प्रभावकारी भएन इलाम अस्पतालको हेल्पडेस्क

सेवाग्राहीको सहजताका लागि भन्दै इलाम अस्पतालमा स्वास्थ्य हेल्पडेस्क स्थापना भयो । तर त्यसले प्रभावकारी रूपमा काम गर्न नसक्दा ‘कागलाई बेल पाक्यो हर्क न विस्मत’ झैं भएको छ । इलाम नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि काम देखाउन नै भए पनि नयाँ काम स्वरुप इलाम अस्पतालमा सो हेल्पडेस्क स्थापना गरेको हो ।
सो हेल्पडेस्क स्थापनापछि धेरैले सहज सुविधा पाउने आशासमेत गरेका थिए । तर सोचेजस्तो सहज नभएको सेवाग्राहीको भनाइ छ । सामान्य बिरामी पर्दासमेत यहाँ उपचार नभएर बाहिर जानुपर्ने बाध्यता हटेको छैन । अस्पतालको भवन पर्याप्त छ । ५० शैयाको यस अस्पतालबाट ज्वरो आउँदासमेत उपचार नपाएको गुनासो सेवाग्राहीको छ ।
हेल्पडेस्कसँगै यी र यस्ता कुरामा सुधार आउने अपेक्षा लिएका इलामेली नागरिकलाई सहजता थपिएको छैन । हेल्पडेस्क छ भन्ने नै धेरैलाई थाहा नै छैन । सोझै अस्पतालमा गएर सेवा लिने सेवाग्राही अस्पतालमा नै जान्छन् । पुरानै शैलीमा सेवा लिन्छन् । न हेल्प डेस्क स्थापना गर्ने इलाम नगरपालिकाले हेल्पडेस्कको सेवा सिकायो न सेवाग्राहीले बुझ्न नै चाहे ।
हुन त बिरामी परेर आएकालाई केको हेल्पडेस्क उपचार गराउनु नै पहिलो प्राथमिकता हुन्छ । इलाम अस्पतालबाट स्वास्थ्य बिमाको रेफर लिएर जाने सेवाग्राहीले समेत उल्टै समस्या झेल्नु परिरहेको छ । इलाम अस्पतालको प्रशासन शाखाबाट छाप लगाएर थप सेवा लिन जाने सेवाग्राही पनि कहिले जिल्ला प्रशासन कार्यालय पुग्छन् त कतिले छाप नै नलगाई झापाका अस्पतालमा पुग्छन् ।
छाप नलगाई झापाका अस्पतालमा पुगेका सेवाग्राहीले पुन: इलाम आएर रेफरकार्डमा छाप लगाएर जानुपर्ने बाध्यता हुन्छ । सो समयमा कति बिरामीलाई अझ समस्या बढ्ने गरेको बिरामीका आफन्तको भनाइ छ । यस्ता सेवा प्रवाहमा समेत इलाम अस्पतालको स्वास्थ्य हेल्पडेस्कले सहयोग नगरेको उनीहरूको गुनासो छ ।
यस्तो समस्याले दोहोरो भाडा तिर्न बाध्य हुनुपरेको सन्जोक पी गुरुङको भनाइ छ । उनले अस्पतालले दिने रेफर कार्डमा छाप नलगाइदिएका कारण दोहोरो मार परेको गुनासो गरे । छाप नलगाएको रेफर कार्डबाट झापाका अस्पतालले उपचार गर्न नमान्दा सेवाग्राहीले गोजीबाट नै खर्च गरेर उपचार गराउनु पर्ने बाध्यतासमेत छ ।
इलाम नगरपालिकाले स्थापना गरेको स्वास्थ्य हेल्पडेस्कमा एकजना अधिकृतस्तर सहित दुई जना कर्मचारी राखिएको छ । केहीले पुराना केही कर्मचारीलाई व्यवस्थापन गर्न मात्रै सो स्वास्थ्य हेल्पडेस्क स्थापना गरिएको बताउने गरेका छन् । स्वास्थ्य हेल्पडेस्कका लागि नर्या निर्माण भएको भौतिक संरचना र कर्मचारीलाई दिइने तलबअनुसारको काम पनि नदेखिएको सेवाग्राहीको भनाइ छ ।
यता इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले यस विषयमा इलाम नगरपालिकाको ध्यानाकर्षण भएको बताए । उनले यसलाई थप ब्यवस्थित बनाउँदै स्तरोन्नति गर्नतर्फ आफूहरू लाग्ने बताए । आएका गुनासालाई सम्बोधन गरेर अघि बढ्ने बताउँदै उनले यसको छुट्टै कार्यविधि रहेको र त्यसलाई समेत कार्यान्वयन गर्ने बताए ।