पुल निर्माणसँगै स्थानीय खुसी

कृषि सडकअन्तर्गत काभ्रेको डाँडापारि जाने सडकको पाट्नेखोलामा पुल बनेपछि स्थानीय खुसी भएका छन् । विकट क्षेत्र खोपासी–ढुंखर्क–कामीडाँडा हुदै डाँडापारि क्षेत्रको ताल्ढुंगा, गेल्डुङमा पर्ने पाट्नेखोलामा पुल बनेपछि स्थानीय खुसी भएका हुन् ।
पुल बनेपछि डाँडापारि भेगमा उत्पादन भएका तरकारी र दूध बर्खायाममा समेत पनौती, बनेपा र काठमाडौं लैजान सकिने बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले जानकारी दिए । “ढुंखर्कको गेल्डुङ सडकमा पर्ने खोलामा पक्की पुल बनेपछि तरकारी, दूधलगायत काठ, जडिबुटीलगायतका सामग्री सहरी क्षेत्रमा बिक्रीका लागि लैजान सहज हुन्छ,” अध्यक्ष तिमल्सिनाले भने, “पुलका कारण दक्षिणको ढोकाको रूपमा रहेको यस भेगको विकास हुन्छ ।”
पुलको पूर्वउपप्रधानमन्त्री एवं काग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गरे । ढुंखर्क हुँदै च्याल्टी–च्यासिङखर्क–महांकालचौर–भुग्देउ तथा डाडाँपारि भेग जाने उक्त पुल १ करोड ४८ लाखको लागतमा बनेको हो । पुल निर्माणसँगै ३० हजार स्थानीय लाभान्वित हुने स्थानीय पार्वती माविका प्रअ गोविन्दप्रसाद शर्माले जानकारी दिए । पुलको शिलान्यास भने पूर्वउद्योगराज्यमन्त्री एवं सांसद कञ्चनचन्द्र वादेले गरेका थिए ।
कार्यक्रममा पूर्वउपप्रधानमन्त्री सिंह, पूर्वउद्योगराज्यमन्त्री वादे, डोलिडारका महानिर्देशक जीवनकुमार श्रेष्ठ, बेथाञ्चोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, जिल्ला प्राविधिक कार्यालयका प्रमुख लोकनाथ रेग्मी, महेश पौडेललगायतको उपस्थिति थियो ।
अलमलमा सदरमुकाम जोडने सडक
जिल्लाको विकटक्षेत्र डाँडापारिका विभिन्न गाउँबाट मोटर गुड्न थालेका छन् । अरु जिल्लाका विभिन्न सडकसँग जोडिएर निर्माण भएका ती सडक स्थानीयका लागि काशी जाने कुतीको बाटो भने झंै भएको छ । त्यसमा पनि फरक दलका फरक नेताले विभिन्न स्थानबाट मोटरबाटो निर्माण गरेपछि कनिका छरे झैं बजेट छरेपछि आफ्नै जिल्लाको सदरमुकामसँग जोडिने सडक निर्माण कहिले सम्पन्न हुने भन्नेबारे स्थानीय अलमल छन् ।
बीपी राजमार्ग हुँदै सिन्धुली निस्किएर वनखु, घर्तीछापसम्म बस चलेको छ । ललितपुर जिल्लाको लगनखेलबाट बाग्मती किनार हुँदै ठूलादुर्लुङहुँदै डाँडापारिको केन्द्र विन्दु तालढुंगासम्म मोटरबाटो सञ्चालनमा आएको छ । तर जिल्लाबाटै विभिन्न ठाउँबाट खनिएका बाटोमा दलअनुसारको बाटो खन्दा कुनै बाटोले पनि डाँडापारि छुन सकेको छैन । मिल्चे महाँकालदेखि तालढुंगासम्म १५ वर्षभन्दा अगाडि नै विश्व खाद्य संगठनको कामका लागि खाद्यन्न कार्यक्रमअन्तर्गत ट्रयाक खोलिएको थियो । त्यसलाई स्तरोन्नति कसैले गरेको छैन । अझ डाडाँपारिलाई नै लक्षित गरेर खोपासी–कामीडाँडा–तालढुंगा सडक निर्माण सुरु भएको २ दशक बितिसक्यो र झण्डै ५६ करोड रुपैयाँ पैसा पनि सकिइसक्यो अझै यो बाटो तालढुंडा पुग्न सकेको छैन ।
पनौती–च्याम्राङबेसी–मिल्चे–बोराङ सडक शीर्षकमा १० वर्ष अघिदेखि बजेट विनियोजन भएको भए पनि यस सडकले गत ५ वर्षदेखि च्याम्राङबेसीको ७ किमि क्षेत्र पनि पार गर्न सकेको छैन । सिपाली हुँदै डाँडापारि पुग्ने सडक तुलनात्मक रूपमा अघि बढेको देखिन्छ जुन सडक बुढाखानीको महादेवटारसम्म पुगिसकेको छ । उक्त सडक सञ्चालनपछि डाँडापारिका बासिन्दा ४ घण्टाकै मोटरयात्राबाट सदरमुकामसम्म आइपुग्ने छन् ।
विभिन्न दलको सहयोग र समर्थनमा सडक निर्माणमा प्रतिस्पर्धा हुन थालेको छ । डाँडापारिको मिल्चेमा मात्र ललितपुरबाट सञ्चालन हुने गरी ३ वटा सडक निर्माण भएका छन् । जुन सडक विभिन्न दलसँग जोडिएर निर्माण भइरहेका हुन् । ललितपुरको गिम्दी हुँदै मिल्चे बोराङसँगै तालढुंगा पुग्ने सडक खण्ड, ठूलादुर्लुङबाट मिल्चे जोडने सडक तथा ललितपुरकै चन्दनपुरबाट हात्तीछेडा हुँदै मिल्चे पुग्ने सडक, यी सडक निर्माणमा स्थानीयले ऋण स्वरुप आफंै रकमको व्यवस्था गरी सडक निर्माण गरिरहेका छन् ।
सडक सञ्जालबाट सबै गाउँ जोडिएका छिमेकी जिल्लाका सडकलाई उपयोग गर्दै डाँडापारिका गाउँमा मोटरबाटो निर्माण गर्ने प्रतिस्पर्धा नै बढेपछि सदरमुकाम जोडने सडक भने छाँयामा परेको तालढुंगाका अर्का स्थानीय विद्यासागर लामाले बताए ।
–कपिल कोइराला