मूल्य अभिवृद्धि करसम्बन्धी नयाँ नीति तत्काल फिर्ता लिन माग «

मूल्य अभिवृद्धि करसम्बन्धी नयाँ नीति तत्काल फिर्ता लिन माग

जनकपुर- नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश दुईले सरकारले आन्तरिक राजस्वमा मूल्य अभिवृद्धि करसम्बन्धी बनाएको नयाँ नीति फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ । सरकारले ल्याएको नयाँ नीतिले नेपालको व्यवसाय र पर्यटन क्षेत्रलाई नै बरबाद पार्ने खालको रहेकाले फिर्ता लिन माग गरेका हुन् ।
महासंघले आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै आन्तरिक राजस्वमा मूल्य अभिवृद्धि करको नियम ४१ (ग)मा गरिएको संशोधन होटल व्यवसायीहरू माथिको प्रहार रहेको अरोप लगाउँदै तत्काल सो दफा फिर्ता लिन सरकारसँग माग गरेको हो ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश दुईका महासचिव मोहनप्रसाद शर्माले होटल व्यवसायीहरूले प्रयोग गर्ने डिजेल र खाना पकाउने एलपी ग्यासमा आन्तरिक राजस्व विभागले कर कट्टा हुने व्यवस्थालाई उल्ट्याएर व्यवसायीको ढाडै सेक्ने गरी ल्याउन लागेको कानुनले दोहरो मारमा पर्ने निश्चित रहेको बताए । यसअघि पहिलेको व्यवस्था अनुसार दफा सवारी साधनको लागी प्रयोग हुने डिजेल र एलपी (खाना पकाउने ग्यास) खरिदमा तिरेको भ्याट ट्याक्स कट्टा गरि होटल व्यवसायीलाई मारमा पार्ने कार्यको महासंघले विरोध गरेको हो ।
मूल्य अभिवृद्धि करको सिद्धान्त नै खरिद गरिएको विजकमा लाग्ने करलाई बिक्री गरेको बिजकको प्राप्त रकमबाट तिरेको कर रकम कट्टा गरी बाँकी रहेको रकम मात्र नियम बमोजिम तोकेको खातामा जम्मा गर्ने हरेक व्यवसायी प्रतिष्ठानको दायित्व रहेको प्रावधान रहे पनि सरकारले गर्न लागेको संशोधन प्रक्रिया कुनै पनि व्यवसायीको हितमा नरहेको सम्मेलनमा बोल्दै महासंघका प्रदेश २ अध्यक्ष हिरालाला गौतमले बताए ।
गौतमले सरकारले यो नीति परिवर्तन वा संशोधन नगरे भ्रमण वर्ष २०२० समेत नराम्ररी प्रभावित हुनेछ, ट्याक्स वृद्धि भएसँगै हामीले सबैथोकमा मूल्य वृद्धि गर्न बाध्य हुन्छौं र त्यसको प्रत्यक्ष प्रभाव विदेशी पर्यटक स्थानीय साना व्यवसायीहरूमा समेत पर्ने बताए ।
सरकारले कर सम्बन्धित बनाउन लागेको कानुन फिर्ता नलिए स्थिति भयावह हुने र हामी सडकदेखि अदालतसम्म जाने चेतावनी अध्यक्ष गौतमले दिए ।

प्रतिक्रिया दिनुहोस्