विदेश पलायन हुदै भारतीय ‘सुपर रिच’ «

विदेश पलायन हुदै भारतीय ‘सुपर रिच’

चीनबाट जस्तै भारतबाट पनि उपल्लो दर्जाका भारतीय धनाढ्य विदेश पलायन हुन थालेका छन् । न्यू वल्र्ड वेल्थका अनुसार २०१७ मा ७ हजारअति धनाढ्य विदेश पलायन भएका छन् ।
माथिल्लो दर्जाका धनी विदेश पलायन हुने मामिलामा भारत चीनपछि दोस्रो स्थानमा देखिएको छ । २०१७ मा धेरै सम्पत्ति भएका ७ हजार भारतीयले आफ्नो थातथलो परिवर्तन गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा १६ प्रतिशत बढी भएको प्रतिवेदनले जनाएको छ ।
न्यू वल्र्ड वेल्थले सार्वजनिक गरेको प्रतिवेदनअनुसार २०१६ मा यसरी पलायन हुने भारतीयको संख्या ६ हजार थियो भने २०१५ मा ४ हजार ‘मिलिनियर’ पलायन भएका थिए ।
विश्वव्यापी रूपमा हेर्दा गत वर्ष १० हजार सुपर रिच चिनियाँले आफ्नो मुलुक परिवर्तन गरेका थिए । अन्य मुलुकबाट यसरी पलायन हुनेमा टर्कीबाट ६ हजार, संयुक्त अधिराज्यबाट ४ हजार, फ्रान्सबाट ४ हजार र रूसबाट ३ हजार पलायन भएका छन् ।
भारतबाट विदेश पलायन हुने मुलुकको रोजाइमा अमेरिका, संयुक्त अरब इमिरेट्स, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड रहेका छन् । आफ्नो थातथलो परिवर्तन गर्ने चिनियाँहरूको रोजाइमा भने अमेरिका, क्यानडा र अस्ट्रेलिया परेका छन् ।
यद्यपि उच्च सम्पत्ति भएका भारतीय र चिनियाँले यसरी देश परिवर्तन गर्नुलाई ठूलो चिन्ताको विषय भने मानिएको छैन । यी मुलुकहरूले पलायन हुनेको संख्याको तुलनामा बढी उच्च सम्पत्ति भएका मानिसहरू उत्पादन गरिरहेको प्रतिवेदनले जनाएको छ ।
“यी मुलुकको जीवनस्तरमा पनि सुधार भइरहेको छ । कतिपय धनी मानिस पुनः स्वदेश फिर्ता हुने अपेक्षा हामीले गरेका छौं,” प्रतिवेदनले जनाएको छ ।
उच्च सम्पत्ति भएका मानिस सर्वाधिक आउने मुलुकमा अस्ट्रेलिया रहेको छ । यो मुलुकमा गत वर्ष १० हजार अति धनी मानिस आएका थिए । यो मामिलामा विगत तीन वर्षसम्म पहिलो स्थानमा परेको अमेरिकालाई अस्ट्रेलियाले उछिनेको हो ।
विगत १० वर्षको अवधिमा अस्ट्रेलियामा ८३ प्रतिशतले सम्पत्तिमा वृद्धि भएको थियो । यसको तुलनामा अमेरिकामा २० प्रतिशतले मात्र वृद्धि भएको छ । परिणामस्वरूप औसत अस्ट्रेलियाली नागरिक औसत अमेरिकीको तुलनामा धनी भएका छन् । १० वर्षअगाडिको समयमा अवस्था यस्तो थिएन ।
विदेशबाट अति धनी मानिस आउने मामिलामा अमेरिका दोस्रो स्थानमा रहेको छ । गत वर्ष अमेरिकामा ९ हजार अति धनी मानिस विदेशबाट स्थानान्तरण भएका थिए । तेस्रोमा ५ हजारसहित क्यानडा र चौथोमा ५ हजारसहित संयुक्त अरब इमिरेट्स रहेको छ । सर्वाधिक धनी मुलुकको सूचीमा ८२ खर्ब ३० अर्ब डलरको सम्पत्तिसहित भारत छैटौ धनी मुलुक भएको प्रतिवेदनले जनाएको छ ।
भारतमा १० लाख वा सोभन्दा बढी डलरको सम्पत्ति भएका मानिसको संख्या ३ लाख ३० हजार ४ सय छ । विश्वव्यापी रूपमा भारत यो मामिलामा नवौं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्