घुमाउनेमा मोटरेबल पुल निर्माण सुरु «

घुमाउनेमा मोटरेबल पुल निर्माण सुरु

घुमाउनेमा मोटरेबल पुल निर्माण सुरुघुमाउनेमा मोटरेबल पुल निर्माण सुरुकारोबार संवाददातादमौली, २२ माघदमौली–नारायणगढ जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गको घुमाउने त्रिशूली नदीमाथि मोटरेबल पुल निर्माण सुरु भएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड बीचमा पर्ने घुमाउनेमा करिब १५० मिटर लामो पक्की पुलको काम माघ पहिलो सातादेखि निर्माण सुरु भएको हो । पुलको हाल जग खन्ने काम सुरु भएको छ । साविक गण्डकी र धौलागिरि अञ्चलको अधिकांश जिल्लालाई नारायणगढ र तराईसँग जोड्ने मुग्लिन–नारायणगढ सडकको विकल्पमा दमौलीबाट बेलबास हुँदै सेती नदीको तीरैतीर व्यास नपा र देवघाट गाउँपालिका क्षेत्रको बुद्ध सिंह मार्गलाई लिइएको छ ।उक्त मार्गलाई घुमाउनेमा मुग्लिन–नारायणगढ सडकमा जोड्ने गरी विस्तार गर्न पक्की पुल निर्माण सुरु गरिएको हो । उक्त पुलको निर्माणपछि नारायणगढ जान पोखरा, बाग्लुङ, पर्वत, बेनी, स्याङजा र दमौलीका बासिन्दाले डुम्रे, आबुँखैरेनी र मुग्लिन सडक प्रयोग गर्नु पर्दैन । अहिले मुग्लिन–नारायणगढ सडक विस्तारको क्रममा घन्टौं जाममा फस्नु परेपछि घुमाउनेमा पुलको आवश्यकता बढेको हो ।९ करोडको लगानीमा आगामी ४ वर्षभित्र पुल बनाइसक्ने गरी हेटौंडाको मृत सञ्जीवनी निर्माण कम्पनीलाई ठेक्का दिइएको सडक डिभिजन कार्यालय दमौलीका इन्जिनियर गौतम श्रेष्ठले जानकारी दिए । पुल फुटपाथसहित ११ मिटर चौडाइको हुनेछ । डबल लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहने इन्जिनियर श्रेष्ठले बताए । यो पुल अत्याधुनिक प्रविधिको आर्क डिजाइनमा बनाइने छ । अहिले पनि तनहुँको दमौलीबाट घुमाउने घाटसम्म नियमित रूपमा साना बस सञ्चालन भएका छन् । तर पुल नहुँदा ती सवारी नारायणगढ–मुग्लिन सडकखण्डसम्म पुग्न सक्दैनन् । दमौलीदेखि घुमाउनेसम्म ३२ किमि छ । सामान्य ग्राभेल अवस्थामा रहेको यस मार्गको स्तरोन्नतिको काम भइरहेको छ । पुल निर्माण र सडकको स्तरोन्नतिको काम सँगसँगै अघि बढाइने योजना रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्