बलियो युआन निर्यातको बाधक

डलरसँगको विनिमयमा युआन बलियो भएपछि यसले निर्यातकर्ताको चिन्ता बढाएको छ । यद्यपि बाह्य माग बलियो भएकाले विनिमय दरको परिवर्तनबाट परेको प्रभाव न्यून हुने भएको छ ।
शुक्रबार अमेरिकी डलरसँग युआनको केन्द्रीय दर १६० आधार बिन्दुले बलियो भएको चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाले जनाएको छ ।
जनवरीमा पनि डलरसँगको विनिमयमा युआन ३.४ प्रतिशतले बलियो भएको थियो । यो २४ वर्षकै अवधिमा सर्वाधिक एकमहिने वृद्धि हो ।
गत वर्ष अमेरिकी डलरसँगको विनिमयमा युआन सालाखाला ६ प्रतिशतले अधिमूल्यन भएको थियो । २०१५ को मध्यदेखि भने डलरसँगको विनिमयमा युआन अवमूल्यन भएको थियो ।
युआनको मूल्यांकनमा भएको वृद्धिले विदेशमा निर्यात हुने सामग्रीलाई महँगो बनाएर नकारात्मक प्रभाव पार्छ । तर, यसले आयातलाई फाइदा पुराउने उद्योग विज्ञहरूले बताएका छन् ।
सांघाई योङगाङ कमोडिटिज कम्पनीका महाप्रबन्धक झाङ झिविनले स्टिलका निर्यातक र फलामका आयातक जनवरीमा युआनको मूल्यांकनमा भएको वृद्धिबाट अझैसम्म प्रभावित भइनसकेको बताएका छन् ।
झाङले आफ्नो कम्पनीको स्टिल निर्यात गत वर्ष वार्षिक मापनका आधारमा ४५ प्रतिशतभन्दा बढीले ओरालो लागेको बताएका छन् । यसमा आंशिक युआनको अधिमूल्यनको पनि प्रभाव रहेको उनले बताए । यसले विदेशीलाई स्टिलको मूल्य महँगो परेकाले उनीहरूले विकल्प रोज्नका लागि बाध्य बनाएको उनले बताए ।
तर, आफ्नो कम्पनी विनिमय दरका कारण नराम्ररी प्रभावित नभएको उनले बताए । आफ्नो कम्पनीको सन्तुलित आयात र निर्यात संरचना भएकाले धेरै प्रभावित हुनबाट जोगिएको उनले बताए ।