतारस्थित नेपाली राजदूतावासमा समेत अनुरोध गरिएको छ । आवश्यक अध्ययन गरेर यी पदका लागि श्रमस्वीकृति खुला हुने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्