Logo

किसानको आम्दानी श्रोत बन्दै अम्रिसो

छथर गाउँपालिका २ तेह्रथुमकी लिलामाया लिम्बुले १ सय २० किलो अम्रिसोको फूल बेचिन् । उनले उत्पादन गरेको अम्रिसो घरैबाट १ सय रुपैयाँ प्रतिकिलो बिक्री गरेर १२ हजार रुपैयाँ आम्दानी गरिन् । लिलामाया जस्तै दिलकुमारी लिम्बुले यस वर्ष मात्रै १ सय ५० किलो अम्रिसो बिक्रीबाट १५ हजार आम्दानी लिएकी छिन् ।

“कुनै वर्ष अम्रिसो बिक्री नहुँदा गाईभैंसीको घाँस मात्रै हुन्थ्यो तर, यो साल राम्रो मूल्य पाएका छौं ।” दिलकुमारीले भनिन् । गत वर्ष ८० रुपैयाँमा बिक्री भएको अम्रिसोले यस वर्ष राम्रो मूल्य पाएको हो । बाँझो तथा खेतीयोग्य जमिनमा किसानले अम्रिसो खेतीलाई विस्तार गर्दै आएका छन् । गाउँगाउँमा सडक सञ्जाल जोडिएपछि किसानद्वारा उत्पादित वस्तु बजारसम्म पु¥याउन सहज भएको छ ।

गाउँमा सवारी साधान नपुग्दा यहाँका किसाले उत्पादन गरेको अम्रिसो घण्टौ लामो बाटो बोकेर बिक्री गर्न लैजानुपर्ने बाध्यता थियो । गाउँ र बजार केन्द्र जोडिने सडकहरु निर्माणसँगै सवारी साधान सञ्चालनमा आएपछि किसानलाई सहज भएको हो । यस वर्ष अम्रिसोले राम्रो मूल्य पाएसँगै व्यापारीहरु घर घरमा पुगेर खरिद गर्दै आएका छन् ।

यहाँका किसानले खेतीयोग्य जमिनको छेउभित्तामा समेत अम्रिसो लगाएर आम्दानी लिँदै आएका छन् । ५ देखि ५० रोपनी क्षेत्रफलमा किसानले अम्रिसो खेती गर्दै आएका छन् । पुसको पहिलो सातादेखि माघको तेश्रो सातासम्म अम्रिसोको फूल निकाल्ने गरिन्छ । अहिले बजारमा राम्रो अम्रिसोको फूल १ सय १० रुपैयाँसम्म बिक्री हुँदै आएको छ ।

तेह्रथुममा उत्पादन भएको अम्रिसोको फूल पूर्वी तराई तथा छिमेकी देश भारतमा निर्यात हुँदै आएको छ । नेपालको मध्य तथा पहाडी भेगमा खेती गरिने अम्रिसो ३ मिटरसम्म अग्लो हुन्छ । एक पटक लगाएपछि १५ वर्षसम्म फल लिन पाइने यसको स्याउला गाईवस्तुको आहाराका रूपमा प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्