कर्णाली चिनाउने उत्सव
स्रोतसाधनका हिसाबले कर्णाली मुलुककै आत्मनिर्भर प्रदेश हो । यहाँका बहुमूल्य जडिबुटि, कृषि, जलविद्युतको सम्भावना र पर्यटनको फराकिलो दीर्घकालीन भविष्य कर्णाली बाहेक अन्य प्रदेशको कमै देखिन्छ । कर्णालीको भाषा, सांस्कृति, सिप कला, परम्पराको पनि आफ्नै विशेष महत्व छ, जसको सम्वर्द्धन हुन सके आर्थिक समृद्धिसँगै कर्णालीलाई समृद्ध बनाउन सकिन्छ ।
तर, लगानी अभावकै कारण यहाँका सम्भावनाहरू अवसरमा रुपान्तरण हुन सकेका छैनन् । युवाहरूमा आफ्नै ठाउँमा भविष्य नदेख्ने प्रवृत्ति अझै विद्यमान छ । विकासको अनुभूति दिने यहाँका गौरवका आयोजना दशकौंदेखि अलपत्र छन् । अनि कसरी हुन्छ समृद्ध कर्णाली ? कर्णाली सरकारले समृद्ध कर्णाली, सुखारी कर्णालीबासीको नारा तय गरेको थियो ।
त्यही आधारमा रोजगारी सृजना, उद्योग कलकारखामा लगानी, कृषि पर्यटन, जडिबुटि क्षेत्रलाई लगानी गर्नुपर्ने हो । तर नारा अनुसारको काम प्रदेश सरकार गर्न सकेन । फलस्वरुप विकास र चेतनामा कर्णाली अहिले बामे सर्दै छ । सरकारी अनुदानको नुन, चामल पाउनलाई कर्णालीले आज पनि महिना कुर्नुपर्ने वा पार्टीको कार्यकर्ता बन्नुपर्ने कर्णालीको तितो यथार्थ हो । यसको अवशेष अझै बाँकी छ ।
सुनको सिरानीमा नुनको खोजी गर्ने, आर्थिक समृद्धिका सम्भावना हुँदा पनि गरिब प्रदेशको बिल्ला भिर्नुपर्ने, युवा पलायन थामी नसक्नु हुने, यहाँका कृषि वस्तु जडिबुटिले कौडीको भाउको मुख्य कारण विचार विमर्श तथा आवश्यकतामुखी नीति र लगानी अभाव हो । विगत तीन वर्षयता कर्णालीको समृद्धि र कर्णाली चिनाउने मूल उद्देश्यले आर्थिक, सामाजिक र राजनीतिक विषयमा विगतको समिक्षा, वर्तमानको चित्रण र भविष्यको खाका कोर्न ‘कर्णाली उत्सव’ नाम बौद्धिक बहस सञ्चालन हुँदै आएको छ ।
जसको चौथो संस्करण यहि फागुन ५ देखि ७ गतेसम्म प्रदेश राजधानी सुर्खेतको बुलबुले उद्यानमा हुन गइरहेको कर्णाली उत्सवका संयोजक कमल लम्सालले बताए । उनले भने, “कर्णाली चिन्ने र चिनाउने, कर्णालीका सम्भावनालाई देखाउने, मुलुकको आर्थिक विकासमा कर्णालीको सामथ्र्यको पहिचान गर्न विषय विज्ञसहित विचार मन्थन गर्ने बौद्धिक बहस हो । तीन दिन चल्ने उत्सवमा डेढ दर्जन बढी सेसन हुने छन् । जसमा कला, संस्कृति, राजनीतिदेखि नीति निर्माण क्षेत्रका विज्ञबीच विचार विमर्श हुने छ ।”
उत्सवमा कर्णालीका सम्भावनामाथि गहन बहस हुनेछ । कर्णालीको भाषा, संस्कृति, सभ्यता र पुरातत्वको उत्खननका लागि बहस सिर्जना गर्न उत्सव महत्वपूर्ण हुनेछ भने राजनीतिदेखि कला संस्कृति तथा सिपको पुस्तान्तरणका सन्दर्भमा समेत निर्मम छलफल हुने भएको छ । उत्सवका संयोजक लम्सालका अनुसार विभिन्न १६ वटा सत्र रहेका छन् । जसमा ‘कर्णाली चिन्तन’,‘कर्नाली खेल्दो छ’,‘यो शहर, त्यो रहर’,‘भोट र भेट’, ‘शिक्षा र समर्पण’, ‘दलित र दलिल’, ‘भोक र भोजन’, ‘रेडियोको रस’, ‘संघियताको पाँच वर्षः कति विस्मात,कति वर्ष ?’,‘कर्णाली नदी प्रणाली’ रहेका छन् ।
त्यस्तै,‘कर्णालीमा लगानी’,‘रुपान्तरण र पुस्तान्तरण’,‘सग्लो समाजः संङ्लो राजनीति’, ‘समावेशी शासन,’ ‘डिजिटल डेमोक्रेसी’,‘कर्णालीदेखि काठमाडौंसम्म’ सत्र रहेको कर्णाली उत्सवका संयोजक लम्सालले जानकारी दिए । उनका अनुसार सबै सत्रका विषय विज्ञहरुसँग गहन छलफल गरिँदै छ । छलफलमा कर्णालीका सम्भावना तथा गौरव गर्नलायक पहिचानका विषयवस्तु समेटिने छ । उत्सवमा देशविदेशमा रहेका कर्णालीप्रेमी चर्चित साहित्यकार, कलाकार, लेखक, पत्रकार, बुद्धिजीवि एवं विशिष्ट व्यक्तित्व वक्ताका रूपमा छन् ।
वक्ता र दर्शक सहभागीहरूबीच हुने उक्त अन्तरकृयाले कर्णालीको मौलिक इतिहासलाई कोट्याउने, कर्णालीको यथार्थ चित्र प्रस्तुत गर्ने तथा अबको बाटो देखाउन सहयोग गर्ने आयोजकको विश्वास छ । उत्सवमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई पैकलोको रुपमा प्रस्तुत गरिने छ । उत्सवको पहिलो दिनमा पाँचवटा सेसन हुने छन् । खस सभ्यताको विरासत, खस भाषाको विकास र संरक्षण, सामाजिक परिवेशमा चर्चा हुने छ ।
उत्सवको तीनै दिन जुम्ला तातोपानी गाउँपालिकाको पञ्चेबाजा प्रस्तुति हुने छ । पहिलो दिन साँझ ५ बजे ‘बाजाको बखान’ शिर्षकको सत्र रहनेछ । कर्णालीमा उद्यमशिलता, बेरोजगारी, वैदेशिक रोजगारी युवा तथा श्रम आप्रवासनको अवस्थामाथि विमर्श गरिने आयोजकका सदस्य दिनेश गौतमले बताए । उत्सव कर्णालीमा लगानी गर्न केन्द्र सरकारको ध्यान केन्द्रित गर्नेदेखि कर्णालीको सम्भावना उजागर गर्न कोशेढुंगा सावित हुने विश्वास छ ।
कर्णालीको राजधानी सुर्खेतलाई व्यवस्थित सहरीकरण गर्नेदेखि दुर्गम जिल्लाको समानुपातिक आर्थिक सामाजिक राजनीति विकासमा युवाको पहुँच वृद्धि गर्न, आफ्नै जन्मभूमिमा भविष्य देख्न, युवा पलायन रोक्न, आवश्यकतामुखी नीति बनाउन, उत्पादनमुखी क्षेत्रमा लगानी बढाउन तीनै तहका सरकारलाई उत्सवले प्रेरित गर्ने विश्वास गरिएको छ ।