Logo

नबिल बैंक र महिला उद्यमी महासंघबीच सम्झौता

नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन) बीच साझेदारी गरिएको छ । साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफविनका अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गरेका छन् । महिला उद्यमीलाई प्रोत्साहन तथा सशक्तिकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्यले गरिएको समझदारी अन्तर्गत नबिल बैंकले आफ्ना शाखामा महिला उद्यमीका उत्पादनको लागि स्टल उपलब्ध गराउने भएको छ ।

एफविन अन्तर्गतका महिला उद्यमीलाई नबिल बैंकको नबिल सामाजिक उद्यमशीलता (एनएसएसई) कार्यक्रम सम्बन्धी जानकारी तथा तालिममा सहभागी गराउने साझेदारीमा उल्लेख छ । समझदारीअनुसार पहिलो चरणमा एफविनले हरेक महिना एकपटक नबिल बैंकको केन्द्रिय कार्यालयमा स्टलहरु लगाउने छ । यी स्टलमा नेपाली उद्यमीद्वारा उत्पादित उत्पादन रहनेछन् ।

यस प्रकारको नेपाली उत्पादनले नबिलका कर्मचारी र यसका ग्राहकको नेपाली उत्पादनप्रति सकारात्मक व्यवहार परिवर्तन गर्न मद्दत गर्ने अपेक्षा राखिएको बताइएको छ । वित्तीय पहुँच, उद्यमशीलता र वित्तीय साक्षरता तालिमले महिला सशक्तिकरणलाई बढावा दिने विस्वास लिएको बैंकले जनाएको छ । साझेदारी अन्तर्गत दिगो विकासका १, ५, ८ र १७ नम्बरका लक्ष्यहरू समेटिने छन् ।

प्रतिक्रिया दिनुहोस्